जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात् उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।’
सोही क्रममा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौँदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरूको आफूले समाधान गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘यहाँका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानी लगायतका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिने मौका पाए । यहाँको खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरेरै छोड्छौँ, उनले भने ।
जुम्लाको कठोर भौगोलिक बनोटबिच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताए । उनले भने, ‘तपाईँहरूको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौँ ।’

जुम्ला जिल्ला स्थित हेमा गाउँपालिका–१ देवार गाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया