काठमाडौं । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् ।
पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा ५०० राखेर घुस दिएका थिए ।
ना २ ख ८३६० नं ट्रक चालक राजवंशीले घुसबापत रकम दिएलगत्तै उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया