भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं । सरकारले भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमण गराउने भएको छ ।

नेपालको औचापरिक भ्रमणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस.जयशंकरलाई सरकारले छुट्टा छुट्टै निमन्त्रणा पठाएको छ ।

यो कुरालाई नेपाल र भारत दुवै पक्षले सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल र राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले भ्रमणको बारेमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए । त्यस्तै, भारतीय दुतावासका प्रवक्ता अभिषेक दुवेदीले पनि आफूलाई भ्रमणबारे औपचारिक जानकारी नरहेको बताए ।

तर, स्रोतका अनुसार तीनै जनालाई छुट्टाछुट्टै नेपालको भ्रमण गराउने तयारी नेपाल सरकार र नेपालस्थित भारतीय दुतावसाले आन्तरिक रुपमा थालिसकेको छ ।

भारतीय राष्ट्रपति कोविन्दलाई नेपालको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा समेत गरिसकेको छ ।

राष्ट्रपति कोविन्दले यही जुलाईमा नेपालको भ्रमण गर्ने दुतावासले जनाएको छ । दुतावासका अनुसार यस्तो उच्चस्तरको भ्रमण बारेमा तयारीका लागि प्रायः एक हप्ताअघि मात्र आधिकारीक जानकारी आउँछ ।

प्रधानमन्त्री मोदीले सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्ने बताइएको छ । चुनाव जितेपछि एकपटक पशुपतिको दर्शन गर्ने उनले इच्छा जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?