निःशुल्क फिल्म देखाउँदै, घाटा खाँदै निर्माता – हलमा ‘पत्तासाफ’, युट्युबमा दर्शकको साथ !

काठमाडौं । हास्यकलाकार तथा फिल्म निर्माता दीपकराज गिरीलाई स्वेदश/विदेशमा रहेका नेपाली फिल्मका दर्शकले ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउँछ? भनेर सोधिरहन्छन् । सिनेमा हलमा ‘छक्का पञ्जा ३’ रिलिज भइसके पनि युट्युबका दर्शकले ‘छक्का पञ्जा २’ नै हेर्न पाएका छैनन् । हलमा रिलिजका बेला चौतर्फी चर्चा पाएको भएर पनि धेरै दर्शक यो फिल्मको पर्खाइमा छन् ।

दीपकराज गिरी भन्छन् – ‘अहिले फिल्म युट्युबमा राख्ने धेरै दबाव आएकाले अब राख्ने कि भनेर सोचेका छौँ । यतिबेला हलमा ‘छक्का पञ्जा ३’ चलिरहेको छ, यसपछि फेरि एकपटक ‘छक्का पञ्जा २’ पनि हलमा रिलिज गरेर बल्ल युट्युबमार्फत सार्वजनिक गर्ने कि भन्नेबारेमा पनि छलफल भइरहेको छ ।’

युट्युबमा ‘सुपरहिट’ बन्ने नेपाली सिनेमा हलमा भने ‘पत्तासाफ’ भएका हुन्छन् । अझ अर्को आश्चर्यलाग्दो कुरा त के हुन्छ भने, हलमा दर्शकबाट भव्य गाली खाएका सिनेमाले पनि युट्युबमा उग्र राम्रो भएको प्रतिक्रिया पाएका हुन्छन् । यसको अर्थ, हलमा फिल्म हेर्न जाने दर्शक र युट्युब कुरेर फिल्म हेर्ने दर्शक फरक हुन् ।

पछिल्लो समय नेपाली सिनेमा मात्र होइन, दक्षिण भारतमा निर्माण हुने चलचित्रहरु पनि नेपालको युट्युब ट्रेन्डिङमा पर्ने गर्छन् । प्रायः नेपाली फिल्म ट्रेन्डिङ नम्बर एकसम्म उक्लेका हुन्छन् । तिनै फिल्म हलमा नचल्नु तर युट्युबमा चल्नुले नेपाली फिल्मप्रति दर्शकको माया त देखाएको छ तर विश्वास जित्न सकेको छैन ।

कलाकार दीपकराज गिरीको बुझाइमा हलमा फिल्म रिलिज भएको केही महिनामै युट्युबमा रिलिज गरिँदा नेपाली दर्शक हलमा दर्शक कम आउँछन् । ‘हलमा फिल्म चलेन भनेर दुई महिनामै युट्युबमार्फत फिल्म सार्वजनिक गर्दा हल आउने दर्शकको सङ्ख्या घटाएको छ’, कलाकार गिरी भन्छन्, ‘हलमा रिलिज हुँदा नै दर्शकमा फिल्म केही समयमा युट्युबमा रिलिज हुन्छ, किन जाने हल भन्ने सोचको विकास भएको छ ।’

त्यसो त नेपाली फिल्म युट्युबमार्फत विदेशमा भएका नेपालीले पनि हेर्न पाइरहेका छन्/हुन्छन् । यसो गर्दा विदेशमा रहेका नेपालीको नेपाली फिल्मप्रतिको मोह बढ्दै जान्छ । दीपकराज गिरी यसकारण फिल्म युट्युबमा सार्वजनिक गर्नु गलत नभए पनि निर्मातालाई छिट्टै रिलिज नगर्न आग्रह गर्छन् ।

हलमा रिलिज हुँदा नै दर्शकमा फिल्म केही समयमा युट्युबमा रिलिज हुन्छ, किन जाने हल भन्ने सोचको विकास भएको छ ।

‘साउथ इन्डियन फिल्म युट्युबमा रिलिज हुनासाथ नेपालमा पनि ट्रेन्डिङमा आइहाल्छन्, ती फिल्म काठमाडौंका हलमा रिलिज हुने हो भने चल्दैनन्’, दीपकराज गिरी युट्युबको बजार आँकलन गर्दै अगाडि थप्छन्, ‘ती फिल्म पनि युट्युबमा हेर्न पाइन्छ नि भन्ने दर्शकमा छ, त्यसैले हलमा चल्नेवाला छैनन्, नेपाली फिल्म पनि हलमा रिलिज भएपछि झट्टै युट्युबमार्फत सार्वजनिक गर्दा नेपाली सिनेमाको कल्चर बिग्रन्छ ।’

वितरक मनोज राठीको धारणा पनि दीपकराज गिरीसँग मिल्दो छ । उनी पनि नेपाली फिल्म सहजै युट्युबमा सार्वजनिक गर्दा हलमा आउने दर्शक घट्ने बताउँछन् । ‘युट्युबमा निःशुल्क हेर्न पाउने भएर पनि हलमा दर्शक कटौती भएका छन्, अहिले सबैसँग इन्टरनेटको पहुँच छ, नेपाली फिल्मलाई सकभर युट्युबमा अपलोड नगर्नु नै उचित हुन्छ’, राठी थप्छन्, ‘अहिले त शुल्क तिरेर पनि फिल्म हेर्ने सुविधा दिएका कैयन् प्लेटफर्म छन्, त्यसरी फिल्म हेर्न मिल्ने ट्रेन्ड ल्याउँदा हलवाला, निर्माता सबैलाई फाइदा छ ।’

उनका अनुसार युट्युबमा फिल्म आउँदा फिल्म क्षेत्रको अर्थ बजारलाई नै असर पारिरहेको हुन्छ । यसरी फिल्म देखाइँदा युट्युब च्यानलवालालाई चाहिँ फाइदा पुग्ने राठीको तर्क छ । ‘फिल्म र रिटर्नसम्बन्धि धेरैलाई ज्ञान नहुँदा पनि यस्तो प्रवृत्ति आएको हो, राम्रा फिल्महरु झट्टै युट्युबमा आउँदैनन्, पैसा तिरेर हेर्ने व्यवस्थाको ट्रेन्ड नबसेसम्म नेपाली सिनेमा अझै सस्तिन्छन् ।’, राठी भन्छन् ।

ओएसआर डिजिटलका रुपेन्द्र खड्कीको तर्क भने अलिक बेग्लै छ । उनले पाइरेसी हुँदा निर्मातालाई घाटा भए पनि युट्युबमार्फत फिल्म सार्वजनिक गर्दा कुनै घाटा नहुने बताउँछन् । ‘नेपाली फिल्म युट्युबबाट रिलिज हुँदा फिल्मलाई घाटा हुन्छ भन्ने हुँदैन, हिन्दी फिल्मकै कुरा गर्ने हो भने पनि हलमा चलेकै दिन बजारमा सो फिल्मको सिडी आउने गर्थ्यो, तर दर्शक हलमा फिल्म हेर्न त जान्थे नि’, रुपेन्द्र अगाडि थप्छन्, ‘युट्युबका र हलका दर्शक फरक हुन्, बरु युट्युबमा फिल्म रिलिज हुँदा दर्शक बढिरहेका छन्, विदेशमा रहेका नेपालीले पनि फिल्म हेर्न पाएका छन् ।’

साथै उनले नेपाली फिल्मको पनि आफ्नै ‘ग्रेड’ भएको र त्यहीअनुसार हलमा चल्ने गरेको धारणा राख्छन् ।

यद्यपि अहिले सिनेवृत्तमा नेपाली फिल्म सक्दो छिटो युट्युबमा रिलिज गर्नु कति प्रभावकारी भन्ने बहस हुन थालेको छ । हलमा फ्लप भइसकेको फिल्मले युट्युबबाट थोरै भए पनि आर्थिक राहत पाए पनि निःशुल्क फिल्म देखाउने प्रवृत्तिले सिनेकर्मीलाई नै घाटा भएको कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?