…त्यो यात्रा–६

घना जंगलको बीचमा लमतन्न सुतेको फराकिलो राजमार्ग । त्यसमाथीको तुफान यात्रा । झन्झन् रातको अध्यारो थपिदै छ । सडकको उज्यालो बाहेक सबैतिर अन्धकार छ । निष्सपट्ट अध्यारोमा जुनकिरी देखिए जस्तो कता कतै अलि टाढा पिलिक्क बत्ति बलेको देखिन्छ । ड्राईभरले मधुरो भोल्युममा थाई गित बजाएका छन् । हामी दुईजना पछाडीको सिटमा मस्त गफिएका छौँ । पताया देखी बैंकक सम्मको झण्डै तिन घण्टा लामो यात्रामा छौँ ।

सुर्वणभुमी अन्तराष्ट्रिय विमानस्थल पार गरेर आधा घण्टा पश्चिमतिर लागेपछि टाढैबाट बैंकक सहरको बैभव देखिन थाल्छ । रातमा चम्किएका गगनचुम्बी भवनहरु आर्कषक देखिन्छन् । जुनै सहरको पनि बाहिरबाट झट्ट हेर्दा भव्य भवन र सडकले नै विकासको मापन गर्ने हो । यस मानेमा बैंकक सहर पनि कम देखिदैन । जापान सँगको साझेदारीमा थाईल्याण्डले यातायात विकासमा पनि ठुलो फड्को मारिसकेको छ । त्यँहा पुग्ने जो कोहीले त्यो अनुभव गर्न सक्छन् ।

उनलाई उनकै होटलमा ड्रप गरेर म पुग्दा रातको साढे आठ बजिसकेको थियो । ड्राईभरले मेरो सुटकेस लवीमा पु¥याईदिएर फर्किन विदा मागे । उनलाई रित्तै हात फर्काउन मन लागेन, एकसय भाट झिकेर टिप्स दिएँ । उनी यति खुशी भए कि टाउको निहुराएर तिन पटक सम्म नमस्कार गरे । जाबो सय रुपैयाँ टिप्समा पनि त्यत्रो खुशी भएर सम्मान दिएको देख्दा अचम्म लाग्यो । पैसा प्रति उनीहरुले गर्ने इज्जत थियो होला त्यो सायद ।

होटल भित्र छिर्ने वित्तिकै ढोका छेउमै राखिएको मान्छे जत्रो सुनौलो बुद्धको मुर्तिले हात जोडेर स्वागत गरिरहेको थियो । नेपालमा सधै दुईहात काखमा राखेर आँखा चिम्लिएर ध्यानमा बस्ने बुद्ध, त्यँहा भने आँखा खोलेर व्यापार गरिरहेका रहेछन् । पहिलो पटक बुद्धको आँखा देखेझै लाग्यो । अलि पर डेस्क सर्भिसमा गोरी थाई युवती चम्किरहेकी थिईन् । नजिकै गएर सोध्न मन थियो, ‘बुद्ध कँहा जन्मिएका हुन्, तिमीलाई थाहा छ ?’ उनको जवाफ नेपाल पक्कै हुदैन थियो होला । तर मैले सोधिन ।
डेस्क नजिकै पुगेपछि उनै गोरीले स्वागत गर्दै मेरो पासपोर्ट मागिन् । म बुकिङ अनुसारको मान्छे हो कि होईन भन्ने भेरिफाई गर्नु थियो उनलाई । गोजीतिर छामछुम गरेँ, थिएन । सुटकेसमा हेरेँ, त्यँहा पनि थिएन । झल्यास्स सम्झेँ, पासपोर्ट त अस्ति पतायामा होटलरुमको ड्रवेरमा राखेको थिएँ । ला ! त्यँहि छुट्यो ।

रुम छोड्नेबेलमा ढोका सम्म पुगेर केहि छुट्यो कि भनेर फर्किएर पनि चेक गरेको थिएँ । तर ड्रवेरमा पासपोर्ट राखेको छु भन्ने चाँही भुसुक्कै विर्सेछु । रातको समय छ । त्यति लामो यात्राबाट भर्खरै आईपुगेका छु । फेरी फर्किएर लिन जान सम्भव थिएन । यता विना पासपोर्ट होटलले इन्ट्रि दिन मानेन । एकातिर पासपोर्ट हरायो कि भन्ने डर, अर्कोतिर बास नै बस्न नपाईएला कि भन्ने सुर्ता । एकाएक तनावको पारो चढ्यो ।

विदेशमा पासपोर्ट हराउँनु भनेको शणनार्थी हुनु हो । मलाई ठुलो डर चाँही त्यो रुममा बस्न आउँने मान्छेले भेटेर कतै मिसयुज पो गरिदिन्छन् कि भन्ने थियो । अर्काको पासपोर्ट चोरेर अपराधिक क्रियाकलाप गर्ने ठाउँ हो थाईल्याण्ड । झन् ड्रवेरमा ट्याक्क पासपोर्ट भेट्टाउनु त चिठ्ठा पर्नु जस्तै हो । कतै त्यस्तै मान्छेको फेला परेको रहेछ भने ठुलै झमेलामा फस्ने निश्चित थियो । अझ दुःखको कुरा त विना पासपोर्ट सजिलै नेपाल फर्किन पनि पाईदैन थियो । दुईदिन पछिको नेपाल फर्किने टिकट थियो ।

अत्यास लागेकै बेला झट्ट दिमागमा बैंककमा नेपाली दुतावास छ नी भन्ने सन्देशको हरियोे बत्ति बल्यो । मनमा थोरै भएपनि आसाको किरण झुल्कियो । दुतावासले ट्राभल डकुमेन्ट बनाएरै भएपनि नेपाल त पठाईदिईहाल्छ नी ! आँफैले आँफैलाई शान्तवना दिएँ । ह्या ! कहाँसम्म सोच्न पुगिसकेको होला ! पासपोर्ट फेला पर्दैन भन्ने पक्कापक्की भैसकेको त छैन नी । कति चाडै दुनिँया कुरा सोचिसक्नु प¥या होला ! आँफैले आँफैलाई सम्झाएँ ।

तर, दिमाग न हो सोच्ने काम किन छोड्थ्यो र ! फेरी मनमनै भनेँ– होटलले नै भेट्यो भने त राखिदिन्छ । रुम सफा गर्ने स्टाफले भेटेर काउन्टरमा बुझाईदिएको पनि त हुन सक्छ । बरु जति सक्यो चाँडो होटलमा जानकारी गराउँनु पर्छ ।

मसँग त्यो होटलको फोन नम्बर त थियो तर नेपालको सिमवाला मेरो मोवाईलबाट कल गर्न मिल्ने कुरै थिएन । होटलको नाम र रुम नम्बर दिएर मेरो अनुहारमा ट्वाल्ल परेर हेरिरहेकी उहि गोरीलाई कुरा गर्न लगाएँ । धन्न पासपोर्ट होटलले राखिदिएको रहेछ । तर, पताया देखी आजै पासपोर्ट बैंकक आईपुग्न भने सम्भव थिएन । विना पासपोर्ट इन्ट्रि दिन उ अझै पनि अन्कनाई रहेकी थिई ।

अगाडीको सोफा देखाउँदै मलाई वेटिङमा बस्न भनी । सायद उ आँफु भन्दा माथीको कसैलाई सोध्न चाहन्थी । मलाई सोफातिर पठाएर उ फोन घुमाउनतिर व्यस्त भई । बेलाबेला मतिर हेर्दै उसकै काँलाङकुलुङ भाषामा कुरा गर्दै छ । म अनुमान लगाउँछु– उ मेरै बारेमा कुरा गर्दै छ । कम्तिमा आजलाई केही उपाय निस्केला भन्ने आसामा म पर्खिरहेको छु ।

दिनभरीको घुमघाम र त्यति लामो यात्राबाट थकित थिएँ । बेडमा पुगेर भुक्लुक्क सुतिहालौँ जस्तो भएको थियो । तर, उ अझै रुममा पठाउँने छाँटकाँट नै गर्दिन । एक महिना अघि देखी खनखनी डलर तिरेर बुक गरेको होटलमा आँफु त्यसरी बस्नु परेकोमा अपमानित भएको महसुस गरेँ । गल्ती त मेरै थियो । विदेशी भुमीमा पासपोर्ट नबोकी हिड्ने लन्ठु हो म । आँफुले आफैलाई गाली गर्नुको विकल्प थिएन ।

वेटिङमा बस्नु जस्तो सकस अरु केहीमा लाग्दैन । तै टाईमपास त गर्नु थियो, वाईफाईको पासवर्ड मागेर नेट कनेक्ट गरेँ । उनी होटल पुगेर फ्रेस भईवरी एक दर्जन मेसेज ठेल्न भ्याईसकिछिन् । मेरोबाट झण्डै पन्ध्र मिनेटको ड्राईभमा उनको होटल छ । नेपालबाटै हाम्रो बेग्लाबेग्लै होटल बुकिङ थियो ।

उनी अनलाईन नै थिईन् । कल गरेँ । पासपोर्ट पतायामै छुटेको र विना पासपोर्ट इन्ट्रि दिन नमिल्ने भनेर आँफुलाई होटलले लवीमै राखिरहेको जानकारी दिएँ । उनी एकदमै आत्तिन् । ‘ला ! अव के हुन्छ ?’ उनले डराएको स्वरमा सोधिन् ।

‘अव म शणनार्थी भएँ । नेपाल जान पनि पाईदैन ।’

‘ह्या ! अशुभ नबोलिस्यो । उता फोन गरेर सोधेको हो त ?’

‘सोधेको । पासपोर्ट छैन रे’, मैले भनेँ ।

उनलाई एकछिन अत्याउन खोजेको मात्र थिएँ । उनी त मेरै होटलमा आउन पो तरखर गर्न थालिन् । अनि त भन्नै पर्ने भयो– पासपोर्ट भेटियो तर भोली मात्र आईपुग्छ । बल्ल उनी कुल भईन् । छेउमै भएको भए आँखा तर्दै दुईपटक चिमोटी सक्थिन् ।

‘त्यँहा इन्ट्रि नदिए मेरो रुममा आईस्यो न त । म ईन्ट्रि दिन्छु ।’

‘तिमीले पनि त्यहि रुममा मात्र त इन्ट्रि दिने हो । त्यो भन्दा बढी अरुमा दिने होईन क्यारे ।’ मैले जिस्किदै भनेँ ।

‘मैले हजुरलाई मेरो जीन्दगीमै इन्ट्रि दिईसकेँ । अव त्यो भन्दा बढी केमा दिन बाँकी छ र !’

फोनमा कुरा गरिरहेकी डेक्सवाली गोरीले मलाई बोलाई । पासपोर्टको फोटोकपी वा फोटो केही छ भने देखा भनि । फोटोकपी गर्ने त कुरै थिएन, मोवाईलमा फोटो चाँही खिचेको थिएँ । मोवाईलको फोटो एपमा धुईपताल खोजेँ । स्पेस बढाउन कुनबेला त्यो पनि डिलिट हानिसकेको रहेछु । पर्समा नेपालको ड्राईभिङ लाईसेन्स थियो । त्यो देखाएको मानिन । पासपोर्ट सँग रिलेटेड केहि डकुमेन्ट छ भने सो गर भनेर फेरी भनी । मसँग केही पनि थिएन ।

झल्याँस्स दिमागमा आयो– नेपालबाट थोमलाई पठाएको इमेलमा पासपोर्टको स्क्यान कपी पठाएको थिएँ । हतारहतार इमेल खोलेँ । त्यहाँ पासपोर्टको आफ्नै अनुहार मुसुक्क हाँसेर भन्दै थियो– म यहिँ त थिएँ केटा ! किन आत्तिएको वित्थामा ! बल्ल ज्यानमा सास भरियो । अनी फुर्तिका साथ त्यो पोक्ची गोरीको इमेल ठेगाना मागेर फर्रवाड हान्दिएँ ।

तत्कालै दिमागले भन्यो– हेर केटा ! आईन्दा देखी आवश्यक डकुमेन्ट ईमेलमा राखेर हिडेस् । मनमनै हस् भनेँ । उसले खर्रर पासपोर्टको कपी प्रिन्ट निकालेर दस्तखत गर्न लगाई । एकजना हेल्पर केटालाई बोलाएर मलाई कोठामा पु¥याईदिन अ¥हाई । सत्रसय दुई कोठा नम्बर लेखिएको डोर सेन्सर कार्ड मेरो हातमा थमाईदिदै मुसुक्क हाँसेर थाई लवजमा भनि, ‘इन्जोय द स्टे विथ अस, सर !’

उसले बुझ्ने गरी ‘थ्यांक यु’ भनेँ । नबुझ्ने गरी चाँही नेपालीमा भनेँ, ‘डेढ घण्टा सम्म लवीमा राख्देर फस्र्ट इम्प्रेशन नै झुर बनाईदिएपछि भुत्राको इन्जोय ।’ नेपाली भाषामा बोलेको त उसले बुझ्दिन थिई, हाईसन्चो थियो । बुझ्ने भएको भए सुन्ने गरी म पनि कँहा त्यसरी गाली गर्थे होला र !

कोठामा पुगेर कपडै नफेरी डँरङ्ग बेडमा पल्टिएँ । केटोले थाई मुभि लगाईदिई राखेर हिडेछ । भाषा नबुझे पनि फिल्मको कथा भने बुझिन्थ्यो । हिरो हिरोईन पहिलो लन्च डेटिङमा साँझमा कुनै रोमान्टिक रेष्टुरेन्टमा पुगेका छन् । कहिले आँखा आँखै त कहिले शब्दमा गफिएका छन् । भोजनको स्वाद सँगै रुमानी साँझमा प्रेमिल क्षणको आनन्द उठाईरहेका छन् । फिल्मको कथाले यस्तैयस्तै भन्दै थियो ।

टिरिङ्–टिरिङ् आवाजमा ल्याण्डलाईन फोन बज्यो । रिसिभर उठाउँने वित्तिकै एकजना युवतीले मिठो स्वरमा स्वागत गर्दै मसाज गर्ल चाहिन्छ भने रुममा पठाईदिन्छु भनि । पुरै ज्यान कट्कटि दुखेको थियो । मसाज गराउँन पाए त गज्जव हुन्थ्यो भन्ने लाग्यो । ‘मसाज गरायौ भने मेरो मुख पनि हेर्न पाउँदैनौ’ भन्ने उनको धम्की पनि उतिबेलै सम्झिएँ । होल्डमा बसीरहेकी त्यो युवतीलाई धन्यवाद दिदै आवश्यक प¥यो भने एकछिनमा कल गर्छु भनेर फोन राखिदिएँ ।

मसाज भन्ने वित्तिकै तर्सिनु पर्ने केही कुरै छैन । प्राकृतिक तेल प्रयोग गरेर ज्यानमा गरिदिने मालिस न हो । होला मसाज गर्ने हात युवतीको हुन्छन्, तर मसाज गराउँने वित्तिकै सेक्सुअल इन्टरकोर्स भैइहाल्छ भन्ने बुझ्नु चाँही गलत हो । मन हुनेहरुले र दुवैबीच आपसी सहमति भयो भन्ने थप चार्ज तिरेर त्यो सम्बन्ध हुन पनि सक्छ । नत्र उनीहरुले मालिस बाहेक अरु केही गर्दैनन् । उनीहरुको यो व्यवसाय हो, उच्च व्यवसायिकता प्रर्दशन पनि गर्छन् । ‘शुद्ध’ मसाज गर्ने मात्र नियत हो भने यसमा आपत्ति मान्नु पर्ने कुरा केही छैन ।

थाई महिलाको छिटो र धेरै पैसा कमाउने काम हो मसाज । उनीहरुको समाजमा मसाज कोर्स पुरा गर्नु गर्वको कुरा हो । थाई समाज तथा राज्यले त्यो कामलाई सम्मानजनक रुपमा हेर्छ । राज्यले लाईसेन्स दिएर सुरक्षा देखी हेल्थ इन्स्योरेन्स सम्म गराईदिएको हुन्छ । त्यसैले त छोरी जन्मिदा थाई नागरिकले जति खुशी मनाउँछन् त्यति खुशी छोरो जन्मिदा मनाउँदैनन् । थाई समाजमा अझ रोचक कुरा त विहेको लागि युवतीले युवक माग्न जाने चलन छ । केटी पक्षलाई केटा पक्षबाट दाईजो कबोल गर्नुपर्ने हुन्छ । केटी पक्षलाई दाईजोमा चित्त बुभ्यो भने मात्र विवाह हुन्छ ।

उनले अघि देखी भिडियो कल गरिरहेकी थिईन् । उता फोनमा कुरा गरिरहेको भएर रिसिभ गरेको थिईन । रिसिभ गर्ने वित्तिकै सोधिहालिन्, ‘के हो ? मसाजवाली बोला’को छ कि क्या हो रुममा ? फोन उठ्दैन त ?’

‘मेरो त्यस्तो इन्जोय गर्ने रहर त तिमीलाई एयरपोर्टमा भेटेकै बेला सहिद भएछ । यसपाली थाईल्याण्ड घुमघाम झुरै भो ।’ मैले जिस्किदै भनेँ ।

त्यसपछि त के चाहियो र ! हाँडीमा मकै भुट्दा पड्के जस्तो पटट पट्किन थालिहालिन् । झगडा लम्बिदै गयो । यस्तो कुरामा नारीको सबै भन्दा शक्तिशाली इमोस्नल अस्त्र आँसु हो झै लाग्छ । उनले त्यो अस्त्र पनि प्रहार गरिसकेकी थिईन् । रिसाएको मान्छे फकाउँनु मेरो लागि फलामको चिउरा चबाउनु सोसरह हो । जानीनजानी फकाउँने कोसिस भने गरिरहेँ । बोल्दाबोल्दै फोन काटेर नेट अफ गरिछन् । फेरी सम्पर्क हुन सकेन ।

मलाई ‘शुद्ध’ मसाज गराउने रहर थियो । शुद्ध भनेको मात्र मसाज । थाईल्याण्डको प्राकृतिक तेलको मसाज विश्वमै चर्चित छ । मौका मिलेको बेलामा त्यो अनुभव पनि लिनुपर्छ भन्ने लागिरहेको थियो । पतायामा पनि उनकै कडा असहमतिले गराउँन पाएको थिएन । यो कुरामा उनलाई कन्भिन्स गराउँन खोजेको पनि थिएँ । तिमी नै अगाडी राखेर भएपनि गराउँछु भन्दा समेत मानेकी थिईनन् । मसाजप्रति उनी किन यति धेरै नकारात्मक छिन् भन्ने मैले भेउ पाएको थिईन् ।

एक मनमा त उनी आज रिसाएको पनि राम्रै भयो भन्ने लाग्यो । नत्र रातभरी भिडियो कल अन नै राखेर सुत्नु पर्ने हुन सक्थ्यो । बेडरुममा सिसिटिभी जडान गरे जस्तो । अर्को मनले भन्थ्यो बिचरीलाई धोका दिनु हुन्न । मसाजसँग यौन भयो भने उनलाई धोका हुन्थ्यो । उनको इनडाइरेक्ट आपत्ती पनि यसैमा हो । म आफैले पनि त्यस्तो गर्न चाहेको थिईन । उनलाई धोका पनि नदिने आफ्नो रहर पनि पुरा गर्ने बीचको बाटो अप्नाएँ । यो निर्णयले भोली उनीसँगको सम्बन्धले कस्तो रुप लिने हो भन्ने चाँही स्वयम् भगवनालाई मात्र थाहा थियो ।

मसाज गर्लको लागी डेक्स सिर्भिसमा फोन गरेँ ।

केहिबेरपछि ढोका नक गर्दै युवतीको आवाज आयो, ‘मसाज सर !’ ढोका खोलिदिएँ । हातमा दुईवटा सेतो टावेल, मसाज समाग्री राखेको हाते व्याग बोकेर चिटिक्क परेकी गोरी युवती कोठामा प्रवेश गरिन् । बान्की परेको शरिरमा टपक्क मिलेको कलेजी मसाज ड्रेसमा उनको गोरो अनुहार चम्किरहेको थियो । नजिकै आएर आफ्नो परिचय दिँदै मसाज गर्ने अनुमति मागिन् ।

लाईट अफ गरेर डिम लाईट अन गरिन् । मलाई अण्डरवेयर बाहेक अरु कपडा खोल्न भनिन् । बेडमा उनले ल्याएको सेतो तन्ना ओछ्याईन् र मलाई घोप्टो परेर सुत्न भनिन् । उनको टावेलले मेरो गोप्य अंगहरु छोप्दै बाँकी कपडा पनि खोलिदिएर फुलबडी मसाज सुरु गरिन् ।

बच्चाबेला आमाले घाममा राखेर तोरीको तेल लगाईदिएर मालिस गरेको रमरम अनुभव बाहेक मलाई अरु अनुभव थिएन । सायद मेरो शरिर सुख्खा थियो, उनले पटकपटक तेल थपिरहेकी थिइन् । शरिरका प्रत्येक अंग–अंग, पार्ट–पार्ट एकएक ध्यान दिएर गरेको मालिसले आनन्द महसुस गराएको थियो । एकछिन अघि सम्म भारी लागिरहेको आफ्नै शरिर एकाएक कपास जस्तो हलुका भएझै लाग्यो ।

‘विश्वका मानिसहरु मसाज गराउँनकै लागि किन थाईल्याण्ड सम्म आउँछन् भन्ने सवालको जवाफ खोज्नु हुन्छ भने मसाज गराईसकेपछी आँफै पाउँनु हुनेछ ।’ कुरैकुरामा एकदिन थोमले मलाई भनेका थिए । हो रहेछ भन्ने लाग्यो ।

एकघण्टाको मसाज सकेर उनी बाहिरिन् । न उनले थप पैसाको लागि यौन सम्पर्कको प्रस्ताव गरिन्, न मलाई उत्तेजित बनाउँने हर्कत नै गरिन् । न मैले क्षणिक सन्तुष्टिको लागी अफर गरेँ । यी सबै आँफैमा भर पर्ने कुरा हुन् । जब सोच नै त्यो हुदैन भने शरिरका जुनसुकै अंग आँफै नियन्त्रित हुन्छन् । मसाज अवधिभर मैले मसाज बाहेक अरु केही सोचिन ।

उनी गएपछि आधा घण्टा बाथटपमा बिताएँ । बेडमा आउँदा रातको बाह्र बज्न लागिसकेको थियो । मेसेन्जर खोलेर हेरेँ, उनी अझै अफलाईन नै थिईन् । मसाज गराएको कुरा उनलाई सुनाउँ कि नसुनाउँ भन्ने दोधारमा निक्कैबेर देखी रुमलिरहेको थिएँ । उनलाई ढाँट्न मनले मानेन ।

अफलाईन टेक्स्ट पठाएँ– भर्खरै मैले ‘शुद्ध’ मसाज गराएँ । विल्कुल शुद्ध । गुडनाईट बेबी !

क्रमश…

…त्यो यात्रा 

…त्यो यात्रा –२

...त्यो यात्रा –३

त्यो यात्रा –४

…त्यो यात्रा –५ 

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको अर्को श्रृङ्खला अर्को साता  WWW. LOKPATH.COM  प्रकाशन हुनेछ ।0  लोकपथ  डट कम लाईक कमेन्ट सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।)
दाहालद्वारा लिखित कविता : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?