घनश्याम भुसालकाे आरोप–‘सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन’

लोकपथ
462
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । उनले कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गरे । 

उनले कांग्रेस लायक पार्टी नभएको आरोप लगाए । माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्रीको बिरुद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए । उनले प्रदर्शनमा आउनेहरूले आइ लभ यु केपी बा नभई क्रान्तिको हिसाब माग्नुपर्ने बताए । 

उनले भने, ‘मैले पटक पटक भन्ने गरेको छु, कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । त्यो अरू नालायक भए भने लायक भएर देखिन्छ, अरू लायक भए भने त्यसको महत्त्व नै रहँदैन । अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ । नेकपा (माओवादी केन्द्र) । माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ दण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन । के सन्दर्भमा छ ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ ? अर्कै देखिन्छ । त्यस्तो सिद्धान्त लिएर हिँडेको छ । त्यसले क्रान्ति गर्नै सक्दैन । त्यसले यस्तै गर्दछ, हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ । तर्क प्रणाली यही हो । मधेस यात्रामा छ आँखा काठमाडौंमा छ । कहिले यो सरकार गएर कांग्रेस आओस् भन्छ, साँच्चै अहिलेको कांग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो ? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ ।’

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरू फाइदामा रहेको बताए । उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?