निर्मला पन्त हत्या प्रकरणः रहस्यमा डेढ महिना, ‘छानबिन समिति’ नै अन्यौलमा !

काठमाडौं । देश यतिबेला तीजको रमाइलोमा डुबेको छ । मन्दिर, चोक तथा टोल–टोलमा जम्मा भएर नारीहरुले तीजमा खुशी साटासाट गरिरहेका छन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय किशोरी निर्मला पन्तका बा–आमा भने यतिबेला दोषीलाई कारवाहीको माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरु झण्डै डेढ महिनादेखि शोकमा डुबेका छन् ।

घटना घटेको २४ दिनपछि प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको आरोपमा दिलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । साथै प्रहरीले विष्टले अपराध स्वीकारेको समेत बताएको थियो । 

तर, घटनाको २० दिनपछि मुख्य अभियुक्त भनिएका लिलिपसिंह विष्टलाई अदालतले यथेष्ट प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।

प्रहरीका अनुसार विष्टको डीएनए परीक्षण गर्दा उनको डीएनए  निर्मलासँग नमिलेको पुष्टि भएको हो ।

मोरङ जिल्ला अदालतले विष्टलाई मंगलवार रिहा गर्न आदेश दिएको हो । उनीसँगै ३० हजार धरौटीमा निर्मलाका साथी रोशनी बम र बबिता बम पनि छुटेका छन् ।

विष्ट रिहा भएको एक दिनअघि मात्र कञ्चनपुर घटनाको छानबिन गर्न भन्दै गठन भएको ‘छानबिन समिति’ का सदस्य विरेन्द्र केसीले राजीनामा दिएपछि कञ्चनपुर घटना थप रहस्यीमयी बनेको छ ।

यद्यपि केसी भने राजनीमा दिएपछि आज (वुधवार) छानबिन समितिमा फर्किएका छन् ।

यता सरोकारवालाले छानबिन समितिले नै घटना लुकाउन खोजेको भन्दै चासो व्यक्त गरेका छन् ।

मंगलवार छानबिन समितिबाट राजीनामा दिएका सदस्य विरेन्द्र केसीले एक  अनलाइन मिडियालाई दिएको अन्तर्वार्तामा पन्त हत्या प्रकरणका बारेमा सबै कुरा खुलाए समाजमा ‘हिंसा’ भड्किने बताएका थिए । उनले यस्तो बताएपछि छानबिन समितिले नै केही कुरा लुकाउन खोजेको प्रष्ट देखिएको कतिपयले आवाज उठाउन थालेका छन् । उक्त अन्तर्वार्तामा उनले भनेका छन्, ‘एउटै कुरा के बुझ्दिनुपर्यो भने म वास्तविक हत्यारालाई सजायको सिफारिस पनि गर्न सक्दिन भने त्यो समितिमा किन बस्ने?’ 

यसको मतलब छानबिन समितिलाई वास्तविक हत्याराको पहिचान भइसकेको छ, तर दबाबका कारण उनले निर्मला पन्तलाई न्याय दिन नसक्ने अवस्था आएको छ । छानबिन समितिले प्रतिवेदन नै ‘फेक’ बुझाउन खोजेको हो कि भनेर स्थानीयवासीले आपत्ति समेत जनाएका छन् । स्थानीयवासीले आन्दोलनमा उत्रेर प्रहरीतर्फ औँला तेस्र्याइरहेका छन् भने सरकारले त्यहाँका एसपी डिल्ली विष्टलाई यसअघि नै निलम्बन गरिसकेको छ ।

साथीसँग पढ्न भनी गएकी निर्मला पन्तको शव साउन ११ गते उनको घर नजिकैको उखुबारीमा हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

नेपाल प्रहरीका एक अधिकारीले घटनामाथि थप अनुसन्धान भइरहेको बताए । केही दिनअघि आइजीपी सर्वेन्द्र खनालले निर्मलाका बुबाआमालाई भेटेर ‘अन्तरिक्ष’मा पुगेर भएपनि अपराधी पत्ता लगाउने बताएका थिए । तर, घटना थप गोप्य र रहस्यपूर्ण बनाउन खोजिएको तथ्य बाहिर आएको छ ।

स्थानीयवासीले भने निर्मलाको हत्या ठूलै व्यक्तिले गरेको र वास्तविक अपराधी लुकाउन लामै कसरत गरिरहेको बताउँदै आएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले छानबिन समितिका सदस्यले राजीनामा दिएपछि उनीमाथि पनि छानबिन हुने बताएका छन् । ठूला अपराधी बचाउन ठूलै कसरत गरिएको देखिए पनि निर्मला पन्तका परिवार भने यतिबेला काठमाडौंमा हत्यारालाई कारवाही गर्न भन्दै सरकारसँग अनुरोध गरिरहेका छन् । निर्मलालाई सरकारले न्याय दिनेछ भन्नेमा बाबुआमा आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?