काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचारप्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गरे ।
उनले नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने बताए ।
पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ । ्
नेपालको धार्मिक स्थलहरुको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने बताए ।
उनले सरकारले भारतीय सेनामा नेपालीहरुलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरुमा नेपालीहरु सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गरे ।
उपसभापति गुरुङले भने, ‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ । तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्नेकुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरु भर्ती भएर हाृमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ नि । हामी नेपालीहरुले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पुर्याउने गर्दछौँ भन्नेकुरा । भुमिका खोज्दै गर्दा पहिला आफ्नो भुमिकाको पहिचान गर्ने की छिमेकीको भुमिका खोज्ने हो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा झगडा गरिरहेका हुन्छौँ । हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ । भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभइ जानकीधाममा पनि आउनुभएको छ । मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ । तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ । कहिल्यै समाचारमा आएको छ ? ताप्के नतातिएपछि बिँड तातिनुपर्छ भन्नेकुरा कहाँको हो यो । ताप्के तातिनुपर्यो नि त हामी । झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा बहुसंख्यक छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपोभूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकीधाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ ? ’
त्यस्तै उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताए । उनले आफूले केही नगर्ने र अरुले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने बताए ।
उनले नेतृत्वमा बसेकाहरुले आफ्नो भुमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया