काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।
उनले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाए । आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ छ ।
उनले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गरे । उनले लोकतन्त्रको कडीका रूपमा रहेका संस्थाहरूप्रति जनताको विश्वास घट्दै गएको बताए । अदालत, अख्तियार र संसद्को प्रभावकारितामाथि निराशा पैदा भइरहेको बताए । उनले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।
उनले भने, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरूलाई दुईरतीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु । उ आफैँले समाचार दिन्छ । अनि आफैँ कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ । हामी संसद्को एउटा अधिवेशनभरी एउटा कानुन बनाउन सक्दैनौँ । लोकतन्त्र भनेको त यी संस्थाहरूको प्रभावकारिता र विश्वसनीयता हो नि । हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो । अविश्वासहरू धेरै छ । यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो ।’
उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरूको समाधान नेपाली कांग्रेसले दिनुपर्ने बताए । उनले चाह्यो भने नेपाली कांग्रेस सरकारबाट बाहिरिन सक्ने समेत टिप्पणी गरे । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे । उनले पूर्व राष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै कांग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताए । उनले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताए ।
उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिहरु राजनीतिक दलमा सक्रिय हुने कुराहरू आएको छ । कम्तीमा नेपाली कांग्रेसले भन्नुपर्छ । हामीले भन्ने तागत राख्नुपर्छ । हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरू कहिले पनि फर्केर दलको सदस्यता लिएर आउनुहुन्न । त्यो संस्थाको गरिमा राख्नुहुन्छ । राखिरहनुभएको छ । हिजो हाम्रो पार्टीको सदस्य भएका मानिसहरू आज कोही उपकुलपति होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान् । तर ती कसैबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन । जो जुन ठाउँमा जान्छन् त्यो ठाउँको जिम्मेवारी बहन गर्नुपर्छ ।’
संविधानलाई खल्बल्याउने नभई सुदृढ बनाउँदै लैजाने उनको दाबी छ । उनले संघीयताले समेत प्रभावकारी ढंगले काम गर्न नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया