त्यो यात्रा–४

भानु दाहाल-  बाहिर टलक्क  घाम चर्किएको  थियो । मन भित्रको बत्ति पनि उस्तै झलमल थियो । कारण थियो उनको आगमन । म होटलको लवीमा पटकपटक घडि हेर्दै उनलाई कुरिरहेको थिएँ । नौ बजे पताया आईपुग्छु भनेकी थिईन् । भर्खर आठ बज्दै छ । नेटवर्क हुनेभए ‘अहिले कहाँ आइपुग्यौ’ भन्दै एक दर्जन पटक कल गरिसक्थेँ होला । कुर्नु जस्तो गाह्रो काम दुनियाँमा अरु केही हुँदैन झै लाग्छ । 

जब कसैलाई कतै कुरेर बसिन्छ, त्यतिवेला घडिको सुईले पनि जिस्किएर नघुमि बसिरहे झै लाग्छ । अझ मन परेको केटीलाई प्रपोज गरेपछि जब ‘एकदुई दिनमा जवाफ दिन्छु’ भन्ने रिप्लाई आउँछ, त्यो दुईदिन कुर्नु भनेको त दुई शताब्दि कुर्नु बराबर हुन्छ । कुराई जे सुकैको होस् पिडादायी नै हुन्छ । म त्यस्तै हालतमा हाइ काड्दै, घडि हेर्दै उनी आउने बाटो कुर्दै थिएँ । 

मिन्टस्ले फ्याट्ट दिमागको बत्ती जलाएझै भयो । यो फुर्सदको समय बरु गुगल गरेर पतायाबाट घुम्न जाने टापुहरुको जानकारी डाउनलोड गरेर सदुपयोग गर्नुपर्यो भन्ने लाग्यो । सर्च गरेँ, गुगलले आधा दर्जन भन्दा बढी टापुहरु देखाईदियो । एउटा आईल्याण्ड घुम्न कम्तिमा एकदिन लाग्थ्यो । मसँग त्यहाँ दुईदिन मात्र बाँकी थियो । धेरैमा पुगे जम्मा दुई वटा । सबै भन्दा चर्चित को–लान आइल्याण्ड हो, पताया आईपुगेका पर्यटकको मुख्य गन्तव्य । त्यो त छुटाउने कुरै भएन । उनी आईपुगेपछि त्यहीँ जाने योजना बनाएँ । 

फेरी घडि हेरेँ, उनी आईपुग्न अझै आधा घण्टा बाँकी नै थियो । बरु एकछिन अगाडी अर्डर गरेको कफी भने अगाडीको टि–टेबलमा आईसकेको थियो । मलाई कफी पिउनु भन्दा कपबाट हर्रर उडिरहेको बाफ सुघ्न औधी मन पर्छ । नौ कक्षामा अप्सनल इङ्लिसको बुकमा एउटा कथा थियो । कथामा कफीको खुव चर्चा छ । त्यो पढेपछि मलाई कफी पिउँने रहर लाग्यो । त्यही रहरमा सुरु भएको कफी जव नारायाण वाग्लेलाई पढ्न थालियो त्यसपछि त अम्मली नै भईयो । यति सम्म कि नेपालगन्ज पुग्दा त्रिचालिस डिग्रिसेन्टिग्रेडको बोईलिङ् हटमा समेत तात्तातो कफी पिउन छोडिएन ।   

पल्लो सोफामा छिमेकी देश भारतका एक नवजोडी पनि छन् । भर्खरभर्खरै विहे गरेर हनिमुन मनाउँन आएका हुन् भनेर अनुमान लगाउँदा म गलत हुन्न थिएँ । रोमान्टिक मुडमा उनीहरु पनि कफी पिउँदै गफिरहेका थिए । मेरो आँखा मोवाईलतिर थियो, ध्यान चाँही उनीहरुकै गफतिर । उनीहरु पनि दिनभरको घुमघामको प्लान बनाउँदै थिए । केहिवेरपछिको हाम्रो गन्तव्य त्यहि टापु हुदै थियो । जुन जोडीहरुको लागी प्रख्यात टापु हो । झन् हनिमुन कपल, बाँकी भनिरहनु परेन ।

रमाईलो कुरा के रहेछ भने, कोही विनाजोडी पताया पुगेको छ भने पनि दुःखी हुनु नपर्ने रहेछ । त्यँहाबाट दिनभरीको लागि भाडामा पार्टनर लैजान पनि पाईने । मलाई पनि होटलले अफर गरेको थियो । धेरैबेर देखि एक्लै लवीमा बसिरहेको देखेर होला ‘पार्टनर चाहिएको हो ?’ भन्दै सोधेको थियो । मलाई आवश्यकता थिएन, मेरो पार्टनर आउँदै थिईन् । तर, त्यो ठाउँ अनुसारको उनी मेरो जोडी हुन् कि होईनन् भन्ने चाँही म आफै अनभिज्ञ थिएँ । जे होस्, मलाई उनी सँगै ठाँउ हेर्नु र घुम्नु थियो बाँकी तपसिलका कुरा । 

कालो सन ग्लासेस्, प्रिन्टेड ब्लु पातलो टप्स् र घुडा माथी सम्मको सर्ट् जिन्स्मा सानो सुट्केश डो¥याउँदै उनी टुप्लुक्क मेरो अगाडी आईपुगिन् । मैले जिस्काउँदै भनेँ– ओहो ! तिमी त आइल्याण्ड घुम्न जाने भनेर ‘कहो ना प्यार हे…’ गीतको अमिशा पटेल नै पो भएर आएछौ त ?

‘अनि के ‘टिपटिप बर्षा पानी…’ गीतमा रबिना टण्डनले जस्तो सारी लाएर आउनु पथ्र्यो त ?’ मिलाएर कोरिराखेको मेरो कपाल भाताङ्भुतुङ् पारिदिदै जिस्किदै जवाफ दिईन् । 

अमिशा पटेल र रबिना टण्डनको नाम लिएको सुनेर पल्लो सोफाको हनिमुन जोडी हामीतिर हेरेर मुस्कुराए । उनीहरुलाई हामी पनि इण्डियन नै हुन् भन्ने लाग्यो होला सायद । विदेशीहरुले झट्ट हेरेर त हामीलाई पनि इण्डियन नै भन्ठान्दा रहेछन् । कतिपयले त नेपाल भन्ने सुनेकै छैनन् । सुनेका कतिपयले इण्डियाको कुनै एउटा ठाउँ भन्ठान्दा रहेछन् । प्रोग्राममा भेट भएका धेरैलाई यसैमा स्पष्टीकरण नै दिनुपरेको थियो । बुद्ध र सगरमाथाको देश भनेर गर्व गर्ने हामीलाई अर्कै देशको नामले चिनिदिँदा भने पिडाबोध हुँदो रहेछ ।  

साढे नौ बजिसकेको थियो । रुममा उनको सुट्केश थन्काएर रिसेप्सनमा आयौँ । होटलले हामीलाई एकएक वटा टावेल, स्याम्पुको सानो पाकेट र सानै बट्टामा सन ब्लक क्रिम दियो । टावेल चाँही वेलुका फिर्ता ल्याईदिनु पर्ने शर्त थियो । हरायो भने एक हजार भाट फाईन तिनुपर्ने । रिसेप्सनिष्टले दोहोराएरै फाईन लाग्ने सम्झाई । 

टावेल लिदै उनलाई जिस्काएँ, ‘आज दिनभरी तिमीलाई भन्दा बढी ध्यान त यो टावेललाई दिनुपर्ने भो । तिमी हराए त केहि थिएन, यो हरायो भने त एक हजार भाट चुना लाग्छ ।’ 

‘मलाई त झन् अस्ति नेपालको एयरपोर्टमै जिम्मा लिएको होईन ? एयरलाईन्सको हाकिमको अगाडी केही भयो भने ‘म जिम्मेवारी लिन्छु'  भन्या छ । म हराएँ भने त नेपाल नै जान नपाईएला नी फेरी ।’ उनले हाँस्दै मलाई सचेत गराईन् । 

हामी बाहिर निस्केर पानीजहाजको पोर्टतिर लाग्यौँ । पोर्टबाट हामी जान लागेको को–लान टापु बाह्र किलोमिटर समुन्द्री दुरीमा थियो । त्यँहा जान दुईवटा विकल्प रहेछन् । ठुलो सार्वजनिक जहाजमा जाने भए प्रति व्यक्ति एक सय भाट तिर्न पथ्र्यो । आँफैले स्टिमर रिजर्भ गरेर जाने भए तिन हजार भाट । रिर्जभवाला स्टिमरले चाँही बेलुका पाँच बजे सम्म कुरेर लिएरै फर्किने रहेछ । हामीले स्टिमरमै जाने निधो गर्यौ । 

स्टिमरको काउन्टरमा उनले भाडामा लामै बार्गेनिङ गरिन् । उनले बार्गेनिङ गरेको म अलि वरै बसेर सुनिरहेको थिएँ । उनी बार्गेनिङ गर्न सिपालु लाग्यो । हुन त केटा मान्छे भन्दा केटी मान्छे नै यस्ता कुरामा माहिर हुन्छन् । त्यसैले होला लगभग हरेक घरमा शपिङको जिम्मा केटी मान्छेलाई नै हुन्छ । अन्ततः उनले एयरपोर्टमा मलाई जस्तै गलाई छाडिन् । स्टिमरले दुई हजार भाटमै लाने भयो । मैले बार्गेनिङ गरेको भए सय भाट घटाएनै खुसी मान्थेँ होला । उनले एक हजार भाट नै घटाईदिईन् ।  

स्टिमर चढ्यौँ । हेल्म (स्टिमर चलाउँने मान्छे) ले हामीलाई लाइफ ज्याकेट लगाउँन दियो । यदि केही भवितव्य परिनै हाल्यो भने यत्रो विशाल समुन्द्रमा जाबो त्यो ज्याकेटले कति नै बेर बचाउँन सक्थ्यो होला र ! डरले नै ज्यान जान्थ्यो । फेवा ताल जस्तो भए त परबाट देखेरै उद्धार गर्न आउँछन् र बाँचिएला भन्ने लाग्छ । यस्तो ठाउँमा तत्कालै बँचाउन हेलिकप्टर नै आउँनु पथ्र्यो, त्यो पनि तुरुन्तै थाहा भए त हो । खैर, हामीले जीवनको पहिलो समुन्द्र यात्रा सुरु ग¥यौँ ।

यात्रा आफ्नै रफ्तारमा थियो । निलो समुन्द्र शान्त देखिन्थ्यो । आँखाले भ्याउन्जेल सम्म पनि पानी भन्दा अरु केही देखिदैन । माथी हे¥यो निलो आकाश तल निलै समुन्द्र । कुनै वेला त अत्यास नै लाग्थ्यो । बेलाबेला मनमा यस्तो ठाउँमा केही भईहाल्यो भने भन्ने लागिहाल्ने । पुलुक्क उनलाई हेर्थेँ, उनी चाँही समुन्द्र भन्दा बढी मलाई नै हेरिरहेकी हुन्थिन् ।

मैले जिस्काउँदै भनेँ, ‘मलाई त नेपाल गएर जति हेरेपनि हुन्छ । यहाँ त समुन्द्र हेर न, इन्ज्वोइ गर ।’ 

‘समुन्द्र माथी तिमीलाई हेरे जस्तो नेपालमा कहाँ हुन्छ र !’ हावाले फर्रर उडाएको कपाल समाल्दै भनिन् । गफ सँगै यात्रा रोमान्चक महसुस गर्दै थियौँ । 

झट्ट दिमागमा सन् २०१२ को अमेरिकी फिल्म ‘लाईफ अफ पाई’ को दृष्यहरु आँखा अगाडी नाच्न थाले । फिल्ममा सोह्र बर्षिय हिरो उसको परिवार र बुवाको चिडियाखानाका केही जनवार सहित बसाई सरेर क्यानडा जान कार्गो पानीजहाजमा चडेको हुन्छ । एकदिन अचानक समुन्द्रमा समुन्द्रीक आँधी आउँछ । आँधीले उनीहरु चडेको पानीजहाज तहसनहस बनाउँछ । आँधीबाट बचाउँन जहाजको क्रुम्यानले हिरोलाई लाइफ बोटमा धकेली दिन्छ । 

आँधी मत्थर भएपछि बिउँझिदा उ एउटा सानो बोटमा त्यहि जहाजमा भएका एउटा जेब्रा, हाइना र बाघसँग समुन्द्रमा तैरिरहेको पाउँछ । उसको परिवार भएको जहाजसँग उसँग छट्टिसकेको हुन्छ । डुंगामा खाने कुरा केही हुदैन । भोक लाग्न थालेपछि बाघले जेब्रा, हाइना खाईदिन्छ । अव दिन रात डुंगामा हिरो र बाघ मात्र हुन्छन् । भोकको झोँकमा पटकपटक बाघले उसलाई पनि खाने कोसिस गर्छ । दुईसय सत्ताईस दिन सम्म अव के–के हुन्छ भन्ने फिल्ममा देखाईएको छ । 

हाम्रो सानो पानीजहाजमा लाइफ बोट त थिएन, थियो त लगाईराखेको त्यहि लाइफ ज्याकेट मात्र । अचानक त्यँहा पनि समुन्द्री आँधी आयो भने के होला भन्ने कल्पनमा समुन्द्र हेर्दै म निक्कैबेर टोलाएछु । उनले झक्झकाएपछि झल्यास्स भएँ । मेरो दिमागमा घुमिरहेको त्यो फिल्मको दृष्यहरु उनलाई पनि सम्झाईदिउँ कि जस्तो त लागेको थियो । तर, रमाईलो भईरहेको यात्रामा किन उनलाई डर देखाउँनु भन्ने सोँचे ।

एक घण्टामा हामी को–लान आईल्याण्ड पुग्यौँ । समुन्द्रको वीचमा स–साना रुख भएको, डुवाउनै लागे जस्तो देखिने एउटा सानो पहाड । त्यस्को फेदमा केही रिसोर्टहरु र अगाडी ठुलो घमाइलो समुन्द्रि तट । पर्यटकहरुको बाक्लो उपस्थिति थियो । कुनै रोमान्टिक बलिउड फिल्ममा देखिने समुन्द्रि तटको दृश्य जस्तो हुन्छ, त्यँहाको रियल दृश्य पनि त्यस्तै देखिन्थ्यो । हामी स्टिमरबाट बाहिर निस्किने वित्तिकै एक हुल काउब्वइ ह्याट लगाएका केटाहरुले घेरे । बालुवा माथी लहरै राखेको बेडहरु उनीहरुको व्यापार रहेछ । स्विमिङ् गर्दा थाकेपछि आराम गर्ने ठाउँ । एउटा बेड एकदिनभरी प्रयोग गरे बापत एक सय भाट तिर्नुपर्ने । उनीहरु आफ्नोमा लैजान तँछाडमछाड गर्दै थिए ।  

दुई सय भाट तिरेर दुईवटा बेड रिर्जभ गयौँ । जसको बेड हामीले लिएका थियौँ, उ दिनभर हरबखत हाम्रो सहयोगको लागी आवश्यक पर्ने वित्तिकै उपस्थित हुनुपर्ने नियम हुँदो रहेछ । पानी, कफी, वियर, स्न्याक्स् जे चाहिन्छ ल्याईदिने । अलिक पर एउटा ठुलो हलमा चेन्जिङ् रुमहरु थिए । उनी स्विमिङ् कस्टम लगाउन तिनै रुमतिर गईन् । मैले चाँही त्यहिँ कपडा खोलेर बक्सर लगाएँ । 

भर्खरका जोडी देखी उपल्लो उमेरका जोडी सम्म जलक्रिडामा मग्न भएको देखिन्थ्यो । कसैलाई कसैको मतलव नै थिएन, सवै आ–आफनै धुनमा मस्त । लाग्थ्यो मान्छेहरु बर्षौ देखी साँचेको रमाईलो आज एकैपटक पोख्दै छन्, कोही पानीमा, कोही बालुवामा । संसार भुलेर खुसीको उन्मादमा एकअर्कामा समाहित हुनु जस्तो मज्जा अरु के होला ! त्यस्तै उमंग त्यँहा देखिन्थ्यो ।  

 

उनी थोरै लजाउँदै स्विमिङ् कस्टममा आईन् । उनलाई पहिलो पटक भित्री बस्त्रमा देख्दै थिएँ । उनले म कस्ती देखिएँ भनेर सोधिनन् । सोधेको भए भनिदिन्थे– तिमी भन्दा पनि तिम्रा शरिरका अंगहरु झन् राम्रा देखिएका छन्, सेक्सी । उनलाई थाहा थियो मैले जिस्काउँछु भन्ने, त्यसैले सोध्ने चेष्टा नै गरिनन् । उनलाई त्यो रुपमा देखेपछि म भने रोकिन नै सकिन । आँफुतिर तान्दै अंगालोमा बेरेर अधर चुमिदिएँ ।

‘ह्या ठाउँ न कुठाउँ…’ मबाट फुत्किदै उनी पानीतिर दौडिन् । उनको पछिपछि म पनि । 

स्विमिङ् गर्न जान्ने जोडीहरु परपर सम्म पुगेर तैरिरहेको देखिन्थ्यो । टाउको बाहेक पुरै शरिर पानी भित्र । केही जोडीहरु त पानी भित्रै संसर्ग गरिरहेको समेत चाल पाईन्थ्यो । खुला परिवेशमा निलो समुन्द्र भित्रको त्यो आलिंगनको आनन्द उठाईरहेको महसुस देख्ने जो कोहीले गर्न सक्थ्यो ।

मान्छे अनेक रुपमा आनन्द लिन चाहन्छ । उनीहरु पनि त्यो सुन्दर क्षणको आनन्द उठाईरहेका थिए । हामी पनि एकअर्कालाई स्पर्श गरेरै जानी नजानी तैरिरहेकै थियौँ । बेलाबेला आउने छालले ठेलेर कहिले किनारतिर धकेल्थ्यो । कहिले तानेर अलि परै सम्म पु¥याउथ्यो । 

हामी पौडिन भन्दा बढी गफमा मस्त थियौँ । झण्डै एक घण्टापछि किनाराबाट त्यहि काउब्वई ह्याटवालाले इसाराले बोलायो । मैले दुईवटा क्यान वियर अर्डर गरेको थिएँ । उसले सिंगै फ्राईड माछा र वियर लिएर आएको रहेछ । किनारामा आधी जिउ पानीमा डुवाउँदै बसेर हामीले दोस्रो पटक चियर्स ग¥यौँ । 

‘यु साल्मा खाँ…’ (सलमान खान) पाखुरा पनि फुलाउँदै ह्याटवालाले थाई लवजमा मलाई जिस्कायो । उसले हामी इण्डियन हौँ भन्ठानेको रहेछ । मैले ‘नो, नो मि राजेश हमाल’ भनेँ । उसलाई राजेश हमाल भन्न पाँच चोटी सिकाएँ, भन्न सकेन । हामी नेपाली हौँ, हाम्रो देश नेपाल हो । 

उसलाई नेपाल भन्ने देश छ भन्ने थाहा नै थिएन । पन्चानब्बे प्रतिशत जनसंख्याले बुद्ध धर्म मान्ने देशमा बुद्ध जन्मिएको देशकै नाम थाहा थिएन । मैले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर उसलाई कन्भिन्स गराएँ, माउन्ट एभरेष्ट पनि नेपालमै छ भनेँ । त्यसपछि भने उसको हामी प्रतिको हेराई नै बदलियो । रुखो ब्यवहारका कारण थाई नागरिकले इण्डियन पर्यटकलाई खासै मन नपराउँने रहेछन् । 

को–लान आईल्याण्डमा मनोरन्जन गर्ने अण्डर सि वाकिङ्, प्यारासेलिङ्, बनाना बोटिङ्, जेट स्कि लगायत थुप्रै सुबिधाहरु थिए । मलाई जेट स्कि (समुन्द्रमा कुदाउँने, बाईक जस्तै) ड्राइभ गर्न खुव रहर लागिरहेको थियो । एक घण्टा समुन्द्रमा राउण्ड लगाएर आएको छ सय भाट चार्ज रहेछ । उनलाई पछाडी राखेर समुन्द्रमा घुमाउने रहर थियो । तर, उनी डराईन्, मलाई पनि गर्न दिईनन् । 

बेलुकाको पाँच बज्यो, फर्किने बेला भएको थियो । हाम्रो रिजर्भ स्टिमरको क्याप्टेन बोलाउन आयो । उनले मलाई ठुलो पानीजहाजमा यात्रा गर्ने रहर बाँकी रहेको सुनाएकी थिईन् । स्टिमरलाई पठाईदिएर झण्डै पाँच सय यात्रु बोकेको पानीजहाज चडेर हामी पताया फक्र्यौँ । पतायाको पोर्टमा आईपुग्दा साँझ परिसकेको थियो । 

साँझ परेसँगै पताया धपक्कै बलिसकेको थियो । सडकको दुवैतिर कि रेष्टुरेन्ट, कि मसाज सेन्टर देखिन्छ । एउटै मसाज ड्रेस लगाएका गोरी युवतीहरु मसाज गरिरहेको सडकबाटै देखिने । कोही भने पर्चा बोकेर बाटोमै ‘मसाज सर मसाज, मसाज म्याम मसाज’ भन्दै बाटो छेकिरहेका हुन्छन् । 

मलाई पनि मसाज गराउन मन लागेको थियो । उनलाई सुनाएँ, केही नबोली आँखा तरिन् । अव मसाज गर्न पाईएला जस्तो लागेन ।  

तैपनि मानिहाल्छिन् कि भन्ने आशले भनेँ, ‘तिमी होटल जाँदै गर, म मसाज गरेर एकछिनमा आउँछु है !’

उनले मतिर नहेरी भनिन्, ‘हुन्छ, फेरी मेरो अनुहार हेर्न मन छैन भने जँहा गए नी हुन्छ जे गरे नी हुन्छ ।’   

क्रमश…

कथाको पहिलो,दोस्रो र तेस्रो भाग छुटाउनुभएको थियो ? तलको लिंकमा क्लिक गर्नुहोस् । 

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको अर्को श्रृङ्खला अर्को साता  WWW. LOKPATH.COM  प्रकाशन हुनेछ ।)  लोकपथ  डट कम लाईक कमेन्ट सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।)
दाहालद्वारा लिखित कविता : 

(प्रतिकात्मक सबै तस्विर गुगलबाट )​ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?