गोकर्णेश्वर नगरपालिकाको आज सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६र७७ का लागि रु एक अर्ब ४४ करोड रुपैयाँ बजेट पारित गरेको छ । नगरसभाको बैठकले पूर्वाधार विकास एवंम् पर्यटनलाई बजेटमा प्राथमिकता दिएको छ ।
नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ ।
नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।
बागद्वारबाट झर्ने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।
नगरपालिका–५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।
मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिने पनि बजेटमा उल्लेख छ ।
पहिलो प्रामाणिक राजा मानदेवले बसाएको ऐतिहासिक बस्ती गोकर्ण देशेमा नेपाली वास्तु कला झल्कने पुरानो शैलीका घर निर्माणका लागि प्रोत्साहन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकाका मेयर सन्तोष चालिसेले प्रस्तुत गरेको बजेट नगरसभामा छलफलपछि पारित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया