तीन वर्षपछि रुम्जाटार विमानस्थल सञ्चालन, वायुसेवा निगमको विमानले हरेक शुक्रवार उडान भर्ने

काठमाडौं । काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान भएको छ ।

आज ‘शुक्रवार’देखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं  १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु भएको हो । 
 
करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गरेको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ । 

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रवार रुम्जाटारमा उडान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उनका अनुसार हरेक शुक्रवार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ । रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।

यो पनि पढ्नुहोस् :-

दुई वर्षदेखि रुम्जाटारमा विमान उडान रद्द, विमान कम्पनी भन्छन्, खै प्लेन चढ्ने यात्रु?​

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?