काठमाडौं । स्थानीय वायु प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बिहानैदेखि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसोपछि देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने देशभरका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज रातिसमेत कोसी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहेको महाशाखाको भनाइ छ।
मौसममा देखिएको यो अवस्थाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया