मोरङ्, ३० कात्तिक– मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि कांग्रेसका उम्मेद्धवार डा. सुनिल शर्माले आफू १५ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन् बिहीबार मोरङमा भएको साक्षात्कारमा नेता शर्माले आफ्नो जितको सुनिश्चित भैसकेको बताएका हुन् । उनले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले नेता भानुभक्त ढकाललाई टुरिष्ट उम्मेद्धवारको संज्ञा दिए उनले भने,‘यो क्षेत्र कांग्रेसको गढ हो, अहिले त करिब करिब सबै गाउँमा कांग्रेस बाहेक कोहीपनि छैनन भन्दा पनि हुन्छ, एमालेका ढकालजी म सँग प्रतिष्पर्धा गर्न आउनु भएको छ, तर यहाँका जनताले उहाँलाई भोट दिनेवाला छैनन्, उहाँ त पर्यटकीय उम्मेद्धवार मात्रै हो ।’उनले ढकाल टुरिष्ट भएकै कारण यो जाडोमा उक्त क्षेत्रका जनताले उनलाई चिसो लाग्ला भनेर न्यानोसँग राखेको तर चुनाव सकिएलगत्तै त्यहाँबाट भगाउने जिकिर गरे । उनले भने,‘अहिले चुनावसम्मको लागि उहाँलाई जाडो, ठण्डी लाग्लाभनेर हामीले नै न्यानोसँग राख्छौं, तर चुनाव सकिएपछि यहाँबाट भगाउँछौं ।’नेता शर्माले आफूले उक्त क्षेत्रको विकास र समृद्धिको लागि व्यापक काम गरेको दाबी गर्दै भने,‘म सँग दीर्घकालिन समस्याको समाधान गर्ने योजनाहरु छन्, २ वर्षभित्र सबै काम गर्न सक्ने खाका तयार पारेको छु, अब विकासको कामले गति लिन्छ, गाउँदेखि शहर समृद्ध हुन्छ।’उनले ३ नम्बर क्षेत्रका एमालेका कतिपय गाउँ त आफूले रित्याईदिएको जिकिर पनि गरे । उनले भने,‘साँच्चिकै भन्नुहुन्छ भने कतिपय एमालेका गाउँ त हाम्रो पार्टीमा प्रवेश गराएर मैले रित्तो बनाएको छु । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया