सरकार बनेको ९ महिना पुग्न लाग्दा पनि सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीदेखि अन्य नेताहरू निरन्तर सरकारको विरोधमा उत्रिँदा सभापति देउवा भने मौन हुनुहुन्छ । महामन्त्री गगनकुमार थापा सरकारप्रति आक्रोशित बने पनि उनको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहकार्यमा सरकार बनेको ९ महिना पुग्न लागेको छ । संसद्का दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरे पनि सरकारको कामप्रति नेपाली कांग्रेस खुसी छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका मन्त्रीहरूको कार्यसम्पादनप्रति महामन्त्री थापाले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन् ।
मंगलबार काठमाडौं आयोजित एक कार्यक्रममा पनि उनले सरकारको आलोचना गर्न छोडेनन् । उनले सरकारले नागरिकका अपेक्षाहरू पूरा गर्न गति लिन नसकेको आरोप लगाए । दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको भन्दै आपत्ति जनाए ।
महामन्त्री थापा यतिमा मात्रै रोकिएनन् । उनले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको समेत आरोप लगाए । निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको जिकिर गरे । उनले बिचौलियाका कारण अहिलेको अर्थतन्त्रमा समस्या आएको आरोप समेत लगाए ।
महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका थिए । सरकारले राम्रो काम गरोस् भनेर आफूहरूले सहयोग गरिरहेको बताउँदै उनले ‘बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ’ भन्दै आलोचना समेत गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति कांग्रेस महामन्त्री थापालाई पटक्कै रुचेको छैन । राजधानीमा शिक्षकहरूले विभिन्न माग राख्दै जारी राखेको आन्दोलनलाई रोक्न र उनीहरूका माग सम्बोधन गर्न सरकारले प्रतिक्रिया नदेखाउँदा उनी झनै असन्तुष्ट बनेका छन् ।
थापा नेपाली राजनीतिमा आशा गरिएका व्यक्ति हुन् । उनमा काम गर्ने हुटहुटी छ । तर पार्टीमा सभापति शेरबहादुर देउवा हाबी हुँदा थापाले गर्न चाहेर पनि काम गर्ने अवसर मिलेको छैन ।
आफ्नो काम गर्ने हुटहुटी र सरकारको सुस्त कार्यसम्पादनले वाक्क भएका थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताउँदै आएका छन् ।
केही महिनाअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताहरूबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका थिए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने भन्दै आफू भित्रको हुटहुटीलाई प्रस्ट पारेका थिए । अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण पार्टीको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै अबको दशक खेर फाल्न नहुने उनले जिकिर छ ।
सरकारमै रहेर पनि कामप्रति असन्तुष्टि जनाउँदै आएका थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने समेत बताउँदै आएका छन् । आम नागरिकहरूले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अख्तियार वा सर्व शक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको धारणा छ । २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने थापाले तर्क राख्दै आएका छन् ।
त्यसो त, थापालाई सरकारले राम्रो काम गरोस् भन्ने चाहना छ । उनले कतिपय सरकारका कामको चौतर्फी विरोध हुँदा समेत खुलेर सरकारको प्रतिरक्षामा लागेका छन् ।
पार्टी सभापति देउवा नै सरकारको कामबाट खुसी देखिँदा थापाको असन्तुष्टि र आक्रोश केबल भाषणमा मात्रै सीमित बन्ने गरेको छ । सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको भन्दै सरकारलाई दरिलो साथ दिएका छन् । महामन्त्री थापालगायतका पार्टीकै नेताहरूको असन्तुष्टिका बिच सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको भन्दै सरकारलाई ढाडस दिँदै आएका छन् ।
सरकारका कामहरू पनि सभापति देउवा सन्तुष्ट रहँदा महामन्त्री थापा र अन्य नेताहरूको आलोचनाले प्रधानमन्त्री ओली र उनको नेतृत्वका सरकारका मन्त्रीहरूलाई केही फरक पारेको छैन । मुलुकमा बढ्दो बेरोजगारी र युवाहरू विदेश पलायन हुनबाट रोक्न, कोरोनापछि अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न र विकासको गतिलाई तीव्रता दिन सरकारले जाँगर नचलाएपछि महामन्त्री थापा आक्रोश बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया