काठमाडौँ, १९ कात्तिक- अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे, कान्तिपुरमा खबर छ । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति भएको प्रहरीको भनाइ छ राजधानीको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ज्याक डेनिस डान्स बारमा गोली चलाएपछि भारत लुधियानाका जसवीर सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ५१ थान ७ दशमलव ६५ एमएमको गोली र ७५ हजार भारु बरामद गरेको थियो । स्रोतका अनुसार पोखराबाट पक्राउ परेका भारतीयविरुद्ध भारतको राजस्थान प्रहरीमा थुप्रै मुद्दा छन् । राजस्थान प्रहरीकै सूचनाका आधारमा उनीहरू पोखराबाट पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका दुई भारतीय भने कुन उद्देश्यले त्यत्ति धेरै गोलीसहित नेपाल छिरेका थिए भन्नेबारे प्रहरीले खुलासा गरेको छैन । चुनावका बेला हतियारसहित र हतियाररहित भारतीय अपराधी धमाधम पक्राउको घटनाले सुरक्षा निकायको नेतृत्व तहलाई नै गम्भीर बनाइदिएको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलमा कार्यरत एक अधिकारीका अनुसार चुनावी सुरक्षाका निम्ति यो नयाँ चुनौती हुन सक्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया