…त्यो यात्रा–५

भानू दाहाल – कोठा निस्तब्ध थियो ।

सेतो तन्ना ओछ्याएको दुई कुनाका दुईवटा चिटिक्क सफा बेडहरु हामीलाई पर्खिरहेका थिए ।

पताया आईपुगेदेखी त्यो कोठामा मैल तिन रात विताईसकेको थिएँ । अव चौथो रात उनी पनि थपिएकी छिन् । उनको आगमनले त्यो कोठाको रौनक नै एकाएक फेरिएको छ । नयाँ दुलही घर भित्रिए झै । कोठाको ठिक अगाडी बरण्डा छ, जँहा दुईवटा सेता कुर्सीहरु र एउटा टि–टेबल राखिएको छ । बरण्डाबाट छर्लगैँ समुन्द्र देखिन्छ । हुन त पर्दा खोल्दा बेडबाटै पनि न देखिने होईन । होटल नै लगभग समुन्द्र माथी छ । 

दिनभरीको स्विमिङ्को थकाईले लखतरान हुँदै हामी कोठा भित्र छि-यौँ । फ्रिजबाट उनले दुईवटा इनर्जी ड्रिंस निकालिन् । सानो फ्रिजमा हार्ड ड्रिंस देखी सफ्ट ड्रिंस सम्म राखिएको छ । टेबलमा कफी बनाउँन आवश्यक सबै सामान पनि राखिदिएको छ । आफुलाई जतिबेला जे मन लागेको छ त्यो पिउन पाउने सुबिधा छ ।    
हामी इनर्जी ड्रिंसको क्यान हातमा लिदै बरण्डामा निस्क्यौँ । झमक्क साँझ परिसकेको छ । समुन्द्रमा जुन पोखिएको छ । लाग्थ्यो समुन्द्र मुनीबाट जुन झुल्किरहेको छ । किनाराका गगनचुम्बी होटलहरुको रङ्गिबिरङ्गी बत्ति पनि समुन्द्र मुनी नै देखिन्छ । झलल उज्यालो छरेर गन्तव्य भेट्न दौडिरहेका कयौँ पानीजहाजको चहलपहलले समुन्द्र झन् मनमोहक देखिन्छ । 
होटलको बाउन्न तलाको एक बरण्डाबाट उनी र म त्यो रंगिन समुन्द्र नियाली रहेका छौँ ।  

सधै हतारमा दौडिरहने हाम्रा नदीनालाहरु पनि त्यहाँ पुगेर थकाई मारिरहेका छन् कि झै लाग्थ्यो । रक्सिको नशामा ओरालो हिडेको मान्छे जस्तै हालतमा बग्ने घर छेउको मोलुङ खोला पनि त्यहिँ पुगेर सुस्ताईरहेको छ कि झै लाग्यो । गर्मीयामका कयौँ दिनहरु क्लास बंक गरेरै आधा घण्टा सिम्लेको ओरालो खुरुरु झरेर मोलुङ खोलामा डुबुल्कि मारेको यादहरु मेरो आँखा अगाडी नाच्न थाले ।
एकदिन पौडी खेल्दाखेल्दै मैले लगाई राखेको जनै थाहै नपाई खोलाले बगाइसकेछ । पानीमा छप्ल्याङछुप्लुङ गरेर खोजेँ, भेटिएन । सबै साथीहरु लागेर बगरै बगर तल सम्म आईपुगेर पनि खोज्यौँ, भेटिएन । ब्रतबन्ध गरेको भर्खरै छ महिना बितेको थियो । 

ब्रतबन्धको दिन मन्त्र सुनाउने गुरुले जनै कहिले पनि जिउबाट निकाल्नु हुदैन भनेर अर्ति दिएका थिए । केहीगरी निस्कियो भने फेरी ब्रतबन्ध गर्नुपर्छ भनिएको थियो । बाह्र बर्षे फुच्चेको दिमागमा कुनैपनि हालतमा जिउबाट जनै निस्किनु नहुने रहेछ भन्ने इम्प्रेसन परेको थियो । 

तर, जनै त हराईसक्यो । अब बर्बाद भयो भन्ने लाग्यो । डरले हातगोडा लल्याकलुलुक भए । जोडजोडले धड्की रहेको मुटु फुत्तै बाहिर निस्केलाझै भयो । ठुलै अपराध गरेको महसुस भयो ।   
हत्तपत्त नरिसाउने तर रिसाएपछि सामना गर्न नसकिने बुवाको अनुहार सम्झिएँ । अस्ति भर्खर त्यस्तो तामझामले गरेको ब्रतबन्ध फेरी गर्नुप¥यो भने त मलाई घरबाटै निकालिदिन्छन् । घरमा अब के भन्ने होला भनेर सातो उड्यो । नभनौ भने, जिउबाट जनै निस्कियो भने पाप लाग्छ, जात जान्छ भनेको छ । भनौँ  घरको डर, नभनौँ पाप लाग्ने डर । म ठुलो संकटमा परेँ । अब मलाई घर फर्किन आँट नै आएन । के गरौँ के को स्थितीमा हामी एकअर्कामा ट्वाल्ल परेर हेरिरहेका थियौँ । एक जना चल्तापुर्जा पण्डितको नाती पनि हामी सँगै थियो । उ हाम्रो ग्याङको उटपट्याङ् आईडिया मास्टर पनि हो । कति पटक उसकै आईडियामा उपद्रो गर्दा बाघे झापु पनि भेटिन्थ्यो । उसैले झट्ट एउटा आईडिया सुनायो । ‘केटा हो ! यसको जनै हराएको कुरा कसैलाई नभन्ने । म भरे हजुरबुवाको कोटको खल्तीबाट सुटुक्क जनै चोरेर ल्याउँछु । राती धारामा गायत्री मन्त्र पढेर जनै लगाउनु पर्छ । त्यसो गरेपछि पाप लाग्दैन ।’
पण्डितको नाती न प-यो । कताबाट हुन्छ कुरो मिलाईहाल्थ्यो । सबै केटाहरुले उसको जुक्ति ठिक हो भने । तर, मेरो मनमा त अव मलाई पाप लागिसक्यो भन्ने परेको थियो । उसको आईडिया त ठिकै थियो तर पाप नलाग्ने भन्ने कुरामा मलाई विश्वास लागेन । अरु केटाहरु उसको जुक्तिमा मलाई कन्भिन्स् गराउन लागिपरे ।  यता मलाई भने आँफुलाई परेको समस्यामा साथीहरुलाई पनि मुछ्ने आईडिया फु-यो । मैले प्रस्ताव गरेँ, ‘हामी सबै सँगै पौडी खेल्न आएका हौँ । पाप लाग्छ भने पनि हामी सबैलाई लाग्नुपर्छ । तिमीहरुको जनै पनि खोलामा फालौँ । भरे सँगै नयाँ जनै लाउँला ।’ सबै जनाले त्यसो ग-यो भने पाप लाग्दैन भन्ने मलाई लागेछ ।उनीहरु अकमक्क परे । मुखामुख गरे । नमानौ त साथी रिसाउने डर मानौ त उनीहरुलाई पनि पाप लाग्ने डर । आखिर मेरो लागि चारै जनाले जनै खोलेर खोलामा फ्याँकिदिए । बेलुका भेला भएर उसले चोरेर ल्याएको जनै गायत्री मन्त्र पढेर सँगै लगायौँ । हामीलाई पाप लाग्यो कि लागेन त्यो चाँही अहिले सम्म पनि थाहा छैन । 
त्यतिबेला बगाएको ति पाँचवटा जनै यतै कतै समुन्द्रमा अल्झिरहेको पो छ कि भन्ने सम्झेर म फिस्स मुस्कुराएँ । उनले म अघि देखी समुन्द्र हेर्दै स्मृतिमा हराईरहेको विचार गरिरहेकी रहिछिन् । म मुस्कुराएको देखेर झक्झकाउँदै भनिन्, ‘के एक्लै कुरा सम्झिदै हाँस्या होला ! मेरो पनि यहाँ उपस्थिति छ त महोदय ।’

‘स्कुल पढ्दा खोलाले बगाएको जनै यहाँ समुन्द्रमा आईपुगेको रैछ । उ पानी मुनी हेर त टल्किरा’छ । उनलाई आफ्नो नजिकतिर तान्दै जिस्किँदै भनेँ । 
‘ह्या ! जेपीटि ।’ मेरो पाखुरामा चिमोट्दै उनले भनिन् । 

रातको आठ बजिसकेको थियो । हामी डिनरको लागी होटलबाट बाहिर निस्क्यौँ । पतायामा समुन्द्रमाथी नै स्ट्क्चर बनाएर किनारामा खुलेका कयौँ रेष्टुरेन्टहरु छन् । समुन्द्रको पानीमा खुट्टा डुवाउँदै डिनर गर्न सकिने ‘मुनलाईट बिच डाइनिङ रेष्टुरेन्ट’ हाम्रो रोजाईमा प¥यो । जहाँ गएपनि एक थाल भात नदबाए सम्म चित्त नबुझ्ने मेरो बानी छँदैछ । तर, त्यँहा दालभातको लागी इण्डियन रेष्टुरेन्ट नै खोज्नु पथ्र्यो । इण्डियन रेष्टुरेन्टमा पनि हाम्रो जस्तो स्वाद भएको खाना पाइने चाहीँ होईन ।   

खाने मामलामा उनलाई खासै मतलब थिएन, जे भएनि चल्ने । अर्डर लिन उभिरहेको वेटरलाई उनले साल्ट क्रस्टेड ग्रिल्ड फिस र थाई स्टायल फ्राइड नुडल्स मगाइन् । मैले चिकेन विथ स्टिकी राईस मगाएँ । 

प्लेटमा ग्रिल्ड चिकेन, स्विट सस् लगायत सँग कचौरामा अलिकती राईस थियो । दालसँग नेपाली स्टाईलमा मुछेर खाने हो भने जम्मा दुई गाँस हुन्थ्यो होला । राईस त नाम मात्रको थियो भन्दा पनि हुन्छ । त्यति थोरै भात देखेर हामी हाँस्यौँ । 

‘दशैँको जसरी तिम्रो निधारभरि टिका लाईदिने हो भने यो भात सकिन्छ । के पेट भरिएला !’ मैले ठट्टा गरेँ । 
डिनरपछि साढे दश बजे हामी होटल फक्र्यौँ । 

हाम्रो त्यो पहिलो रात थियो । हुन त चिनजान भएकै जम्मा पाँच दिन मात्र हुँदैछ । काठमाण्डौ एयरपोर्टमा त्यो संयोगले भएको एउटा भेट यतिबेला पतायाको गगनचुम्बी होटलको बाउन्न तलाको एउटा बन्द कोठामा आईपुगेको छ । रात ढल्कदै छ । केहीबेरमा हाम्रो सयन सायद एउटै बेडमा हुनेछ । यतिबेला उनको मनमा के चल्दै होला त्यो म अनुमान पनि लगाउँन सक्दिन । मेरो मनमा भने बेतोडले विचारको हुण्डरी चलेको छ । 
फेरी हामी बरण्डामै निस्क्यौँ । मैले स्ट्रङ् ब्ल्याक कफी मगाएँ । हुन त रुममै कफी बनाउन आवश्यक सवै चिज थियो । फ्रिजमै वियर पनि थियो । त्यतिबेला वियर पिउन भने उनको इजाजत थिएन । 

कुर्सी अगाडीको टि–टेवलमा तातो कफीको बाफ नागबेली बन्दै उडीरहेको छ । बास बस्न लागेको समुन्द्र शान्त देखिन्छ । निदाउन लागेको आकाश पनि लोलाएको छ । रात छिप्पिदो छ । एकअर्काको न्यानोपनमा हामी कतै कल्पनामा हराएका छौँ । 

बेलाबेला आँखाहरु बोल्छन् । शब्दमा व्यक्त नगरेपनि केहीबेरपछि हामी पहिलो पटक एउटै ओच्छ्यान शेयर गर्दै छौँ भन्ने महसुस हामी दुवैमा थियो । एकातिर रोमान्चकताको मिठो कल्पना थियो भने अर्को तर्फ डर पनि उत्तिकै लागिरहेको थियो ।

हामी एकअर्कामा समाहित छौँ । मुटुको चाल नै सुनिने खालको शान्ति छ । मेरो छातीमा लपक्कै टाँसिएकी उनी कतै कल्पनामा हराएकी छन् । म उनको कपाल सुमसुमाउँदै उस्तै हालमा छु । स्पर्शमा न्यानोपन छ । हामी सुस्तरी बेहोसीको सागरमा डुबुल्की मार्दै छौँ । समय पनि टक्क रोकिएझै लाग्छ । संसार विर्सिएर कतै शुन्यतामा हराउँनुको पनि अर्कै मजा छ ।   
यौवनको बासनाले आकर्षित गरिरहेकै छ । जोडजोडले धड्की रहेको हृदयको धड्कनले उसको भाषा बोलिरहेकै छ । अकस्मात आगो जस्तो तातो चुम्बनमा हामी एकअर्कामा लिप्त हुन्छौँ । डरले काँपीरहेका मेरा हात उनको छातीमा सल्बलाउन थाल्छ । उनले विस्तारै कसिलो सँग गलामा बेरिदिन्छिन् । आलिंगनमा बेरिएर यौवनको स्वाद लिनु जस्तो मीठो कुरा संसारमा अरु के हुन सक्छ र ?  
निक्कैबेरको मौनता तोड्दै उनले विस्तारै भनिन्, ‘छोडिस्यो अब सुत्छु ।’ 

आधा रातमा हामी बरण्डाबाट कोठा भित्र छि¥यौँ । उनी नाईट डे«स लगाउँन बाथरुम पसिन् । त्यहि मौकामा फ्रिजबाट निकालेर एउटा क्यान वियर खोलेँ । उनको अघिनै वियर नखानु भन्ने आदेश छदै थियो । यो पटक उनीसँग चिर्यस नगरी उनी बाथरुमबाट निस्कनु भन्दा अगाडी नै पिई सक्काएँ । बिरालोले दही चोरेर खाए जस्तै महसुस भएको थियो आफैलाई । 
उनी शरिरका गोप्य अंगहरुको सेप नै देखिने मादक नाइटीमा बेडमा आईन् । फरर फुकेको कपाल, लोलाएका आँखा, उच्च छाती, गोरो पिडौला, सुडौल शरिरमा भर्भराउँदो उनको जवानीले म कायल थिएँ । 
‘हजुर त्यो बेडमा सुतिस्यो’, अर्को खाली बेड देखाउँदै उनले भनिन् । 

‘सँगै नसुत्ने ?’ मैले आश्चर्य मान्दै सोधेँ । 

उनले मुस्कुराउँदै भनिन्, ‘बिहे अगाडी नो सेक्स ।’ 

‘ओके ।’ मैले सहज जवाफ दिएँ । 

सहज जवाफ दिनुको विकल्प पनि थिएन । उनको शरिर उनको अधिकार । उनको शरिर माथी मैले अधिकार खोज्नुपर्ने कुनै ठाँउ थिएन । हामी लोग्ने स्वास्नी त टाढाको कुरा प्रेमिप्रेमीका समेत थिएनौ । के प्रेम विना एकअर्कामा चुम्बन हुन, शरिरका अंगहरु स्पर्श गर्न सम्भव थियो त ? व्यवहारमा देखिने तर अव्यक्त प्रेम त थियो, सायद त्यसैको परिणाम त्यो हद सम्म हुन सक्थ्यो । अझ यसरी पनि सोच्न सकिन्थ्यो कि हाम्रो प्रेम अंकुराउँदै थियो त्यो हर्कतमा पुग्नु हतार हुन सक्थ्यो । 

डिम लाईट अन गरेर म अर्को विस्तारामा पल्टिएँ । उनी जुरुक्क उठेर आईन् । मेरो निधारमा किस गर्दै भनिन्, ‘गुडनाईट राजा ।’ अनि फर्किएर आफ्नै ओच्छ्यानमा गईन् । मैले पनि भनेँ– गुडनाईट बेबी !

अर्को देश । विशाल समुन्द्र किनारको भव्य होटल । लक्जरियस् बन्द रुम । मध्ये रातमा एकजोडी युवकयुवती । तर, ओच्छ्यान फरक । विरलै हुन सक्ने घटना मध्येको एक थियो त्यो । मेरो पुरुष मन न हो, त्यसै शान्त हुनेवाला पटक्कै थिएन । उश्रृंङ्खल मनलाई नियन्त्रण गर्न दिमागलाई हम्मेहम्मे थियो ।

म मनमा अनेक कुरा खेलाउँदै पटकपटक कोल्टे फेर्दै थिएँ । उनी पनि लामो सुस्केरा हाल्दै उसैगरी कोल्टे फेर्दै थिईन् । बर्षा याममा ठुलो बाढी आएको खोलाको वारीपारि प्रेमीप्रेमीका तड्पिए जस्तै लाग्थ्यो । आँखाले देखिन्थ्यो तर स्पर्श गर्न सम्भव थिएन । 

‘हनिमुन मनाउँन विदेश आएको जोडी बेग्लै होटलमा बसेको पनि देख्न पाईयो ।’ तिन दिन अगाडी एयरपोर्टबाट उनलाई बैंकक पठाएर पताया आउँदै गर्दा मलाई जिस्काउँदै एकजना दाईले भन्नुभएको यो कुरा सम्झिएँ ।

‘बेग्लै होटल त धेरै परको कुरा । एउटै होटलको एउटै बन्द कोठामा पनि हामी छुट्टाछुट्टै बेडमा छौँ दाई !’ मैले त्यो दाईलाई सम्झिदै मनमनै भनेँ । हुन त हामी हनिमुन मनाउँन आएका पनि थिएनौँ र जोडी पनि होईनौँ । 

उनी मेरै निम्ति बैंकक देखी पताया सम्म आएकी थिईन भने म आफु सँग आएका साथीहरु छोडेर उनकै निम्ति बसेको थिएँ । हाम्रो मन मिलेको थियो । विचार पनि मिलेको थियो । विश्वास थियो । अंकुराउँदै गरेको प्रेमको आभाष पनि थियो । कसैले मुखै खोलेर ‘म तिमीलाई प्रेम गर्छु’ नभने पनि छोटो समयको व्यवहारमा त त्यो देखिएकै थियो ।

मनमा अनेक कुरा खेलाउँदा खेलाउँदै कतिबेला निदाएछु पत्तै भएन । विहान कफी रेडी गरेर उनले बिउँझाईदिँदा घाम निक्कै माथी पुगिसकेको थियो । उनी नुवाईधुवाई गरिवरि फ्रेस भईसकेकी थिइन् । तर उनको आँखाले उनी रातभर निदाएकी छैनन् भन्ने चाँही बोलिरहेकै थिए । 

दिउँसो कोह–सक आईल्याण्ड, मिलियन इयर्स स्टोन पार्क र क्रोकोडायल  फार्म घुमेर साँझ बैंकक पुग्ने प्लान गरेका थियौँ । मेरो थाईल्याण्ड घुमघामको व्यवस्थापन गर्ने थाई नागरिक थोमले बेलुका पाँच बजे लिन आउने जानकारी गराएका थिए । दश बजे अघिनै रुमबाट चेक–आउट गराएर, सुटकेस लबीमा थन्काएर हामी दिनभर घुम्न निस्किएका थियौँ । 

पताया घुमघामको रोमान्चक स्मृति मानसपटलमा कैद गरेर बेलुका पाँच बजे हामी बैंककतर्फ लाग्यौँ । हिड्नेबेला उनले होटलको फोटो खिचिन् । विहान रुमको पनि खिचेको रहेछ ।

क्यामेरामा फोटो देखाउँदै भनिन्, ‘हेरिस्यो ! हामीले पहिलो रात विताएको रुम ।’

मैले जिस्काउँदै भनेँ– अँ… भेजिटेरियन रात बिताएको रुम । 
 

क्रमश… 

(तस्वीर गुगलबाट )

कथाको पहिलो,दोस्रो , तेस्रो र चौथो भाग छुटाउनुभएको थियो ? तलको लिंकमा क्लिक गर्नुहोस् । 

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको अर्को श्रृङ्खला अर्को साता  WWW. LOKPATH.COM  प्रकाशन हुनेछ ।)  लोकपथ  डट कम लाईक कमेन्ट सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।)
दाहालद्वारा लिखित कविता : 

 

 
  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?