ब्याजदरबारे बैंकर्स संघ विवादित, सिन्डिकेट तोड्ने कि बैंकहरूलार्इ कारबाही गर्ने ?

काठमाडाैं : सर्वसाधारणले बैंकबाट लैजाने कर्जा र राख्ने बचतको ब्याजदरमा सिन्डिकेट लादेको बैंकर्स संघभित्र यसबारे विवाद देखिएको छ । बैंकर्स संघ २८ वटा बैंकहरूको छाता संस्था हो । 

एकाथरी बैंकर्सहरूले अरू बैंकको निक्षेप तान्न केही बैंकहरूले खेल खेलिरहेको अारोप लगाएका छन् भने अर्काथरी बैंकर्सहरूले बैंकहरूमा एउटै ब्याजदर कायम गर्दा प्रतिष्पर्धा नहुने र ब्याजदरमा बैंकर्स संघले सिन्डिकेट लाद्न नहुने धारणा राखेका छन् । 

गत असार ७ गते बैंकर संघले बैंकहरूबीच बचतमा ७ प्रतिशतभन्दा माथि ब्याज नदिने सहमति गरेका थिए। त्यसअघि संघले लादेको ब्याजदर सिन्डिकेट केही बैंकहरूले तोड्दै बचतमा अाकर्षक ब्याजदर प्रस्ताव गरेका थिए । त्यसपछि लबिङका लागि नियामक राष्ट्र बैंक र अर्थ मन्त्रालय पुगेका संघका अधिकारीहरूले बचतमा ७ र मुद्दतीमा १०.५% भन्दा बढी ब्याज नदिने निर्णय गरेका थिए ।

ब्याजदरबारे बैंकहरूबीच नै विवाद हुन थालेपछि संघले केही दिनमै 'भद्र सहमति' तोड्ने वा ब्याजदरको सिन्डिकेट तोड्ने बैंकका पदाधिकारीलार्इ कारबाही गर्ने भन्नेबारे छलफल गर्दैछ । केही बैंकहरूले पूर्वसहमति विपरित बचत खातामा ८% सम्म ब्याज दिएपछि बैंकर्स संघका केही पदाधिकारी चिढिएका छन् । यी बैंकहरूले कल एकाउन्टको ब्याजदर समेत बिस्तारै बढाउँदै निक्षेप कबुल गर्न थालेका छन् । 

ब्याजदरबारे विवादभित्र बैंकर्सहरूबीच दुर्इ खेमा देखिएको छ । पूर्वसहमति पालना नहुने हो भने अाैपचारिक रूपमा भंग गर्नुपर्ने एक पक्षको तर्क छ । सरकार र राष्ट्र बैंकले नै ब्याजदर सिन्डिकेटबारे गम्भीर हुनुपर्ने उनीहरूले बताउँदै अाएका छन् । अर्को पक्षचाहिँ ब्याजदर सिन्डिकेटको सहमति भंग गर्न नहुने, बरू सहमतिविपरित ब्याजदर दिर्इरहेका बैंकमाथि कारबाही गर्नुपर्ने धारणा राखिरहेका छन् । 

पछिल्लो पटक ऋणको माग उच्च हुँदा माग धान्न कठिन भएको र सस्तो ब्याजदर हुँदा सर्वसाधारणले बैंकमा पैसा राख्न नचाहेको देखिएको छ । यसअघि यस्तै समस्या अाउँदा बैंकर्स संघले भद्र सहमति तोडेको थियो । त्यतिखेर बैंकमा रकम बचत गर्ने नागरिकलार्इ विभिन्न बैंकले १३% सम्म ब्याजदर दिएका थिए । पछिल्लो पटक निक्षेपमा ११% भन्दा बढी ब्याजदर दिने बैंकमा मात्र सर्वसाधारणले रकम राख्न थालेका छन् ।

यो पनि : 

ब्याजदरमा बैंकको सिन्डिकेट तोडियो, निक्षेपमा ११ प्रतिशतभन्दा बढि ब्याज नदिने निर्णय खारेज

ब्याजदरमा प्रतिष्पर्धा गर्दै बैंक, कून बैंकले कति दिँदै ? (तालिका)

ब्याजदरमा फेरि बैंकर्स संघको सिन्डिकेट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?