काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आकस्मिक बैठक बोलाएको छ ।
जिल्ला अदालत कैलालीले बुधवार रेशम चौधरीलाई टिकापुर घटनाको दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि राजपा नेपालले आपत्ति जनाएको छ ।
बैठक पार्टी कार्यालय बबरमहलमा बस्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए । बैठकमा रेशम चौधरीबारे छलफल हुने सदस्य महतले जानकारी दिए ।
यसैगरी आज दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद प्रमोद साहले अदालतको फैसलाप्रति आपत्ति जनाएका हुन् ।
सांसद साहले भने, ‘माननीय रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएको छ । राजनीतिक व्यक्ति र राजनीति मुद्दामा हुनु पर्ने त्यो व्यवहार भएन । यसप्रति घोर आपत्ति जनाउँछु ।’
पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए ।
यसैगरी जिल्ला अदालतले कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय सुनाएसँगै चौधरीको सांसद पद खारेज हुने भएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’
टिकापुर घटनामा मुख्य अभियुक्तको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको समथ खुवाएका थिए ।
फरार रहेकै अवस्थमा राजपाबाट चुनाव लडेका चौधरीले कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले बारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर, सर्वोच्चले उनको रिट खारेज गरेको थियो । सार्वेच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया