काठमाडौँ, १४ मङ्सिर- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (क्षेत्र नं ५) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे । ‘कम्युनिस्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने’ दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन् । सिटौलाजस्तै अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरूको अनुपस्थितिलाई लिएर यतिबेला अनेक कोणबाट चर्चा चलिरहेको छ सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढाउन चाहँदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रामक देखिन्छन् ‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) शीर्षस्थ नेतृत्व सहभागी गृहजिल्लाकै कार्यक्रममा समेत नगएका हुन्,’ कांग्रेसका एक नेताले भने । उक्त कार्यक्रममा कांग्रेस नेतृत्वले एमाले अध्यक्ष ओली र वाम गठबन्धनप्रति चर्को विरोधमा अभिव्यक्ति दिएको थियो वाम गठबन्धनविरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्योभन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् २०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङ्देनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको १ नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीको निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले जसरी पनि आफू चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ सँग जोडेर हेरिएको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया