स्टेजमै माइक खोसिएका प्रदिप रोका यसरी बने लोक गायक, फ्यानले सोध्छन्, ‘गर्लफ्रेन्ड खोइ ?’ (भिडियो सहित)

 काठमाडौं । प्रदीप रोका अहिलेका उदीयमान लोक गायक हुन् । विशेष गरी काठ क्षेत्रको ‘काठे भाका’ मा गाउने प्रदीप गायनमा मात्र सीमित छैनन् । पछिल्लो समय उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गर्न भ्याएका छन् । गायन र अभिनय दुवैमा अपेक्षित प्रतिक्रिया पाइरहेकाले आगामी दिनमा झनै सक्रिय भएर काम गर्ने उर्जा मिलेको उनी बताउँछन् । 

त्यसो त उनलाई आफ्ना सबै गीत उत्तिकै प्रिय लाग्छन् । तर, आफूलाई नेपाली लोक गीत क्षेत्रमा ‘प्रदीप’ भनेर चिनाउने इमेज दोहोरीमा गाएको दोहोरी गीतका कारण अझ बढी दर्शकमाझ चिनिने गर्छन् ।

उक्त गीत उनले लोक गायिका  बबिता बानियाँ उर्फ जेरी सँग गाएका थिए । उनीहरुको जोडीलाई दर्शकले मन पराएको प्रतिकृया दिएका थिए । जेरी वाचनबाट पहिलेदेखि नै चर्चित बबिताले आफ्नो टक्करको जोडी पाएकी थिइन्, प्रदीपले पनि शुरुदेखि नै ‘लोक दोहोरी कि रानी’ भनिने जेरीसँग खुत्रुक्कै पार्ने दोहोरी खेल्ने अवसर पाएका थिए ।

एकअर्काको साथले दुवैजनालाई उत्तिकै फाइदा पुगेको थियो । अहिले पनि कतिपय फ्यानले प्रदीपलाई सोध्ने गर्छन्, 'जेरी खोइ?'

कतिले त उनीहरुबीचको सम्बन्ध चिसिएको लख समेत काट्न भ्याएका थिए । तर, प्रदीप यसलाई नकार्दै भन्छन्, ‘टाइमिङ नमिलेको हो, मान्छे नमिलेको होइन ।’ मुस्कुराउँदै उनी थप्छन्, ‘अवसर जुट्यो भने आगामी दिनमा जेरी जीसँग पक्कै गाउनेछु ।’

जे होस् प्रदीपलाई गाउने ‘पार्टनर’ को कमी भने महसुस भएको छैन । अहिले उनलाई सरिता मगरले साथ दिइरहेकी छिन् । प्रायः कार्यक्रममा उनीहरु सँगै देखिन्छन् ।

सहयात्रा शुरु भएको डेढ वर्ष भयो । अहिलेसम्म दुईजनाको मनमुटाव वा झगडा नपरेको सरिता बताउँछिन् । ‘बरु हामी प्रेमीप्रेमिका हौं भन्ने हल्ला चलिरहन्छ’ भन्दै सरिताले सुनाइनसकी प्रदिप हाँस्दै थप्छन्, ‘अनि हामी सोझै नकार्छौं ।’ आफू असल मित्र मात्र भएको प्रदिपले बताए । सरिताले त्यसैमा ‘हो’ थपिन् ।

सानो कद भएकाले प्रदीप दोहोरी गाउँदा उनलाई ‘डल्ली’ भनेर जिस्काउँछन् । अनि, सरिता यसलाई मुस्कुराउँदै स्वीकार्छिन् । 

दुवै एउटै जिल्लाका हुन् । गाउँ पनि एउटै तर, स्कुल भिन्नै । दुवैले एक अर्कालाई देखेका थिए, चिनेका पनि थिए तर, बोलेका थिएनन् । 

काठमाडौं आएपछि मात्रै बोलचाल शुरु भएको सरिता बताउँछिन् । ‘म जुन रोधी घरमा गाउँथें उहाँ पनि त्यसैमा काम गर्न आउनुभयो’ सरिता अगाडि थप्छिन्,‘त्यसपछि हाम्रो चिनारी मित्रतामा बदलियो ।’ 

एउटै गाउँठाउँको भएकाले आफ्नो भाका र मन दुवै मिलेको उनीहरु बताउँछन् । आफ्नै मौलिक ‘काठे’ भाकामा गीत गाउन मन पराउने प्रदिप र सरिता हाम्रो अनुरोध स्वीकार्दै स्टुडियोमै दोहोरी खेल्न तम्सिए ।

प्रदिपको प्रहार : भनेका छन् सुन्नी, कस्तो मान्छन् कुन्नी, तिम्ले मैले गाएको

छैन केइमा खोटी, आज पहिलो चोटी लोकपथ टिभी आएको 

भनीहाल डल्ली केइ भए भन्ने बात, बोल्ने मौका दिनुभो धन्नेवाद

सरिताको रिप्लाइ : लोकपथतिर आको, मनमा खुसी भाको कता नजर लाका छौ

पिरतीले बेर्नी, उतैतिर हेर्नी एकोहोरो भाका छौ

राम्री देख्दा तिम्रो मन खा होला, कता जाम र के गरम् भा होला

जे-जस्तो माहोल छ त्यसैलाई विषय बनाएर गीत गाउनमा उनीहरु दुवै माहिर छन् । भन्छन्, ‘सानैदेखि लाइभ दोहोरी खेल्ने बानी भएकाले त्यस्तो गाह्रो हुँदैन । जस्तोसुकै विषयमा पनि ‘अन द स्पट’ दोहोरी गाउन सक्छौं ।’ 

दोहोरीलाई बुढ्यौली गीत भन्दै नाक खुम्चाउने पनि उनीहरुको गायन शैलीदेखि केही प्रभावित भएका छन् ।

‘गाउँबाट आउनासाथ दोहोरी साँझहरुमा गाइयो,’ उनी थप्छन्, ‘दर्शकले गाउँले आवाज भयो, हाम्रो स्टाइलसँग तेरो गाउने तरिका मिलेन भन्दै चिच्याउँथे ।’ कतिपटक माइक खोसेर स्टेजबाटै निकालिदिएको घटना पनि प्रदिपको मस्तिष्कमा ताजै छ ।

तिनै प्रशंसा गर्ने शुभचिन्तकको भीडमा ‘आइ लभ यू’ भन्ने पनि प्रशस्तै भएको प्रदिप बताउँछन् । उनीहरुलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्,‘आइ लभ यू भन्नेलाई म पनि आइ लभ यू टु भन्दिन्छु नि’ जोडले हाँस्दै उनी उल्टै प्रश्न गर्छन्,‘माया गर्नेलाई माया गर्नु गलत हो र ?’

सरिता चाहिँ ‘म तिमीलाई मन पराउँछु’ भन्नेलाई ‘तपाई पनि राम्रो हुनुहुन्छ’ भन्दै टारिदिन्छिन् । 

अहिले आफ्नो कामले केही चर्चा कमाएतापनि यति लोकप्रियता पर्याप्त नभएको प्रदिप बताउँछन् । तर, यो स्थानसम्म आइपुग्न पनि आफूले निकै संघर्ष गर्नुपरेको उनी सम्झिन्छन् ।

‘गाउँबाट आउनासाथ दोहोरी साँझहरुमा गाइयो,’ उनी थप्छन्, ‘दर्शकले गाउँले आवाज भयो, हाम्रो स्टाइलसँग तेरो गाउने तरिका मिलेन भन्दै चिच्याउँथे ।’ कतिपटक माइक खोसेर स्टेजबाटै निकालिदिएको घटना पनि प्रदिपको मस्तिष्कमा ताजै छ ।

यद्यपि आजभोलि उनले आफ्नो काममार्फत् केही फ्यान कमाएका छन् । तिनै माइक खोस्नेहरु अहिले टिकट किनेर उनको कार्यक्रम हेर्न आउँछन्, ‘वान्स मोर’ भन्दै उफ्रिन्छन् । यही सम्झेर उनको मन फुरुङ्ग हुन्छ । ‘आलोचक नै प्रशंसक भएका छन् । जीवनमा यो भन्दा बढी के चाहियो र !’ उनी टमक्क मिलेको दाँत देखाउँदै मुसुक्क मुस्कुराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?