…त्यो काले केटो

भानु दाहाल

शनिबार साँझ उत्तरतिरबाट चलेको चिसो हावाले जाडो महसुस गरायो । गत चैतमै दराजमा थन्काएको ज्याकेट निकालेर सुघेँ । अलिअलि गन्हाएको रहेछ । नगन्हाओस् पनि कसरी कोचेर राखेकै आठ महिना वितेछ । लाउन मन लागेन । ह्यांगरमा तुन्द्रुङ झुण्डिरहेको हुक भिरेर म निस्किएँ । दिनभरि घर बसेकोले होला ज्यान अल्छि भएको थियो ।

बाहिर त निस्किएँ तर कता जाने भनेर सोचेको भने थिईन । गेटबाट आठ दश पाईला अघि बढेपछि दिमागमा फ्याट्ट
आरती हेर्न जाने जुक्ती फु¥यो । इभिनिङ वाक हुने, पशुपतिनाथको दर्शन हुने र आरती पनि हेर्न पाईने । ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भनेझैँ हुने भो ।

घरबाट फटाफट हिडेँ भने पन्ध्र देखि बीस मिनेटमा म पशुपतिनाथ मन्दिर पुग्छु । पैदल हिड्नु भनेको भेटे सम्म छोटो बाटो समात्नु हो । बुलबुलेबाट निस्किएर भित्रभित्रैको सानो गल्लि हुँदै सिफल चौर निस्किन मलाई आठ मिनेट लागेछ । त्यहाँ बाटोमै एउटा सानो मन्दिर छ । ढोगेँ । कुन देवताको मन्दिर हो भन्ने चाँही मलाई थाहा छैन । देवता नचिने पनि त्यो बाटो हिँड्दा ढोग्न भने बिर्सिन्न ।

त्यहाँबाट थोरै अगाडी गएपछि दाहिने तर्फ सिफल चौर छ । कहिलेकाँही त्यहाँ फुटबल खेलिन्थ्यो । आजकाल नखेलेको थुप्रै भईसक्यो । त्यो चौर सकिने वित्तिकै भण्डारखाल जंगल छ । बरु आजकाल मुड चल्दा त्यहाँ मर्निङ वाक जान्छु । जंगल भित्र भुलभुलैया झै ढुंगा छापेर बनाएको वाकिङ् टे«लमा दौडिन मज्जा लाग्छ । त्यो जंगलमा पहिला छिर्न सकिन्न थियो । चारैतिर पर्खालले घेरेको देख्दै डर लाग्ने । दुई बर्ष भयो पशुपति विकास कोषले त्यसलाई ठुलो पार्कको रुपमा विकास गर्दैछ ।

भण्डारखाल शब्द सुन्ने बित्तिकै मलाई स्कुलमा पढेको त्यहि चर्चित भण्डारखाल पर्वको याद आउथ्यो । बि.सं १९०३ मा प्रधानमन्त्री तथा सेनापति जंगबहादुर राणालाई पदच्युत गरि आफ्नो छोरालाई शक्तिमा ल्याउन रानी राजेन्द्रलक्ष्मीले षड्यन्त्र गर्न भण्डारखालमा रात्रीभोज आयोजना गरेको भनी त्यहिँ पुगेर जंगबहादुरले नरसंहार गरेको भण्डारखाल यहि होला भन्ने लाग्थ्यो । कतिपटक त्यसको वरिपरि पुग्दा त्यो दरबार यतै कतै थियो होला, त्यत्रो नरसंहार यहिँ भयो होला भन्ने लाग्थ्यो । तर, त्यो भण्डारखाल हनुमानढोकाको गार्डेन थियो भन्ने चाहीँ पछि मात्र थाहा पाएँ । तैपनि अझै कहिलेकाहीँ झुक्किन्छु ।

यो जंगलको पर्यावरण र सिफलसँग जोडिएको अर्को ऐतिहासिक घटना पनि छ । यतातिर टहलिदै गर्दा त्यो घटना पनि मेरो मानसपटलमा मडारिन आईपुग्छ ।

राणा शासन बिरुद्ध आन्दोलन गर्न गठन भएको प्रजा परिषदले राजा त्रिभुवनको उपस्थितिमा लैनचौरमा एकदिन गोप्य बैठक राखेको रहेछ । त्यो खबर राणा प्रधानमन्त्री जुद्ध शम्शेर थाहा पाएछन् । बैठक स्थलबाटै प्रजा परिषदका सदस्यहरु पक्राउ गरेछन् । पक्राउ परेका अधिकांश प्रजा परिषदका सदस्यहरु ब्राहमण भएकोले मृत्युदण्ड दिन नमिल्ने हुँदा जेलमा राख्ने र दशरथ चन्द र धर्मभक्त माथेमालाई भने मृत्युदण्ड दिने निर्णय गरेछन् । वि.स. १९९७ माघ १२ गतेको मध्यरातमा सिफलको जंगलमा झुण्डाएर मृत्युदण्ड दिईएछ । सहिद धर्मभक्त माथेमालाई झुण्डाएर मारेको ठाउँ भने यहि जंगल होला भन्ने लाग्थ्यो । तर धर्मभक्तको सालिक कालोपुलबाट सिफलतिर उकालो चड्दा बिचमा छ । उनलाई झुण्डाएको रुख त्यहीँ थियो भन्ने सालिकमा लेखिएको छ ।

अँ ! म पशुपतितिर जाँदै गरेको कुरा गर्दै थिएँ ।

त्यहाँबाट अगाडी बढेर अलि पर पुगेपछि बाटोमै अलि ठुलो मन्दिर छ । त्यहाँ पनि ढोँगे । त्यहाँ चाहीँ गणेश भगवान छन् । उनको सुँढ देखेपछी गणेश हुन भन्ने म ठ्याक्कै चिन्छु । त्यो मन्दिरलाई दाहिने पारेर एक फन्का घुमेर अगाडी बढेको एक मिनेटमै जयबागेश्वरी मन्दिर आइपुग्यो । अव पनि ढोगेँ भनिरहन पर्दैन होला । किनकी म बाटोमा देखेजति मन्दिर सबै ढोग्छु ।

म घरबाट हिडेको बाह्र मिनेट भित्र चार वटा मन्दिर पार गरेँ । तिनवटा ढोगेँ, एउटा अलि पर देखिन्छ त्यो चाँही टाढैबाट ढोगेँ । याद गर्नुभो ? कि सम्झाउँ ? जम्मा बाह्र मिनेटमा चारवटा मन्दिर ।

अँ साच्ची ! कतैतिर पढेको थिएँ– काठमाण्डौ यस्तो पवित्र ठाउँ हो जहाँ एउटा मन्दिरको परिसर सकिने वित्तिकै अर्को मन्दिरको परिसरमा पुगिन्छ । यसो सोच्नुस् त ! हो नि । मन्दिरै मन्दिरको शहर हो काठमाण्डौ । त्यसैले यहाँ मान्छे मात्र होईन भगवानहरुको पनि घुईँचो छ ।

जयबागेश्वरी मन्दिर अगाडी चक्रपथको बाटो क्रस गर्नुपर्छ । त्यहाँबाट बाटो काट्नु भनेको लगभग मृत्युको मुखबाट फुत्किनु जत्तिकै हो । दायाँबायाँबाट कालहरु यसरी कुदेर आउँछन् कि तिनिहरुलाई यमराजलाई भेट्न हतार भैसकेको छ । धन्न तिहारमा टिका लगाउँदा दिदी बहिनीले ओखर फोरेर भएपनि जोगाएकी छिन् । होईन भने त्यहिबाट पाँच मिनेटको दुरीमा रहेको आर्यघाटमा सत्गत गर्ने ठाउँ सम्म हुन्थेन ।

खैर, डराउँदै बाटो काटेर खुरुरु ओरालो झरेर भुवनेश्वरी मन्दिरलाई देब्रे पार्दै म पशुपतिनाथको प्राङ्गणमा पुगेँ । मुख्य मन्दिर भित्र प्रवेश नगरी बाग्मती तर्फ लागेँ । भष्मेश्वरको छेउमा टुरिष्टलाई टिकट काट्न सहजताको लागि एउटा काउण्टर छ । काउन्टरमा दुई जोडी पर्यटक गलफत्ती गरिरहेका थिए । एकजोडी भारतीय रहेछन् भने अर्को चाँही डेनमार्कका । समस्या के भएछ भने भारतीय जोडीलाई इन्ट्रान्स फि नलाग्ने डेनमार्ककालाई लाग्ने । सँगै आएका हामीलाई किन विभेद गरेको भनेर डेनमार्कवाला जोडीले गलफत्ती गरेका रहेछन् ।

काउन्टरका कर्मचारीले काम चलाउ अँग्रेजी भाषामा उनीहरुलाई बुझाउने कोसिस गर्दै थिए । एक मनमा त यो विवादमा घुसेर यो खैरे जोडीलाई एक लट लेक्चर ठोक्दिउँ कि जस्तो लागेको थियो । फेरी अर्को मनले भन्यो ‘आ.. होस् ।’ केही नबोली त्यहाँबाट अगाडी बढेँ ।

खुत्रुक्क तलतिर झरेपछि पुलको मुखमा टुँडालवाला मन्दिर छ । केही पर्यटकहरु भगवानका अश्लिल लिलाका पोजिसनहरु क्यामेरामा कैद गर्न तल्लिन थिएँ । त्यो बाटो हिँड्दा एक पटक ति काठका चित्रहरुमा मेरा पनि आँखा ठोक्किन पुग्छन् । यसो हे¥यो सकियो । गहिरिएर हेर्ने मेसो चाँही कहिल्यै मिलेको छैन । ति खैरे पर्यटकहरु भने अनुसन्धानात्मक नजरले नै हेर्दै थिए ।

त्यहाँबाट दाहिने तर्फ घाट छिर्ने मुखैमा एउटा पाटी छ । एक महिला सुत्केरी भएर त्यहि बसेकी रहिछिन् । आगो बालेर बच्चा सेक्दै थिईन् । यसो सोचेँ– यो बच्चा छोरो रहेछ भने भोलीको यहिँको भष्मे डन वा पशुपति प्रसाद हुन्छ कि हुदैन होला ? उ भोली जेसुकै होस् तर आज उसकी आमाले जस्तो सुकै परिस्थिति भएपनि न्यानो काख दिएकी थिईन् । त्यो न्यानो काख कुनै दरबारमा जन्मिएको बच्चाले पाउने भन्दा कम पक्कै थिएन ।
एकछित त सोचमग्न भएँ ।
बागमती किनारको पेरिफेरीमा माग्न बसेका बच्चाबच्ची देखी बृद्धबृद्धा थिए । चिया बिस्कुट, पानी बेच्ने पनि थिए । आफन्तको मृत्युमा सोकाकुल आफन्तजन, घुम्न आउने, डेटिङ आउने, टाईम पास गर्न आउने, आरती हेर्न आउँने लगायतहरुको भिडभाड थियो । यिनीहरुको पनि बेग्लाबेग्लै कथा छ । यहाँ लेखौँ भने यो लेख लामो हुने भो । पढ्दा पढ्दै दिक्क लाग्ला ! यि छुटेका कथाहरु पछि लेख्ने छु । वाचा भो ।

अँ, आरती हेर्न म पशुपतिनाथ मन्दिरको पारीपट्टि व्युटिपूmलमा पुगेँ । त्यो अग्लो ठाउँमा बसेर हेरेपछि आरती मात्र होईन मुख्य मन्दिर परिसर देखी दाँयापट्टि अघोरी बाबाको कुटी र बाँयापट्टि लास जलाउँदै गरेको लस्करै आगोको मुस्लो देखिन्छ । अहिले म तिनै दृश्यहरु हेर्दे छु । सिधै अगाडी भने आरती भईरहेको छ ।

मेरो छेउमा बीस बाईस बर्ष जस्तो लाग्ने एक जोडी पनि आरती हेर्दै छन् । केहीबेरमा केटाले केटीलाई भन्यो, ‘सानु… हेर त मान्छे पोलेको… आखिर मान्छेको जिन्दगी के छ र ? जीवनभर के के न गरौँला भन्यो लास्टाँ….’ केटो पुरा वाक्य भनिनसक्दै रोकियो । उसको निराशावादी कुरा सुनेकी केटीले हाँस्दै भनि, ‘लास्टाँ यहि हो भनेर जीवनभर खुट्टा तन्काएर सुत्नु भएन त… ! अच्छा ! केटीको जवाफमा दम छ । हुन त केटाको कुरा पनि नाजायज चाहिँ होईन । मैले मेरै मनसँग मत साटेँ ।

त्यस्तै उस्तैमा एक घण्टा वित्यो, आरती सकियो । घडिले ७ बजेर बीस मिनेट गएको संकेत गरेको रहेछ । आरतीमा झुमिरहेका सबैजना घर जान हतारिए जसरी दिनभरि अन्तै पुगेका चराहरु साँझ परेपछी आफ्नै गुँडमा फर्किन हतारिन्छन् । म पनि गुँड फर्किएँ । घर फर्किएँ । घर भनेको पनि गुँड नै त हो नि ।

सात बजेर पैतिस मिनेट जाँदा फर्किएर म सिफल चौर आईपुगेँ । चौरको अगाडी बाटैमा बडेमानको पिपलबोट छ । सानो चौतारो पनि । त्यसैको फेदमा एउटा पन्ध्र सोह्र बर्ष जस्तो लाग्ने काले केटोले मेरो बाटो छेक्यो । अलि अध्यारो भएकाले नियालेर हेरेँ । मधेशी मुलको जस्तो देखिने पातलो ज्यानको, थोत्रो कपडा लगाएको झुस्स कपाल भएको केटो थियो ।

मैले सोधेँ– के भो भाई ?

यहाँबाट हिडेर कति समयमा बनेपा पुगिन्छ दाई ?’ निन्याउरो अनुहार लगाएर सोध्यो ।

‘हिँडेर गयौ भने त विहान सम्म पुगौला । गाडी चढेर गयौ भने डेढ घण्टा जति लाग्ला ।’

‘मेरो घर रौतहट हो । म बनेपामा मिस्त्री काम गर्छु । मेरो यता बस्ने ठाउँ छैन । चिनेको पनि कोही छैन । हिजो राती बसको छतमा सुतेको थिएँ । बिहान बसले गौशाला ल्याएर छोड्यो । दिनभरी भोकै छु । मसँग एक रुपियाँ पनि छैन ।’ केटोले आँसुनै झारौँला झै गरेर एकै श्वासमा आफ्नो व्यथा भनिसिध्यायो ।

यसो हेरेँ । विचरालाई आपत नै परे जस्तो लाग्यो । पर्सबाट दुई सय निकालेर उसलाई दिँदै भने, ‘ल भाई, एक सय गाडी भाडा, एक सयको खाजा खाउ । गौशाला चोकमा गाडी पाईन्छ गैइहाल । ढिला भयो भने गाडी नपाईएला ।’

केटोले पैसा समातेर तिन चोटी नमस्कार ग¥यो । अनि भन्यो, ‘दाई यो पैसा म बनेपा गएपछि फिर्ता गर्छु । कसरी गरौँ ?’
‘भैहाल्यो पर्दैन । तिमीलाई नै भयो ।’ मैले भनेँ ।

‘तपाईको पैसा त्यसरी खान्न । म तिर्छु ।’ केटोले इमान्दार भएको सुनायो ।

फेरी उसैले सुझायो, ‘दाई तपाईको फोन नम्बर दिनुस् म रिचार्ज गरिदिन्छु ।’

केटो इमान्दार रहेछ । साच्चै आपत नै परेको रहेछ भन्ने लाग्यो । नजिकैको स्टेशनरी पसलमा गएर सानो कागजको टुक्रामा मेरो फोन नम्बर लेखेर दिएँ ।

उ खुसी भयो । मलाई धन्यवाद दियो । हिड्ने बेलमा नमस्कार ग¥यो । म अलि वर आएँ । खै के मनमा आयो फर्किएर त्यो केटालाई हेरेँ । सिफल चौरबाट जयबागेश्वरीतिर जाने बाटोकै मुखमा पर्दा झुण्डाएको भट्टी पसल छ । केटो त्यहिनेर उभिएर दायाँबायाँ हे¥यो । म अध्यारो ठाउँमा थिएँ, उसले मलाई देखेन । त्यसपछि लुसुक्क उ भट्टि पसलमा छि¥यो ।

मलाई अव शंका लाग्यो । दौडिदै गएर भट्टि पसलको सानो झ्यालबाट चिहाएँ ।

केटोले बडो शानका साथ साहुनीलाई भन्यो, ‘भर्खरै एउटा मुर्गा फसाएर पैसा ल्याको छु । भुटन र रक्सी ख्वाउनुस् त !’

साहुनीले भनि, ‘चोरेर ल्याईस कि क्या हो काले ?’

‘होईन, यसो हल्का याक्टिङ् हान्देको थिएँ, त्यो मान्छले सर्लक्कै पत्यायो । फ्याट्टै दुई सय झिकेर दियो ।’

साहुनी भुटन भुट्न लागि । उसले चुरोट सल्कायो । लामो सर्को तानेर सिलिङ्तिर फुरुरु उडायो । त्यति नै बेला म भित्र छिरेर दुईवटै गालामा थप्पड हानेँ । कान समातेँ । उसले पटकपटक सरी भनिरह्यो । अव देखी यस्तो ठग्ने काम नगर्ने बाचा ग¥यो । खल्तिबाट अघिको दुई सय फिर्ता दियो ।

त्यो दुईसय त्यहि साहुनीलाई दिदै मैले भनेँ, ‘रक्सी बाहेक यो पैसा बराबरको जे–जे खान्छ यहि काले केटालाई दिनू ।’

त्यसपछि म घरतिर लागेँ । बाटोभरि मनमा सवाल उठिरह्यो– उसलाई मैले व्यक्त गरेको प्रेम र घृणाले के उसको जीवनमा अव परिर्वतन आउला ? अब उ सुध्रेला ? वा, यस्ता कुराले उसलाई केही फरक पर्दैन ?
प्रश्नसँगै मेरो मथिंगल एकछिन फनफनी घुमिरह्यो ।

भानु दाहालद्वारा लिखित यो सामाग्री पढ्नुभएको थियो ?

…त्यो यात्रा  

…त्यो यात्रा –२

...त्यो यात्रा –३

त्यो यात्रा –४

…त्यो यात्रा –५ 

…त्यो यात्रा–६

…त्यो यात्रा–७ 

….त्यो यात्रा–८

त्यो यात्रा– ९

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको अन्य श्रृंखला WWW. LOKPATH.COM मा छिट्टै प्रकाशन हुँदैछ  । http://WWW.LOKPATH.COM लाई लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  http://LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।

दाहालद्वारा लिखित कविता : 

तिमिलाई छोरी मन पर्दैन ?

महाराज ! उडाइदिउँ केसीलाई

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?