तेहरान, २८ कात्तिक । इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पपछि लगातार दोस्रो रातपनि प्रभावित क्षेत्रका सर्वसाधारणले चिसो र खुला आकाशमुनी रात बिताएका छन् भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको करमनशाह प्रान्तका सर्वसाधारणका सयौं घर भूकम्पबाट क्षतिग्रस्त बनेका छन् सो भूकम्पमा परी ४ सय ३० भन्दा बढीको मृत्यु भएको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् । मृतकहरुको सम्झनामा इरानमा राष्ट्रिय शोकको घोषणा गरिएको छ इरानका राष्ट्रपति हसन रुहानीले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । सो क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई भने प्रवेश अनुमति दिइएको छैन । इरानको राष्ट्रिय समाचार एजेन्सी इर्नाले भूकम्पबाट ४ सय ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ । इराकमा भने हालसम्म ९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् इरानको रेडक्रिसेन्ट सोसाइटीका मानसुरा बाघेरीले इरानमा १२ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको जानकारी दिएकी छन् । भूकम्प प्रभावित क्षेत्रमा भत्किएका भवनहरुमा पुरिएकाहरुको खोजी कार्य जारी रहेपनि अब खोज भन्दा राहत र बसोबासको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया