शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनु, गम्भीर परिणाम भोग्नुपर्ला : अध्यक्ष दाहाल

लोकपथ
371
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा उनले यस्तो बताएका हुन् ।  

अध्यक्ष दाहालले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाए । उनले शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताए । उनले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू संकटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताए ।   

अध्यक्ष दाहालले भने, ‘हजारौँ/लाखौँ शिक्षकहरू सडकमा छन्, ती शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने बाहेक केही पनि गर्नुभएको छैन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन् । त्यसलाई समाधान गर्न तत्परता र सक्रियताका साथ वार्ता गर्ने र प्रतिफल निकाल्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्ने लाजमर्दो स्थिति देखिएको छ ।’

अध्यक्ष दाहालले शिक्षकहरूलाई अपमान गर्न बन्द गरेर तुरुन्तै घनिभूत तरिकाले वार्ता संवाद गरेर हल गर्न सरकारलाई आग्रह गरे । उनले आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर विधेयकलाई सदनमा पुर्‍याएको बताउँदै उपसमितिमा छलफलमा रहेको विधेयकलाई टुङ्ग्याउन सरकारको खबरदारी समेत गरे  ।  

उनले भने, ‘सरकारले शिक्षकहरूलाई अपमान बन्द गरेर तुरुन्तै घनिभूत तरिकाले वार्ता संवाद गरेर हल गर्न कोशिस गरोस् । शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो, मैले धेरै मिहिनेत गरेर विधेयकलाई सदनमा पुर्‍याएको छु । उपसमितिमा छलफलमा छ । त्यसलाई टुङ्ग्याउने विषयमा शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिँदै छ ? म शिक्षकलाई गम्भीर रूपमा ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छु , हल्का रूपमा शिक्षकहरूको समस्यालाई नलियोस् ।’

उनले शिक्षकहरूसहित चिकित्सकहरू, नर्सहरू, लघुवित्त पीडितहरू महिनौँदेखि सडक आन्दोलनमा उत्रिएको बताउँदै उनीहरूका मागलाई तत्काल सम्बोधन नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?