तीनकुने घटना : लुटपाटमा कांग्रेसका छोरा संलग्न रहेको आरोपबारे के भन्छ प्रहरी ?

लोकपथ
2.9k
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले हिंसात्मक प्रदर्शनका क्रममा भाटभटेनी लगायत स्थानमा लुटपाट भयो ।

लुटपाटमा संलग्न लगायत अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।

सोही क्रममा नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोरो समेत उक्त लुटपाटमा संलग्न रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लगाए ।

गत वैशाख १२ गतेबाट सुरु भएको संसद्को रोष्ट्रमबाटै एक सहमहामन्त्रीको छोरो समेत लुटपाटको घटनामा संलग्न रहेको र नेताको छोरा रहेपछि छाडिएको आरोप लगाए ।

यता कांग्रेसमा ६ जना सहमहामन्त्री रहने भएकाले कुन सहमहामन्त्रीको छोरा हो स्पष्ट पार्न कांग्रेस नेताहरुले लिङदेनलाई चुनौती दिएका छन् ।

तर प्रहरीले भने कुनै नेताको छोरा पक्राउ नपरेको जनाएको छ ।

चौतर्फी प्रहरीमाथि नै प्रश्न उठेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति नै जारी गरेर त्यसबारे खण्डन गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बाहिर आएको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

‘विभिन्न सञ्चारमाध्यमहरुबाट तीनकुने घटनामा ‘नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ गरी बिना कारबाही छोडिएको’ भन्ने प्रेषित समाचारहरुमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता एसपी बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरुबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?