नुवाकोटमा डिप बोरिङबाट खानेपानी वितरण

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो ।

२० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट चार लाख र स्थानीयवासीको चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिए ।

पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताए ।

सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?