काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।
सत्ताधारी दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्नु भन्दा केही घण्टा अघि कांग्रेस महामन्त्री शर्माले सात बुँदा सरकारको कार्यशैलीको चर्को आलोचना गरेका हुन् । आज बुधबार साँझ सत्ताधारी दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।
सरकारको गतिमा असन्तोष जनाउँदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन ।’
उनले कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक,सामाजिक सञ्जाल विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका छन् ।
उनले सरकारलाई सुझाव समेत दिँदै लेखेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाऊँ, गति बढाऊँ ।’
कांग्रेस महामन्त्री थापाले मंगलबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा समेत सरकारको काम गर्ने शैलीको कटु आलोचना गरेका थिए । उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरिएको तर सरकारको प्राथमिकता अन्ततिर गएको बताएका थिए ।
‘हामीले के ठानेका थियौँ भने दुई ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउन तत्काल प्रारम्भ गर्छौँ । खासगरी सुशासनमा व्यापक सुधार गर्छौँ । म सरकारमा बसेर भूमिका लिन्नँ तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने सन्दर्भमा व्यक्तिगत रूपमा काम गर्छु, व्यक्तिगत रूपमा जोखिम उठाउन, गाली खान तयार छु किनभने अब काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ भनेर गएको हुँ । तर त्यसअनुसार सरकार चल्न सकेन,’ उनले भनेका थिए । उनले देशलाई ‘कंकर्ड’ (तीव्र गतिको जहाज) को जस्तो गति चाहिएका बेला सरकारको काम भने ‘ट्याक्टर’को गतिमा रहेको टिप्पणी गरे ।
यस्तै एउटा कार्यक्रममा उनले मन्त्रिपरिषद् बैठक बस्न लागेको सूचना र त्यसले गर्ने निर्णयले आफूलाई तनाव हुने गरेको पनि बताएका थिए । महामन्त्री थापाको यो भनाइ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन । घिसिङलाई हटाउन हुन्न भनेर आफूहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिँदा पनि अटेर गरेको उनले सार्वजनिक कार्यक्रममै बताइसकेका छन् ।
महामन्त्री थापाले सरकारको आलोचना गरिरहेको विषय प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग मंगलबार बालुवाटारमा उठाएका थिए । राजनीतिक संयन्त्रमा रहेका नेताहरूबाट सरकारको सार्वजनिक रूपमा गम्भीर आलोचना हुनु उचित नभएको ओलीको भनाइ थियो । ‘केही समस्या छन् भने संयन्त्रमा बसेर समाधान गर्न सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै बालुवाटारका एक अधिकारीले भने । त्यसपछि कांग्रेस सभापति देउवाले सरकारका समस्यालाई राजनीतिक संयन्त्रमा बसेर छलफल गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया