काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा बोलीको पक्का नेता रहेको भन्दै प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपानेको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै बाबुरामले सो कुरा बताएका हुन् ।
बाबुराम र चन्द्रप्रसाद नाताले मामा भान्जा हुन् । तर ०६४ सालमा आफू माओवादी केन्द्रबाट उम्मेदवार बन्दा कांग्रेसबाट उनै न्यौपाने कांग्रेसबाट उम्मेदवार बनेको र आफू निर्वाचित भएको बताए ।
तर ०७४ सालको निर्वाचनमा गोरखामा कांग्रेस र बाबुराम नेतृत्वको नयाँ शक्तिबीच तालमेल भएको थियो । सो क्रममा न्यौपानेले भने चरम असन्तुष्टि जनाएका थिए । तर सभापति देउवाले मिलेर जानुपर्छ भनेपछि न्यौपाने केही हच्किए पनि तालमेल हुँदा पनि बाबुरामलाई भोट भने हालेनन् । उनले पत्रकार सम्मेलन गरेरै पार्टीले नीति विपरित तालमेल गरेको भन्दै कार्यकर्ताहरुलाई विवेकको प्रयोग गर्न आग्रह गरेका थिए ।
०७४ सालको निर्वाचनमा आफूले नयाँ शक्ति खोलेर अभियानका लागेको बेला देउवाले निर्वाचनमा मिलेर जानुपर्छ भनेको स्मरण गर्दै भट्टराईले देउवाको प्रशंसा गरेका हुन् ।
‘जब ०७४ सालको निर्वाचनमा म कम्युनिष्ट पार्टी छाडेर नयाँ शक्तिको अभियानमा थिएँ, अहिले शेरबहादुर जी पनि यहाँ हुनुहुन्छ, उहाँकै अडान हो मिलेर जानुपर्छ भन्ने । बोलेसी पक्का अडान लिने मान्छे उहाँ हो । उहाँको बोलेसी पूरा गर्ने अडानको म जहिले पनि प्रशंसा गर्छु । त्यसपछि म नै साझा उम्मेदवार बनेर मामा कहाँ भोट माग्न गएँ (चन्द्रप्रकाश न्यौपाने) मामाले भान्जालाई दक्षिणाचाँही म दिन सक्छु तर भोट चाँही कांग्रेस बाहेक अरुलाई दिन सक्दिन भन्नु भयो उहाँले,’ डा. भट्टराईले भने ।
त्यस्तै सो अवसरमा बाबुरामले न्यौपानेकै प्रेरणाले आफू सुरुमा कांग्रेससँग र पछि कम्युनिष्टसँग नजिक भएको स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया