चीनमा भिषण आँधी: छ जनाको मृत्यु, दश हजार प्रभावित

appharu
0
Shares

एजेन्सी । चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् ।

देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् ।

आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १ सय ९० भन्दाबढी घाइते भएको समाचारमा जनाइएको छ । स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ मिटरको गतिमा स्थानीय समयअनुसार बुधबार बेलुका ५ दशमलव १५ मा आँधी आएको थियो ।

प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन् । घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

उद्धारकर्मी विभिन्न दश ओटा समूह बनाएर खटिएको र उनीहरुले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन् ।

धेरै ठाउँमा अझै पनि सडक, विद्युतलगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन् । आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कारखाना भवन क्षतीग्रस्त भएका छन् ।

प्रकोपमा परी अरु ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन् । भत्किएका घरबाट झण्डै २ सय १० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ ।

उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?