काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को एक रोमाञ्चक खेलमा पञ्जाब किंग्सले कमजोर ब्याटिङपछि समेत उत्कृष्ट बलिङ गर्दै कोलकाता नाइट राइडर्समाथि १६ रनको चमत्कारिक जित निकालेको छ । कोलकातालाई मात्रै ९५ रनमा अलआउट गर्दै पञ्जाबले जित निकालेको हो ।
मंगलबार साँझ सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाब १५.३ ओभरमै १११ रनमा अलआउट भएको थियो । आईपीएल इतिहासमै २० ओभरको खेलमा पहिलो ब्याटिङ गर्दै गरिएको यो सर्वाधिक न्यून योगफलमध्ये एक हो ।
तर, पञ्जाबका बलरहरूले कोलकाताको बलियो ब्याटिङ लाइनअपलाई धराशायी पार्दै १५.१ ओभरमै ९५ रनमा अलआउट गरे । केवल ११२ रनको सामान्य लक्ष्य समेत पुरा गर्न नसक्दा कोलकाताले अप्रत्याशित हार ब्यहोर्नुपर्यो ।
कोलकाताको ब्याटिङ धराशायी
कोलकाताका लागि अंगकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए भने कप्तान अजिन्क्या रहाने र आन्द्रे रसलले समान १७–१७ रनको योगदान दिए ।
सुरुआतदेखि नै दबाबमा आएको कोलकाता पहिलो ओभरको अन्तिम बल र दोस्रो ओभरको दोस्रो बलमै २ विकेट गुमाउँदै ७ रनमै थलिए पनि त्यसपछि खेलमा फर्किएको थियो । पावरप्लेको ६ ओभरमा २ विकेट गुमाउँदै ५५ रन बनाएको कोलकातालाई बाँकी १४ ओभरमा केवल ५७ रन आवश्यक थियो । तर पञ्जाबको बलिङले कोलकाताको पारीलाई ९५ रनमै समेटिदियो ।
पञ्जाबको जितमा बलरहरूको चमक
पञ्जाबका तर्फबाट युजभेन्द्र चहलले घातक बलिङ गर्दै ४ ओभरमा मात्रै २८ रन खर्चिएर ४ विकेट झारे । मार्को यान्सेनले ३.१ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने ग्लेन म्याक्सवेल, अर्शदीप सिंह र जेभियर बार्टलेटले १-१ विकेट हात पारे ।
पहिलो ब्याटिङमा पनि संघर्षपूर्ण प्रदर्शन
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमा अलआउट हुँदा १११ रन बनाएको थियो । पञ्जाबको तर्फबाट प्रभासिमरन सिंहले सर्वाधिक ३० रन बनाउँदा प्रियान्श आर्याले २२ रन बनाएका थिए भने शशांक सिंहले १८ रन बनाए ।
कोलकाताका हर्शित रानाले ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नरायनले २–२ तथा वैभव अरोरा र एनरिच नोत्र्जेले १–१ विकेट लिइ पञ्जाबलाई न्युन स्कोरमै रोकेको थियो ।
अंकतालिकामा पञ्जाबको फड्को
यस जितसँगै पञ्जाब ६ खेलमा ८ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, लगातार हारको असर झेलिरहेको कोलकाताले ७ खेलबाट मात्र ६ अंक जोड्दै छैटौँ स्थानमा सीमित रहनुपरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया