चौतर्फी दबाबपछि शिक्षकहरुको मागबारे संसद्मै छलफल गर्दै सरकार

लोकपथ
4.5k
Shares

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले माईतीघरमा दुई सातादेखि आन्दोलनरत शिक्षकहरुको मागबारे केही लचकता देखाएको छ ।

शिक्षा ऐन जारीको माग राख्दै शिक्षकहरु निरन्तर आन्दोलनमा रहेका छन् ।

शिक्षक महासंघ र सरकारी पक्षबीच निरन्तर वार्ता भइरहे पनि असफल भएपछि शिक्षकहरु थप आन्दोलित बनेका थिए । तर यसैबीच सत्तारुढ दलभित्रै समेत शिक्षकहरुको मागमा सरकार गम्भीर नभएको भन्दै आलोचना हुन थालेपछि संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार देखिएको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारिन गर्ने समेत प्रयोजनका लागि संसद् बैठक नै आह्वान गरेको छ ।

सरकारले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

‘संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने,’ बैठकको निर्णयबारे प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

त्यस्तै शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्न सरकार तयार रहेको समेत निष्कर्ष निस्किएको प्रधानमन्त्रीको सचिवालयको दाबी रहेको छ ।

त्यसो त आगामी वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा समेत आफूहरु सहभागि नहुने शिक्षकहरुले चेतावनी दिँदै आइरहेका छन् । त्यसले परीक्षामा गम्भीर असर पर्ने भन्दै सरकार लचक बनेको हो । साथै मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुलाई आ–आफ्नो कार्यकक्षमा फर्किन समेत अनुरोध गरेको छ ।

‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने,’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?