काठमाडौं । यतिबेला मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक गभर्नरविहीन बनेको छ ।
गत चैत २४ गतेबाट महाप्रसाद अधिकारी गभर्नरको ५ वर्षे कार्यकाल सकाएर बिदा भएसँगै अहिले कार्यवाहकको भरमा राष्ट्र बैंक चलिरहेको छ ।
गत चैत २५ गते अर्थमन्त्रालयले कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको छ ।
गभर्नरको पद रिक्त हुनु भन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले समेत त्यसलाई बाध्यकारी रुपमा बहालवाला गभर्नरको पद सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भनेको छ ।
‘गभर्नर नियुक्तिको सार्वजनिक सूचना : नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यताया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सो को सूचना सार्वजनिक प्रकाशन तथा प्रशारण गर्नेछ,’ नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा स्पष्टसँग भनिएको छ ।
तर गभर्नर जस्तो महत्वपूर्ण पदका लागि समेत राजनीतिक भागबण्डा र खिचातानीको विषय बनाइँदा पद खाली भएको २ साता पुग्न लाग्दा समेत गभर्नर नियुक्ति हुन नसकेको हो ।
गभर्नरको पद हत्याउन लामो समयदेखि नै दलीय आवरणमा विभिन्न व्यक्तिहरु दौडधुपमा रहेका थिए । ती मध्ये एक हुन् नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट । खासगरी हालका गृहमन्त्री रमेश लेखक र आफूलाई सुदूरपश्चिमको खास कांग्रेसी रहेको दाबी गर्दैै गभर्नरको दौडमा उनै भट्ट देखिएपछि गभर्नर नियुक्तिका लागि कांग्रेस समेत रक्षात्मक बनेको छ ।
एकातिर गृहप्रदेशकै व्यक्ति र अर्कोतिर राष्ट्र बैंककै उच्च तहमा रहेका कारण गृहमन्त्री लेखक स्वंयम कांग्रेसको आन्तरिक छलफल र एमालेसँगको वार्तामा समेत अडान लिने गरेको स्रोतले जानकारी दिएको छ ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसकै साथमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले कांग्रेसकै शीर्ष नेता र बहालवाला गृहमन्त्रीले नै व्यक्तिका नाममा अडान कायम गरेपछि गभर्नर नियुक्तिका लागि संकट चुलिएको एमाले नेताहरुको आरोप रहेको छ ।
यता गभर्नर बन्न मरिहत्य गरेर लागिपरेका डा. भट्ट अहिले दिनहुँजसो सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ र अन्य शक्तिकेन्द्र धाइरहेका छन् । त्यतिमात्र होइन धनगढीबाट आफैँले प्लेन टिकट काटेर कांग्रेसी कार्यकर्ताहरु काठमाडौं ल्याएर सभापति देउवा निवासमा दिनहुँजसो झुण्ड खडा गरेर डेलिगेसन गर्ने गरेको बताइन्छ ।
बाहिर गृहमन्त्री लेखक र डा. भट्ट गभर्नरको लबिइङमा देखिए पनि यदी गभर्नर पद हत्याउन नसकेमा डेपुटी गभर्नर बन्न बार्गेनिङ पोइन्ट यसैलाई बनाउन लागेको समेत उनीमाथि आरोप रहेको छ ।
एमाले निकट मानिएकी कार्यवाहक गभर्नर समेत रहेकी डेपुटी गभर्नर ढुंगानालाई गभर्नर बन्ने बाटो खुला गरिदिएर आफू डेपुटी गभर्नर बन्ने दाउमा भट्ट रहेको समेत स्रोतको दाबी छ ।
एमाले नेताहरु र स्वंय प्रधानमन्त्री ओली समेत निलमलाई नै गभर्नर बनाउने विषयमा सकारात्मक देखिन्छन् । यता गृहमन्त्री लेखक र स्वंयम भट्ट भने सके गभर्नर, नसके डेपुटी गभर्नरको भाग सुनिश्चित गर्न दौडधुप गरिरहेको बताइन्छ ।
राष्ट्र बैंक स्रोतका अनुसार डा. भट्टको कार्यकाल अब ४ महिना मात्रै बाँकी छ । अर्थात् अबको ४ महिनापछि डा. भट्ट सेवा अवधि ३० वर्ष पुगेका कारण अनिवार्य अवकाशमा जादैँछन् ।
डा. ढुंगाना गभर्नर बनेमा डेपुटी गभर्नरमा कांग्रेसको दाबी स्वतः पुग्ने र त्यसको एकमात्र उम्मेदवार डा. भट्ट मात्रै हुने लेखक र भट्टको योजना छ । यसका लागि डा. भट्टले डडेल्धुरा घर भएका भट्ट थरका एक व्यक्ति मार्फत विचौलिया दिपक भट्ट र रामचन्द्र भट्टसँग सहकार्य गरेको स्रोतले बतायो । भट्ट बन्धुको योजनामा गृहमन्त्री लेखक पनि सहमत भएको बताइन्छ ।
को हुन् डा. गुणाकर भट्ट ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट व्यवस्थापन संकायमा त्रिभुवन विश्वविलयबाट गोल्ड मेडल प्राप्त गरेपछि लिखित परीक्षा नै नदिई नेपाल राष्ट्र बैंक प्रवेश गरेका व्यक्ति हुन् । उनी अहिले आफूलाई सुदूरपश्चिमको १ नम्बर कांग्रेसी भएको दाबी गरिरहेका छन् । तर, नेपाल राष्ट्र बैंकमा रहेको कांग्रेस निकट कर्मचारी युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघमा भट्ट कहिल्यै आवद्ध नभएको संघका पूर्वअध्यक्षहरु विन्दु अर्याल, पदमराज रेग्मी, संजय मिश्र, ऋषिराम आचार्य, खेम कटुवालहरुले निकटसँग बताउने गरेका छन् ।
यता देउवा सचिवालय समेत भट्टको पछिल्लो सक्रियतापछि मात्रै उनी कांग्रेसी नै रहेछन् कि भन्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । भट्ट गभर्नर बनाइदिनका लागि दिनहुँ देउवा निवास धाउन थालेपछि मात्रै सचिवालयले उनलाई चिन्न थालेको बताइन्छ ।
‘गुणाकर सर कांग्रेस निकट हो कि होइन भन्ने हामीलाई थाहा भएन, तर नेपाल राष्ट्र बैंकमा भने कांग्रेस निकट भनेर चिनिएको नेपाल वित्तीय संस्था कर्मचारी संघमा कहिल्यै देखिनु भएन । यो संघलाई उहाँले केही सहयोग पनि गर्नु भएन । हाम्रा साथीहरुलाई एमाले निकट गभर्नरहरुले पेल्दा गुणकर सर छानीछानी विभाग पाइरहनु भएको थियो । उहाँका लागि कुनै अवसर बाँकी थिएन । त्यसैले हामीहरु उहाँ एमाले निकट हो भन्ने बुझाइमा थियौँ तर उहाँ त कांग्रेस हुनुहुदो रहेछ भनेर बल्ल थाहा हुन लागेको छ,’ संघका एक पूर्व अध्यक्ष बताउँछन् ।
डा. भट्टले कैलाली, कन्चनपुर, बैतडी जस्ता जिल्लाका कांग्रेस सांसद तथा नेताहरुलाई सहयोग गरेको आफूहरुलाई थाहा नभएको सो क्षेत्रका कांग्रेसीहरु समेत बताउँछन् । डा. गुणाकरले सो क्षेत्रमा कांग्रेसका लागि कुनै सहयोग नगरेको र मतदाता नामावली समेत काठमाडौं सारेर सो क्षेत्रलाई बेवास्ता गरेपनि पद पाउनको लागि अहिले आफू कांग्रेस बनेको सुदूरपश्चिम कांग्रेसका कतिपय नेताहरुको आरोप रहेको छ ।
यता देउवा सचिवालय समेत भट्टको पछिल्लो सक्रियतापछि मात्रै उनी कांग्रेसी नै रहेछन् कि भन्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । भट्ट गभर्नर बनाइदिनका लागि दिनहुँ देउवा निवास धाउन थालेपछि मात्रै सचिवालयले उनलाई चिन्न थालेको बताइन्छ ।
यता पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने गृहमन्त्री लेखक र डा. भट्टको रणनीति चाल पाए पनि मौन रहेको स्रोतको दाबी छ । आफूलाई गभर्नर बनाउन भनेर देउवालाई इंगेज गरिरहने तर प्रकारान्तमा एमालेकी उम्मेदवार डा. निलमलाई गभर्नर बनाएर थप ११ महिना डेपुटी गभर्नर बन्ने डा. गुणाकरको चालबारे देउवा जानकार रहेको बताइन्छ ।
‘उहाँ (डा गुणाकर) को चाल भनेको ११ महिना डेपुटी गभर्नर खाने मात्रै रहेछ । कांग्रेसले गभर्नर पाएको अवस्थामा आफू डेपुटी गभर्नर बन्न पाउदिँन भनेर उहाँले भाँजो हालिरहनु भएको रहेछ । यसमा गृहमन्त्रीजीको पनि भूमिका देखियो । सभापतिज्यूले उहाँहरुको रणनीति चाल पाइसक्नु भएको छ तर चाल नपाए जस्तो गरी उहाँहरुलाई स्पेस दिइरहनु भएको छ,’ देउवा निकट स्रोतले भन्यो ।
यता कांग्रेस कोटामा गभर्नर बन्नैका लागि अन्य व्यक्तिहरुको समेत दौडधुप देखिन्छ, जसका कारण देउवाले मुख नखोजेको स्रोतको दाबी छ । कांग्रेसको भागमा गभर्नर पद परेमा आफू डेपुटी गर्भनरमा छनोट नहुने डरले अन्य आकांक्षीले भन्दा भट्टले शक्तिकेन्द्र धाउने कामलाई तीव्रता दिइरहेको बताइन्छ ।
त्यसो त डा. भट्ट यसअघि कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री बनेको समयमा उनको सल्लाहकार बनेर अर्थमन्त्रालय आएका थिए । तर, उनी अर्थ मन्त्रालय आएपछि डा. महतसँग सम्बन्ध बिग्रिएको थियो ।
व्यवस्थापन संकायमा एमएमा टियू (त्रिभुवन विश्वविद्यालय) गोल्ड मेडलिस्ट रहेको भन्दै गृहमन्त्री लेखक डा. भट्टसँग प्रभावित रहेको र सोही कारण अडानमा रहेको बताइन्छ । तर, यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन माग गर्दा अर्थशास्त्रमा त्रिभुवन टियू टपर खगेन्द्र कटुवाल अन्तिम ५ मा पनि परेका थिएनन् । सो समयमा पनि बोर्डको अध्यक्ष छनोट समितिमा अहिले गभर्नर छनोट समितिका सदस्य बनेका डा. विश्व पौडेल सहभागी थिए । त्यसैले कुनै विषयमा टियू टप गरेको योग्यताकै कारण डा. पौडेल डेपुटी गभर्नरभन्दा सानो पदमा कार्यरत डा. गुणाकरलाई गभर्नरको लागि सिफारिस गर्न तयार होलान् भन्नेमा शंका छ ।
डा. भट्टको भूमिकालाई लिएर केही कांग्रेसीले गम्भीर शंका गरेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले डा. गुणाकरलाई चाहेको जति सबै विभागको नेतृत्व गर्न दिएको र प्रवक्ता समेत बनाएको नजिर राष्ट्र बैंकका कांग्रेसले पेश गरेका छन् ।
यता गृहमन्त्री लेखक र डा. गुणाकर भने जसरी पनि डेपुटी गभर्नर पदका लागि प्रयत्नमा देखिएका छन् । यही प्रयत्न सफल गराउनको लागि कांग्रेसका अन्य आकांक्षीहरुलाई कमजोर वा बद्नाम गराउन लागू नै नहुने अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्डलाई गभर्नर नियुक्तिका लागि आकर्षित हुन्छ भनेर विवाद सिर्जना गर्न खोजिएको थियो । यो विवाद सिर्जना गर्न पनि गृहमन्त्री लेखक र डा. गुणाकरको सक्रिय सहभागिता रहेको बताइन्छ ।
त्यसरी विवाद सिर्जना गर्दा पनि अपुग हुने देखिएपछि गृहमन्त्री लेखक नजिकका वकिल खोजेर अदालतमा मुद्दा हाल्न लगाइएको स्रोतको दाबी छ ।
कांग्रेस दाबी गर्ने भट्ट एमालेका एजेन्ट !
डा. भट्टको भूमिकालाई लिएर केही कांग्रेसीले गम्भीर शंका गरेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले डा. गुणाकरलाई चाहेको जति सबै विभागको नेतृत्व गर्न दिएको र प्रवक्ता समेत बनाएको नजिर राष्ट्र बैंकका कांग्रेसले पेश गरेका छन् ।
‘महाप्रसाद अधिकारी गभर्नर हुँदा राष्ट्र बैंकका सबै कांग्रेसी पेलानमा परे तर गुणाकरजी रोजीछानी विभाग पाउने भाग्यमानीमा परे । यसको कारण के हो ?’ ती कांग्रेसीले प्रश्न गरे ।
डा. भट्ट तत्कालिन अर्थमन्त्री डा. महतको सल्लाहकार बनेर अर्थ मन्त्रालयमा आउनुमा पनि एमालेको चाल रहेको स्रोतको दाबी छ । महालेखा परीक्षकको कार्यालयले नेपाल राष्ट्र बैंकमा गाडी दुरुपयोगमा प्रश्न उठाएको र सो विषय मिलाउनको लागि तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले डा. गुणाकरलाई अर्थमन्त्रीको सल्लाहकार बनेर भूमिका निर्वाह गर्न निर्देशन दिएकोले डा. गुणकरले त्यसै गरेको स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया