विभिन्न वडा कार्यालयमा शंकास्पद वस्तु राखेर तालाबन्दी !

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाका विभिन्न वडामा शंकास्पद वस्तु भेटिएको छ ।

परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद वस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको हो । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको भए पनि बम भने भेटिएको छैन ।

तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको परशुराम नगरपालिका–९ का वडाध्यक्ष रमेश बोहराले बताए ।

शंकास्पद वस्तु भेटिएको जानकारी जनप्रतिनिधिले गराएपछि प्रहरी घटनास्थलतर्फ गएको छ ।

त्यस्तै, आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ । यहाँ भने कुनै पनि शंकास्पद वस्तु नराखिएको बताइएकाे छ ।

२२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द आह्वान गरेकाे र केही स्थानमा पर्चासमेत भेटिएकाले यही समूह संलग्न हुनसक्ने अनुमान प्रशासनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?