भानु दाहाल-साँझ पर्न लागिसकेको थियो । घाम पश्चिमतिर डुब्दै थियो । बैंकक शहरको गोधुली आकाशमा चराहरु गुँडतर्फ उड्दै गरेको देखिन्थ्यो । चराहरु दिनभर टाढा सम्म पुगेर साँझतिर गुँड फर्किदै गरेको दृश्य हेर्न मलाई खुव रमाईलो लाग्छ । मनमनै सोँचे यि चराहरु नेपाल पुगेका छन् कि छैनन् होला ?
नेपालबाट झण्डै ३८ सय किलोमिटर टाढा साईबेरियाबाट चराहरु नेपाल आउँछन् । त्यहाँको उत्कट जाडो छल्न सगरमाथाको चुचुरो नाघेर हिउँदमा चरा नेपाल आईपुगेको समाचार बर्षेनि आउँछ । झन् २२ सय किलोमिटर मात्र टाढा थाईल्याण्डबाट चरा नेपाल जान त नसक्ने होईनन् । तर जान्छन् कि जादैनन् भन्ने चाँही मलाई थाहा छैन ।
हुन त साईबेरियामा जस्तो चिसो थाईल्याण्डमा हुँदैन । त्यसैले जाडो छल्न त चराहरु नेपाल नजालान् । बरु त्यहाँ बाह्रै महिना गर्मी हुने हुँदा गर्मी छल्न भने नेपाल जाने सम्भावना रहन्छ । थाईल्याण्डबाट चरा नेपाल आईपुगे भन्ने समाचार भने अहिले सम्म मैले पढ्न पाएको छैन ।
गगनचुम्बी अपार्टमेन्टको अठारौँ तल्लाको बरण्डाबाट माथी आकाश हेर्दै केहिबेर टोलाएँ । छेउमै रहेको किचेनमा भाँडाको टाङ्टाङ्टुङ्टुङ् आवाज निकाल्दै उनी पकाउन व्यस्त थिईन् । भाँडा ठोक्किएको आवाज भन्दा भान्साबाट आउँने चुराको छिन्द्रिङ्छिन्द्रिङ आवाजले मलाई मोहित बनाउँछ । यहाँ पनि मलाई सुन्न मन त चुराकै थियो, तर उनले चुरा लगाएकी थिईनन् आवाज आउने त कुरै भएन ।
भान्सामा पकवान मग्गमगाउँन थालेपछि मिनी बारबाट लस्सी दाईले जोनी वाकर डबल ब्ल्याक निकाले । सँगै थियो तिनवटा ह्विस्की गिलास पनि । ‘दाई, मैले वियर मात्र पिउँने गरेको छु’, मैले भने, ‘उनी पनि ह्विस्की खान्नन् ।’
फ्रिजमा आईस बनाएर राखेको दुईवटा वियर गिलास र चिल्ड सिंघा वियर म आफैले निकालेँ । किचेनको एक कुनामा मिनि फ्रिजमा जुस र वियरको राम्रै बन्दोबस्त थियो । बैठक कोठाको सिसाको गोलो दराजमा भने विभिन्न ब्राण्डका ह्विस्कीहरु सजाएर राखिएको थियो । लगभग मिनि बारकै हैसितमा मदिराको जोहो गरिएको रहेछ ।
लस्सी दाई मदिराका यति धेरै पारखी थिएनन् । फुटबलको टिम क्याप्टेनको रुपमा मैले संगत गर्दा लस्सीका अम्मली थिए । बरु दहीमोही खाएको धेरै पटक देखेको थिएँ । कहिलेकाँही गुडफ्राईडे वा पार्टीहरुमा वियर सम्म अलिअलि खाएको थाहा थियो । तर यो आधा दशकमा उनको बानीमा पुरै परिर्वत आईसकेको भने मलाई थाहा थिएन ।
दिउँसो प्रत्युनाममा भेटे देखी अहिले सम्म दाईलाई मिहिन रुपमा नियाल्दा यो आधा दशकमा उनको जीवन निक्कै ठुलो बाढी पछिको उजाड बगर जस्तै गरि गुज्रिरहेको छ भन्ने अनुमान लगाउन मलाई गाह्रो थिएन ।
एउटा प्लेटमा सलाद अर्को प्लेटमा काजु ल्याएर टि–टेबलमा राख्दै दाईले पिउने काम सुरु गरौँ भन्ने संकेत गरे । उनी किचेनमा पकाउन जोडतोडको साथ मेहनत गरिरहेकी थिईन् । एकछिन सघाईदिनु प¥यो भनेर म भान्सा छिरेँ । प्याज काट्न बाँकी रहेछ ।
मलाई किचेनमा सबै भन्दा गाह्रो लाग्ने काम भनेकै प्याज काट्न हो । आँशु पुच्छ्दै काटेको देखेर उनलाई टिठ लागेछ क्यारे खोसेर आँफै काटिन् । जिस्किदै भनिन्, ‘जाबो प्याज काट्न पनि रुनुपर्छ त ! रुनका लागि त जीवनमा कति ठुल्ठुला क्षणहरु अझै बाँकी नै छन् नि ।’
कसैले सामाजिक संजालमा प्याजको मुल्य बढेको प्रति व्यंग्य गर्दै लेखेको थियो– ‘अव त प्याज काट्दा मात्र होईन किन्दा पनि आँशु आउने भएछ ।’ यहि सम्झिएर म फिस्स मुस्कुराएँ ।
‘कुरा सम्झिएर एक्लै हाँस्ने हजुरको बानी चाँही मलाई फिटिक्कै मन पर्दैन ।’ उनले आपत्ति जनाईहालिन् । धेरै पटक नै भैसक्यो उनले यस्तो गुनासो गरेको ।
‘मेरो बानी तिमीलाई केही पनि मन पर्दैन नि ।’ मैले जिस्किँदै भनेँ ।
‘बानीको के कुरा, मलाई त हजुर नै मन पर्दैन ।’ उनले दाहिने आँखा झिम्काउँदै भनिन् ।
‘चियर्स… ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेदेखी उनीसँग मेरो यो चौथो पटकको चियर्स थियो भने लस्सी दाईसँग पहिलो । खानपिनको सिलसिला चल्दै गर्दा मलाई भने लस्सी दाईले कतिबेला भाउजुसँगको डिभोर्सको कहानी भन्न सुरु गर्छन् भन्ने हुटहुटी चलिरहेको थियो । सम्झाउँ भने यो सुखद् कहानी थिएन । नसम्झाउ त आफूलाई सुन्न छटपटि भैसकेको छ ।
ठिक अगाडीपट्टि भित्ताको ठुलो फोटोबाट भाउजु र छोरीले हामीलाई टुल्टुल्ती हेरिरहेका थिए । म पटक–पटक छोरीको अबोध अनुहार र चम्किला आँखा हेरिरहेको थिएँ । ति आँखाले बालखमै आफ्नो हात छोड्ने बाबाप्रति कति धेरै प्रश्न गरेका होलान् ! के लस्सी दाईले छोरीले गरेको एकएक प्रश्नको इमान्दारपुर्वक जवाफ दिन सक्छन् ? म सोचमग्न भएँ ।
बेलाबेला चम्चाले प्लेटमा ठोक्किएको आवाज बाहेक लगभग शुन्यता नै थियो त्यहाँ । दाई चुपचाप पिईरहेका थिए । चुपचाप त आवाजमा थिए, तर उनी भित्र आँधी चलिरहेको छ भन्ने उनको अनुहारले बोलीरहेको थियो । आफू भित्र गुम्सिएका पिडा व्यक्त गर्ने गहिरो पिडामा छट्पटाई दाईलाई सजिलो होस् भन्ने हेतुले मैले नै कुरा सुरु गरेँ ।
‘दाई, तपाईहरुको डिभोर्स भएपछि भाउजुसँग एकपटक न्युरोडमा मेरो जम्काभेट भएको थियो । एकछिन गफ भयो…।’
मेरो कुरा सकिन नपाउँदै दाईले बिचैमा सोधे, ‘अनि किन डिभोर्स गरेको भनेर सोधिनस् ?’
‘सोधेँ । तपाईले यता अर्को बिहे गर्नुभयो रे नि त ।’
दाई फिस्स हाँसे मात्र केहि बोलेनन् । अमेरिकी ब्राण्डको ‘पार्लियामेन्ट’ चुरोटको लामो सर्को तानेर फुरुरु धुवाँ सिलिङ्तिर उडाउँदै भित्तामा रहेको भाउजुको फोटो नियालेर हेरे । हामीतिर फर्किदै सुस्तरी भने, ‘बितिसकेको कुरा गरिरहन आवश्यक त छैन तैपनि पहिलो र अन्तिम पटक त्यो कहानी म तिमीहरुलाई सुनाउँदै छु ।’
०००
त्यतिबेला ठमेलमा मैले खोलेको ट्राभलले निक्कै राम्रो पिकअप लियो । एक समय नेपालीहरुलाई एशियन र युरोपियन देशहरु घुमाउने ट्राभल भन्ने बित्तिकै मेरै ट्राभल दिमागमा आउने सम्मको छाप बनाईसकेको थिएँ । मेरो व्यापारको ठुलो हिस्सा भने थाईल्याण्डको टुरमा थियो । अफसिजनमा समेत आर्कषक भ्रमण प्याकेज बेच्न सक्ने ट्राभल एजेन्टको गर्व लाग्दो परिचय बनिसकेको थियो ।
एकदिन बैंककको एक प्रतिष्ठित ओभरसी ट्राभलले साझेदारीको लागि मलाई प्रस्ताव राख्यो । सर्सर्ती पढ्दा उनीहरुको प्रस्ताव उपयुक्त नै लाग्यो । म आफैँ पनि आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय रुपमै विस्तार गर्ने सोचमा थिएँ । त्यतिबेला त्यो प्रस्ताव मलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो ।
केही चरणमा इमेल मार्फत दोहोरो कुरा भएपछि थप कुराकानी गर्न उनीहरुले मलाई थाईल्याण्ड नै बोलाए । त्यसको एकहप्ता पछि म बैंकक आएँ । तर विस्तृत रुपमा छलफल गर्दा उनीहरुको प्रस्ताव मलाई त्यति फाईदा हुने खालको लागेन । बरु अर्को साझेदार खोज्ने वा एकल रुपमै अगाडि जान्छु भन्ने सोचेर मैले उनीहरुको प्रस्ताव अस्विकार गरेँ ।
उनीहरुसँग बिदा भएर केही दिन घुमघाम गर्ने हेतुले म पतायातिर लागेँ । भोलीपल्ट साँझमा कान्याको इमेल आयो । त्यहि ट्राभलको ओभरसी डिपार्टमेन्ट हेड थिई कान्या । त्यो प्रस्तावको सिलसिलमा मसँग नेपालमा बारम्बार इमेलमा कुरा गर्ने पनि उहि थिई । एकहप्ता म थाईल्याण्ड बस्ने र घुमघाम गर्ने प्रबन्ध पनि उसैले मिलाईदिएकी थिई । त्यो मेलमा उसले मसँग छुट्टै एक्लै भेट्न चाहेको कुरा लेखेकी रहिछ ।
मलाई लाग्यो, उनीहरुको प्रस्तावमा मलाई मनाउँन कम्पनीले कान्यालाई जिम्मेवारी दियो । कान्या मलाई फकाउँन एक्लै भेट्न खोज्दैछे । विश्वका बिज्नेस हाउसहरुले यस्ता हत्कण्डा पनि अपनाउन सक्छन् भन्नेमा म जानकार थिएँ । फेरी म अविवाहित युवक । कान्या पनि अविवाहित युवती । कतै उनीहरुले त्यसरी पो सोचेका छन् कि भन्ने मेरो अनुमानमा हाम्रो स्ट्याटसले बल पुगेको थियो ।
मैले कान्याको इमेलको रिप्लाईमा आफू पताया घुमिरहेको र बैंकक फर्किएपछि भेटेर मात्र नेपाल जाने बताएँ । अबेर राती फेरी उसले इमेल गरेर मलाई भेट्न भोली पताया नै आउन लागेको बताई । इमेलको अन्तिममा यो कुरा कम्पनिसँग सम्बन्धित नभएको र आफूले व्यक्तिगत रुपमै मसँग भेट्न चाहेको लेखिएको थियो ।
अब भने मलाई अनौठो लाग्यो । जो मान्छे त्यो कम्पनीको जिम्मेवार पदमा बसेर हिजो सम्म मसँग डिलिङ् गरिरहेकी छे, उहि मान्छे भोलीपल्ट मसँग पतायाको समुन्द्र किनारमा व्यक्तिगत रुपमा भेट्न किन चाहन्छे ? यदि कम्पनीले नै उसलाई पठाउने हो भने व्यक्तिगत नभन्नु पर्ने हो । वा उसले मलाई प्रभाव पार्न पो त्यस्तो कुरा गरिहेकी छ कि ! मैले धेरै एंगलबाट उसको प्रस्तावको बिश्लेषण गरिरहेँ ।
मनमा अनेक तर्कहरु आउँथे । आफै सवाल उठाउँथे, आफै समाधान खोज्थेँ । यस्तो हो कि उस्तो हो कि भन्ने अनुमान लगाउँथेँ । अन्ततः निर्णय लिएँ, आ.. जे सुकै होस् उहिसँग भेटेर कुरा गरेपछि प्रष्ट भईहाल्छ त । सुत्नु भन्दा अगाडि इमेलको रिप्लाई दिएर कान्याको भेट्ने प्रस्तावमा सहमति दिएँ ।
भोलीपल्ट विहान नौ बजे नै उ म बसेको होटलको लविमा आईपुगि । एकहातमा सानो सुट्केश र अर्को हातमा ल्यापटप ब्याग । कम्मर भन्दा अलिकती मात्र तल पुगेको वान पिस कपडालाई उसको गोरो सुडौल शरिर छोप्न हम्मेहम्मे परिरहेको थियो । फर्रर फुकेको कपाल र कालो चश्मामा हलिउडको कुनै सुन्दर हिरोईन भन्दा कम कतैबाट पनि देखिन्नथी उ । आईपुग्ने बित्तिकै मैले उठेर स्वागत गरेँ, उनले वार्म हग गरिन् ।
मनमनै सोचेँ, उसको गेटअपले उ अफिसको काम लिएर पक्कै आएकी होईन । के उ मसँग डेटिङ गर्न चाहन्छे ? वा, अरु नै केही स्वार्थ छ ? मेरो पुरुष मन जताबाट अनुमान लगाए पनि अन्तत विपरित लिङ्गको आर्कषणमा पुगेर अनुमान अड्किन्थ्यो । तर जसरी म अनुमान लगाईरहेको छु त्यो नहुन पनि सक्थ्यो ।
त्यहि होटलमा उनले रुम बुक गराएको रहेछ । अगाडिको कष्ट्युमर केयरबाट चाबी लिएर उनी रुमतिर गईन् । मैले दुईवटा स्ट्रोङ ब्ल्याक कफी मगाएँ । हामी सोफामा आमन्ने सामन्ने थियौँ । बीचमा थियोे सिसाको टि–टेबल । हाम्रो अगाडि थियो बाफ उडिरहेको दुईवटा कफीको कप ।
कुरा उनैले सुरु गरिन् । अफिससँग छुट्टि लिएर तीन दिनको लागि मसँग घुम्न पताया आएको बताईन् । फेरी उनको थप स्पष्टोक्ती थियो उनको यो भ्रमण नितान्त व्यक्तिगत हो, अफिससँग कुनै लेनादेना छैन । उनको अचानकको भ्रमणप्रति मेरो मनको संशय सायद उनले अनुमान गरेरै होला मलाई विश्वास दिलाउने उनको प्रयास थियो ।
कफीको चुस्की लिदै सोधिन्, ‘आज कहाँ घुम्ने ?’
‘जहाँ तिमी घुमाउँछौ’, मैले भनेँ, ‘तर घुम्ने ठाउँ चाँही सामुन्द्रिक टापु नै हुनुपर्छ ।’
‘समुन्द्र त्यति धेरै मन पर्छ ?’ उसले आँखा अलि ठुलो पार्दै सोधी ।
‘हो, मनपर्छ । जुन मेरो देशमा छैन । हुन त मेरो देशमा भएको हिमाल पनि मलाई उत्तिकै मन पर्छ ।’
मैले हिमालको कुरा गर्ने बित्तिकै उसले उत्सुक हुँदै भनि– नेपालमा कति धेरै अग्ला–अग्ला हिमाल छन् है ?
फेरी केही सम्झेझै गरेर सोधी, ‘माउण्ट एभरेष्ट कति पटक चढ्यौ ?’
‘चढेँ होला त्यस्तै दश–बाह्र पटक ।’
‘वाउ ! अनि अरु हिमाल नि ?’
अरु पनि त्यति नै पटक होला । मैले मुसुक्क हाँस्दै जवाफ दिएँ ।
उसले पत्याई । अझै पनि मलाई भेट्ने धेरै विदेशीहरुले यहि प्रश्न गर्छन् । मेरो देशमा सगरमाथा छ भन्ने बित्तिकै कति पटक चढिस् भनेर सोधीहाल्छन् । उनीहरुलाई हिमाल चढ्नु भनेको कुनै पहाडको टुप्पोमा पुग्नु जस्तै लाग्दो हो । हरेक नेपालीले सगरमाथा चढेकै हुन्छन् भन्ने सोच्दा रहेछन् ।
सुरुसुरुमा त सत्य कुरा नै भन्थेँ, म हिमाल चढेको छैन भनेर । तर कतिले भने नपत्याउँने, कतिले त आफ्नो देशमा भएको हिमाल पनि नचढेको भनेर गिज्याउँथे । अनि किन नचढेको भन्ने खालका दर्जनौ सवाल गर्थे । जवाफ दिँदा–दिँदा हैरान ।
त्यसपछि नै हो मैले विदेशीहरुले सोधे भने सगरमाथा चढेको छु भनेर गफ दिन थालेको । माउण्ट एभरेष्ट चढेको छु भनेपछि चाँही उनीहरुले सोध्ने एउटै मात्र प्रश्न हुन्छ– कस्तो फिल गर्यौ ? जवाफमा ‘थ्रिलिङ्…’ भन्यो सकियो । मनमनै उनीहरु त्यो रोमान्चकता आँफै कल्पना गर्न थाल्थे । म भने त्यो अद्भुत अनुभवको लागि नेपाल गएर सगरमाथा चढ भनेर उक्साई दिन्थेँ ।
मैले माउन्ट एभरेष्ट आरोहण गरिसकेँ भन्ने कुराले कान्यालाई पनि रोमान्चित बनायो । सायद उसको दिमागमा पनि हिमाल चढेको कल्पना आयो होला । केहीबेर टोलाई । हिमाल हेर्न नेपाल जान सुझाव दिएँ । जसरी समुन्द्रप्रति मेरो आकर्षण थियो त्यसैगरी हिमालप्रति कान्याको पनि आकर्षण रहेछ । उसले एकदिन पक्कै नेपाल जानेछु भन्ने वाचा गरी ।
ब्रेकफास्ट गरेर कोह्समेट आईल्याण्ड घुम्न जाने निधो ग-यौँ । लविसँगै जोडिएको होटलको रेष्टुरेन्टमा दश बजे सम्मलाई ब्रेकफास्ट खुला थियो । बफेट सिस्टममा राखिएको टोस देखी फलफूल सम्मको कम्तिमा पनि सय आईटमहरु थिए होलान् । तर स्वाद भने केहीको मन नपर्ने । अरु पकाएको खानाको त कुरै छाडौँ फलफूल समेत स्वादिलो लाग्दैन थियो । एकहप्ता सम्मको मेरो ब्रेकफास्ट सधै त्यहि अण्डा–टोस र कफी भयो ।
पतायाको बे–एरियाबाट कोह्समेट आईल्याण्ड पुग्न स्पिड बोटमा दुईघण्टा लाग्ने रहेछ । तिन हजार भाटमा बोट रिर्जभ गरेर एघार बजे हामी आईल्याण्ड तर्फ लाग्यौँ । निलो गगनमुनी, निलै कंचन समुन्द्र माथीको तुफानको जल यात्रा रोमान्चक थियो । टाढा–टाढा सम्म आँखाले भ्याउन्जेल हेर्दा पानी भन्दा अरु केही देखिदैन । कताकतै दुईतिन तला सम्मका कार्गो पानीजहाजहरु आफ्नो गन्तव्यतिर दौडिरहेका देखिन्थे ।
मेरो त्यो पहिलो समुन्द्र यात्रा थियो । त्यसैले होला कतिकति बेला त अत्यास नै लाग्थ्यो । मनमा अनेक कुरा खेल्न थाल्थे । जब मान्छे आफ्नो भुगोलबाट टाढा पुग्दो रहेछ तब घरपरिवार, आफन्त–साथीभाई, गाउँसमाज, देशको माया झन् बढी लागेर आउने रहेछ । छेउमा कान्या थिई, बोलीरहन्थी । धन्न मैले एक्लो महसुस चाँही गर्नु परेको थिएन ।
ठ्याक्कै दुई घण्टामा हामी कोह्समेट आईल्याण्ड पुग्यौँ । समुन्द्रको वीचमा स–साना रुख भएको, पानीले डुवाउनै लागे जस्तो देखिने एउटा सानो पहाड । त्यस्को फेदमा केही रिसोर्टहरु र अगाडी ठुलो घमाइलो समुन्द्रि तट । पर्यटकहरुको बाक्लो उपस्थिति थियो । कुनै रोमान्टिक बलिउड फिल्ममा देखिने समुन्द्रि तटको दृश्य जस्तो हुन्छ, त्यहाँको रियल दृश्य पनि त्यस्तै देखिन्थ्यो ।
दिनभर रमाईलो गरेर बेलुका पताया फर्किन जहाज चढ्यौँ । झमक्क साँझ परिसकेपछिको समुन्द्र यात्रा अझ रोमान्चक थियो । खुल्ला आकाश, झलमल्ल तारा । वियरको चुस्की । उनको सामिप्यतता अनि रमाईलो गफगाफ । जरुरी छैन हरेक सम्बन्ध बन्नलाई लामो समय लाग्नुपर्छ । केही सम्बन्धहरु यस्ता हुन्छन् जुन क्षणभरमै आत्मिय बन्छन् । सायद कान्या र मेरो सम्बन्ध पनि कतै त्यस्तै पो थियो कि !
त्यतिबेलै आकाशमा एउटा चम्किलो तारा खस्यो । हतारहतार मैले दुईहात जोड्दै आँखा चिम्लिएर मनमनै केही मागेँ । उनले त्यो देखेर अचम्म मान्दै सोधिन्, ‘के गरेको त्यस्तो ?’
‘तारा खस्दै गर्दा तिमीले जे विस गर्छौ त्यो पुरा हुन्छ ।’
‘ओ… इन्ट्रेस्टिङ्… अनि अहिले के माग्यौ त तिमीले ?’ उनले मुस्कुराउँदै सोधिन् ।
‘तिमी…’ मैले जिस्किदै भनेँ ।
‘सो स्विट…’ मलाई उनीतिर तान्दै किस गरिन् । पहिलो पटक ।
क्रमश…
दाहालद्वारा लिखित त्यो यात्राका अन्य सिरीज यहाँ क्लिक गरेर पढ्नुहोस् ।
…त्यो यात्रा
…त्यो यात्रा –२
...त्यो यात्रा –३
…त्यो यात्रा –४
…त्यो यात्रा –५
…त्यो यात्रा–६
…त्यो यात्रा–७
….त्यो यात्रा–८
समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित …त्यो यात्रा सीरीजको ११ श्रृङ्खला अर्को साता WWW. LOKPATH.COM मा प्रकाशन हुनेछ । WWW.LOKPATH.COM लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।
दाहालद्वारा लिखित कविता :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया