बुधबार १९ मङ्सिर, २०७५ Tuesday, 18 June, 2019

....त्यो यात्रा–८

भानु दाहाल

‘एक्स्क्युज मि सर ! प्लिज ओपन द डोर !... प्लिज सर...!’ ढोका ढक्ढक् गरे सँगै चर्को स्वरमा यो आवाज सुनेर झसंग भएर ब्युझिएँ । कोठामा झलल बत्ति बलिरहेकै रहेछ, टिभी पनि अन । टिभी हेर्दाहेर्दै कुनबेला झुलिसकेको रहेछु । 


ADVERTISEMENT

कहिलेकाँही टिभी हेर्दाहेर्दै वा पुस्तक पढ्दापढ्दै भुसुक्कै निदाउँने बानी छ । प्राय राति बेडमा उत्तानो लमतन्न सुतेर पढिरहेको हुन्छु । ओछ्यान तात्दै गएर कुनबेला निन्द्रादेवीले लगिसक्छिन् पत्तो हुन्न । बत्ति बलिरहेकै हुन्छ, पढिरहेको कितावले मुख छोपिदिन्छ । वा बेडबाट तल झरिसकेको हुन्छ ।

मध्यराततिर बाथरुम जान आमा उठ्दा मेरो कोठामा बत्ति बलिरहेको रहेछ भने म त्यसैगरी निदाएँ भन्ने आमालाई थाहा भईसक्छ । ढोका ढक्ढक् पार्दै, ‘बत्ति निभाएर सुत्’ भन्ने आमाको आवाज सुन्ने वित्तिकै आधी निन्द्रैमा उठेर धर्मराउँदै स्विच अफ गर्न जाँदा कयौँ पटक स्टडी टेबलमा घुडा ठोक्किएको छ । कहिलेकाँही त झ्वाट्टै करेन्ट लागे जस्तो भएर थुचुक्कै भुँईमा बस्न पुगिन्छ । अनी त्यहि टेबललाई एक किक हानेर उल्टै थप खुट्टा दुखाउँदै बत्ति निभाएर सुतेको छु । 

तर, आजको त्यो ढक्ढक् मेरी आमाको हातको थिएन । मेरो उही कोठाको ढोका पनि थिएन । मध्यरातमा एउटा होटल कोठाको ढोका किन खोल्न भनिन्छ ? बत्ति निभाउ भन्न त पक्कै होईन होला । केही आपत परेको हुनसक्छ । आँखा मिच्दै मोबाईलको होम बटन थिचेँ । एघार बजेर पचपन्न मिनेट गइसकेको रहेछ । ढोकातिर हेरेँ सुनसान छ । 

सपना पो हो कि भनेर एकछिन् त्यतिकै बसेँ । कान थापेर सुनें, फेरी उहि आवाज आइरहेको छ । ‘प्लिज सर.. ओपन द डोर...’ ढक्ढक्...। मनमा अनेक शंका उपशंका खेलाउँदै सुस्तरी ढोका खोलेँ । धन्न ! मेरो भन्दा ठिक पल्लो कोठाको ढोका पो ढक्ढकाएको रहेछ । त्यतिन्जेल सम्म ढक्क फुलेको मुटु आफ्नै लयमा फर्कियो । लामो सास फेरेँ । सजिलो महसुस भयो । 
    
प्यासेजभरि आधा दर्जन जति संख्यामा होटलको सेक्युरिटि रहेछन् । वरीपरि कोठाको गेष्टहरु पनि आ–आफ्नो ढोकामा उभिएर रमिता हेरिरहेका थिए । सानो प्यासेजमा बजारनै लागिसकेको रहेछ । त्यो फ्ल्लोरको रुमहरु मध्ये अन्तिममा ढोका खोल्ने म नै थिएँ होला सायद । मैले जिज्ञासु हुँदै सेक्युरिटितिर हेरेँ । 

‘सरी फर इन्कन्भिनियन्स् सर !’, एकजना म नजिकै आएर भन्यो ।     

‘इट्स् ओके !’

मुखले ठिकै छ भनेपनि मनमनै चाँही मध्यरातमा डिस्टर्व गर्ने अनि सरी भनेर ठिक्क पार्ने भनिरहेको थिएँ । हुन त उनीहरु पनि बाध्यतामा थिए । म लगायत त्यँहा रहेका गेष्टको निन्द्रा भन्दा पनि त्यो कोठाभित्र घटेको घटना महत्वपुर्ण थियो । अरु विकल्प भएको भए उनीहरुले पनि पक्कै यसरी डिस्टर्व गर्ने थिएनन् होला । त्यति लामो समय सम्म ढक्ढक् गर्दा पनि अझै त्यो कोठाको ढोका खुलेको थिएन । 

अन्तिममा, अव पनि ढोका नखोल्ने हो भने पुलिस कल गर्छु भनेपछि बल्ल ढोका खुल्यो । भित्र बेडबाट एकजना केटी रुदैँ दौडिएर ढोकामा आइपुगि । रुँदै उसले थाई भाषामा के–के भनि त्यो त हामीले बुझ्न सकेनौँ । एकजनाले अलिक चर्को स्वरमा ‘रेप’ भनेर उनलाई कन्र्फम गराउँन जिज्ञाषा राख्यो । उनले हो भन्ने अर्थमा टाउको हल्लाईन् । उसको त्यो रेप शब्दले एकाएक त्यँहाको माहोल स्तब्ध भयो । च्यातिएको मसाज गाउनले उनको पुरै लाज ढाकिरहेको थिएन । एकातिर तान्थिन् अर्कोतिर देखिन्थ्यो । भित्रबाट एकजना सेक्युरिटिले मसाज टावेल ल्याएर बेरिदिएपछि बल्ल उनले ढुक्कको सास फेरिन् । 

हाम्रो इज्जत जोगाईदिन वा लाज ढाकिदिन कपडाको कति सम्म महत्व हुन्छ भन्ने कहिले काँहीका आकस्मिक घटनाले बताईदिन्छन् । हलिउड, बलिउड मात्र होईन हाम्रो कलिउडमा पनि कहिलेकाँही हिरोईनहरुको सार्वजनिक स्थलमा ड्रेसअपको मालफंसनिङ्का घटनाहरु मिडियामा खुव हाईलाइटेड भएर आईरहेका हुन्छन् । कतिले चर्चामा आउँन जानीजानी पनि त्यस्तो हर्कत गर्छन् भने कतिपयको असावधानी वा पहिरनले दिने धोकाले पनि त्यस्तो भईदिन्छ ।

एकपटक एउटा होटलमा प्रोग्राम थियो । मलाई कार्यक्रम संचालकको जिम्मेवारी दिईएको थियो । हल खचाखच भरिईसकेको थियो । कार्यक्रम सुरु हुनु भन्दा केही मिनेट अगाडी फ्रेस हुनुप¥यो भनेर वाथरुम गएँ । पिसाव फेरेर पाइन्टको फस्नर लगाउँन खोज्दा फस्नर नै बिग्रियो । उता कार्यक्रम सुरु गर्नेबेला भईसक्यो यता फस्नर लाग्दैन । आपत प¥यो, चिट्चिट् पसिनै निस्किसक्यो । केही उपाए नलागेपछि पाइन्ट भित्र घुसारेको सर्ट बाहिर निकालेँ । बाहिरबाट छोपियो भन्ने थोरै राहत त मिल्यो, तर फस्नर लगाए जस्तो ढुक्क कहाँ हुन्थ्यो र !

असजिलो लागिरहेको भएपनि छड्के परेर स्टेजमा उक्लिएँ । धन्न पोडियमको पछाडी उभिएर बोल्नु पर्ने भएकोले ठूलै राहत मिल्यो । तिन घण्टाको कार्यक्रम अबधिभर मेरो सारा ध्यान भने त्यहि बिग्रिएको फस्नरमै घुमिरहेको थियो । कसरी कार्यक्रम चलाएँ आँफैलाई थाहा थिएन । पछि साथीको रिभ्यु सुनेपछि भने स्टेजको जिम्मेवारी राम्रै सँग पुरा गरेछु भन्ने लाग्यो । अझै पनि स्टेजमा चड्दै गर्दा त्यो घटना मेरो दिमागमा टुप्लुक्क आईपुग्छ । तपाईँहरुको पनि कपडाले धोका दिएको कुनै घटना होलान् ! छन् भने यतिबेला सम्झिएर मुसुक्क मुस्कुराउँदै हुनुहुन्छ वा अलिकति लाज मान्दै हुनुहुन्छ ।  

अँ.. हामी त्यो छिमेकी कोठाको कुरा गर्दै थियौँ । त्यो रुममा भएछ के भने एकजना अधबैंसे इण्डियन बसेको रहेछ । राति मसाज गराउँन तल डेक्सबाट मसाज गर्ल रुममा बोलाएछ । मसाजको दौरानमा उसले यौन सम्बन्धको प्रस्ताव गरेछ । तर केटीले इन्कार गरिछ । मसाज गर्दैगर्दा यौन सम्बन्ध हुनसक्छ तर केटीले सहमति दिएको हुनुपर्छ । त्यसको लागि छुट्टै चार्ज तिरिसकेपछि दुबैको सहमतिमा हुने हो । यतिन्जेल सम्म यसको पनि एउटा प्रक्रिया पुरा भईसकेको हुन्छ । 

तर, त्यो इण्डियनले जर्वजस्ती सम्बन्ध राखेछ, त्यो पनि विना प्रोटेक्सन् । रुम मसाज गर्लको ड्रेस वान पिस गाउन हुन्छ । त्यस्तो कार्यको लागि एकदम फ्रेण्डली । त्यसको फाईदा उठाउँदै उसले त्यो हर्कत गर्न सक्यो । एकदुई हजार भाट लिएर केटी गइहाल्छे, भईहाल्छ भन्ने उसले सोचेछ । तर विना सहमति भएको भनेर केटीले आफ्नो अडान राखी, झगडा शुरु भयो । केटीलाई पैसाको प्रलोभन देखी मार्ने सम्मको धम्की दिएर बन्धक नै बनाएछ । एक घण्टाको मसाज टाईम वितेर दुई घण्टा भईसक्दा पनि नआएपछि मसाज डेक्सले रुममा कल गरेछ । ल्याण्डलाईन कल रिसिभ भएन, उनको सेल फोन पनि उठेन । त्यसपछि त्यो रुममा सेक्युरिटि हस्तक्षेप भएको रहेछ । 

यौन व्यवसायमा उदार भनेर चिनिएको थाइल्याण्ड जर्वजस्ती यौन क्रियाकलापमा भने कठोर छ । आपसी सहमति विना त्यस्तो कार्य गर्नु भनेको सुलीमा चड्नु वा सोसरह हो । बलात्कारीलाई मृत्युदण्डको सजायसम्म हुने कानूनी व्यवस्था छ । उनले त्यो इण्यिनले बलात्कार ग-यो भन्ने आरोप लगाईसकेकी थिईन् । होटल प्रशासनले सकभर यो केस प्रहरी सम्म नपु¥याउँन खोजिरहेको थियो । उनलाई क्षतिपूर्तिको माग गर्न भनियो । उनले एकलाख भाटको माग गरिन् । 

मध्ये रात समेत ढल्किन थालिसकेको थियो । उनीहरुले यो विषयमा भोली कुरा गर्ने भनेर त्यो मसाज गर्ललाई लिएर गए । हामी आ–आफ्नो कोठामा छि¥यौँ । कोठामा छिर्नु भन्दा अगाडी घाँटी तन्काएर लमतन्न सुतिरहेको त्यो इण्डियनलाई हेरेँ । उ निष्फिक्रि सुतेर टिभी हेरिरहेको थियो । किन्चित सुर्ता थिएन । यस्तो लाग्थ्यो कि त्यँहा केहि भएकै छैन । उसँग केही सम्बन्धित नै छैन । अघिको घटना भन्दा उसको रवैया देखेर म चकित परेँ । मलाई लाग्यो उ पक्कै नसामा छ ।

उनी सँग घटना शेयर गर्नुप-यो भनेर बेडमा पुगेर मेसेन्जर खोलेर हेरेँ । दुई घण्टा अगाडि नै अफलाईन भईसकेकी थिईन् । अघि साँझ संयोगवस् भेटिएकी साथी उनी सँगै थिईन् । उतै गफमा भुलिएर होला मलाई शुभरात्री समेत भन्ने हेक्का भएनछ । खाली बसेको पल्लो सिरानी मुनी फोन घुसारेर पल्टिएँ । कफीको तलतल लाग्यो । कहिलेकाँही आधा रातमा ब्युझिँदा पनि कफी पिउँन मन लाग्ने हरामी बानी अझै हटेकै छैन ।

मनमनै कल्पना गरेँ– उनि सँगै सुतेकी भए कफी बनाउन न भन्न त पाइन्थ्यो होला । सेतो सफा तन्ना ओछ्याएको फराकिलो बेडको आधा भाग खाली नै थियो । कल्पना नै सहि त्यो खाली ठाँउ एकछिन् एकोहोरो हेरिरहेँ । मज्जा लाग्यो । दिमागमा एउटा रोमान्टिक क्षणको परिकल्पना गरेर त्यसैमा हराउँनुको मज्जा पनि बेग्लै छ । तर साच्चै उनी त्यँहा भएकी भए त्यति रोमान्टिक नहुन सक्थ्यो जति मैले कल्पना गरिरहेको थिएँ । परिकल्पना जस्तो सुन्दर त बास्तविकता हुदै हुदैन ।    

अगाडी सानो टि–टेबलमा कफी पट, कफी, सुगर व्याग र हात्तिको चित्र अंकित ठूल्ठूला दुईवटा कप सजाएर राखिदिएको थियो । म एक्लै थिएँ, कप चाँही दुईवटा नै राखिदिन्थे दिनै पिच्छे । रुम सफा गर्नेहरुले मलाई जिस्काए झै लाग्यो । मेरो पालो दुईवटै कपमा निम्ठै हुनेगरि कफी हालेँ । एउटा फोटो खिचेर उनको मेसेन्जरमा पठाईदिएँ । एक कप कफी पिई सक्दा रातको एक बजिसकेको थियो । एक कप त्यतिकै छोडिदिएँ । सुत्ने बेलामा कफी खाएपछि हत्तपत्त निन्द्रा कँहा लाग्थ्यो र ! टाइमरमा राखेर नारायण गोपालको गित सुन्दै कोल्टे फेर्दाफेर्दै कुनबेला भुसुक्कै निदाएछु । 

आजको हाम्रो भ्रमण ‘फ्लोटिङ’ मार्केटबाट शुरु हुँदै थियो । बैंकक सहरबाट सय किलोमिटर दक्षिण पश्चिममा रहेको ‘डामोइन सडुक फ्लोटिङ मार्केट’ बैंकक पुग्ने पर्यटकको आकर्षक गन्तव्य हो । थोमले त्यो मार्केट हुँदै वाट अरुण, गोल्डेन बुद्ध, राजदरबार हुँदै मुख्य सहर घुमाउने योजनाका साथ उही परिचित ड्राईभर फिउलाई पठाएका थिए । हामी बिहान नौ बजे ब्रेकफास्ट गरेर निस्कियौँ । चर्कोगरि घाम नलागे पनि चर्को गर्मी थियो । गाडीभित्र एसी अन हुनेहुँदा महसुस हुन्थेन, तर बाहिर निस्किने बित्तिकै हपक्कै हुन्थ्यो । 

जंगलभित्र हाईवेको एक फिउल सेन्टरमा डिजेल भर्न फिउले गाडी रोके । उनले कति लिटर डिजेल भरे याद गरिएन तर त्यति फिउल राखे बापत चार बोटल पानी फ्रिमा पाए । थाइल्याण्डमा फिउल भर्दा फ्रिमा पानी दिने चलन रहेछ । त्यहाँ  पिउने पानीलाई निक्कै महत्व दिएको पाईन्थ्यो । कुनै रेष्टुरेन्टमा खान जाँदा पानी अनिवार्य किनेरै खानुपर्ने । हाम्रोतिर भए बस्ने बित्तिकै जारकै पानी टक्रक्क टेबलमा आईपुग्छ । त्यँहा पानीको मुल्य पनि महँगो, एक बोटल वियर र एक बोटल पानीको मुल्यमा खासै ठुलो अन्तर थिएन । 

डेढ घण्टामा हामी र्याचबुरी प्रोभिन्सको अलि अविकसित जस्तो देखिने एक गाउँमा पुग्यौँ । त्यँहि रहेछ चर्चित डामोइन सडुक फ्लोटिङ मार्केट । फिउले हामीलाई टिकट काउन्टर अगाडी पु¥याए । दुई घण्टा डुंगा चडेर मार्केट घुमेको पाँच सय भाट प्रति व्यक्ति रहेछ । टिकट काटेर बोट चड्दै गर्दा एकजना युवती आएर हाम्रो फोटो खिचिन् । हामी दुई घण्टा घुमेर आउन्जेलसम्म त्यो मार्केटको व्याकग्राउण्ड राखेर फोटो बनाईदिने भनिन् । चार्ज लाग्ने रहेछ दुई सय पचास भाट । यदि फोटो मन परेन भने नलिए पनि हुने उनको भनाई थियो । 

हामी जस्तो कयौँ पर्यटकको फोटो खिचिसकेकी मान्छेले मन नपर्ने फोटो बनाउलिन् भन्ने शंका गर्ने त कुरै थिएन । तर, त्यो फोटोको क्वालिटि वा टिकाउ कत्तिको हुनेछ भन्ने कुरामा भने शंका गर्ने ठाउँ थियो । गोर्खाको मनकामना मन्दिरमा पनि त्यसैगरी फोटो खिचिदिन्छन् । एकैछिनमा पृष्ठभुमीमा मनकामना मन्दिर राखेर फोटो पनि तयार हुन्छ । तर, त्यो फोटो एकदुई बर्ष पछि रगं उडेर फुगं हुन्छ, बाँकी रहने फ्रेम मात्र हो । कतै उनले खिचेको फोटो पनि त्यस्तै हुने त होइन भन्ने शंका चाँही मनमा लागिरहेको थियो । 

उनलाई अंगालो मारेर एउटा फोटो खिच्न लगाएँ । फोटो खिचिसकेपछि उसले दाहिने हातले इसारा गर्दै ‘स्विट कपल’ भनि । यो क्षण पछि सम्म सम्झनामा रहिरहने खालको फोटो बनाईदिने बाचा गर्दै उ ओझेल परी । फोटो खिचाउँने बेला उनी जर्बजस्ती मुस्कुराएकी थिईन् । उनको मुड अफ छ भन्ने मैले बुझिसकेको थिएँ । तर, अचानक किन मुख फुलाईरहेकी छिन् भन्ने चाँही मैले भेउ पाएको थिइँन । विना कारण नै रिसाईहाल्ने फेरी एकैछिनमै फुरुक्क पर्ने उनको चनचले बानीमा म अभ्यस्त भईसकेको थिएँ ।  

केहीबेर पछि उनी मतिर फर्किदै सोधिन्–

‘यो फोटो बनाउँनुको के अर्थ छ ?’

‘यो पलको याद कैद गर्न ।’

‘नेपाल पुगेर आफ्नो कोठाको भित्तामा यो फोटो झुण्ड्याउँने हिम्मत छ ?’ उनले चुनौती दिएको हाउभाउमा कडा सवाल राखिन् । 

‘अहिले नै चाँही छैन ।’ फिस्स हाँस्दै जवाफ दिएँ । 

‘त्यसो भए यो फोटो बनाउँनुको कुनै अर्थ छैन ।’ व्यागबाट कालो चस्मा निकालेर लगाउँदै भनिन् । 

बत्तिस किलोमिटर लामो फराकिलो नहर एउटा पुरानो बस्ती भित्र घुमेको छ । त्यो नहरमा सयौँ स–साना डुंगाहरु चलेका छन् । पसल र बिक्रेताहरु पनि डुंगामै छन् । क्रेता वा हामी जस्तो घुम्नेहरु पनि डुंगामै । अझ भनौ पानी माथी नै बजार छ । स्थानिय कृषकहरुले आँफुले गरेको उत्पादन वा व्यापार गर्न ल्याएको सामान डुंगामा चिटिक्क सजाएर राखेका छन् । उमेरले नेटो काटिसकेका बृद्धबृद्धा पनि डुंगा खियाउँदै बिक्रि गरिरहेको देख्न पाईन्थ्यो । अझ रोचक त उनीहरुले लगाएको गाउँको पहिचान झल्किने कपडा र शिरमा आकर्षक ह्याट थियो ।

काठले बनेका स–साना घर, घरको अगाडी कम्तिमा एउटा डुंगा पार्क गरिराखेको थियो । स्थलमार्ग थिएन, पुरै जल मार्ग । सवारीसाधन भन्नु नै काठको डुंगा । वा अलि हुनेखानेको आधुनिक डुंगा । बस्ती पुरानो देखिन्थ्यो, भनौ त्यसैलाई संरक्षण गरेको हो । त्यहि देखाएर लाखौँ पर्यटक भुलाईदिन सक्ने थाईहरुको खुवी मान्नै पर्छ । बिशेष केही छैन तर भिन्न छ । समुन्द्र बाहेक जतिपनि घुम्ने ठाउँहरु छन् ति मानव निर्मित हुन् । कसरी मान्छेलाई आर्कषित गर्न सकिन्छ भन्ने ध्येयले निर्माण गरिएको छ । ति सँग हाम्रो देशलाई दाँजेर हेर्ने हो भने हामी सँग धेरै छ । उनीहरु सँग केहि थिएन बनाए, हामी सँग धेरै थोक छ तर बनाएनौँ । बिडम्वना त्यहि हो । 

दुई घण्टा बजार घुमाएर डुंगाले हामीलाई उही पोर्टमा ल्याईदियो । वरीपरि मार्केट बीचमा हामी दुई मुसुक्क मुस्कुराएको ठुलो फोटो बोकेर त्यो युवती हाम्रै प्रतिक्षामा थिई । फोटो देखाउँदै सोधि, ‘कस्तो लाग्यो ?’

‘धेरै राम्रो ।’ फोटो समाउँदै मैले भनेँ । 

उनलाई त्यो फोटो देखाउँदै भनेँ, ‘हेर त कस्तो राम्रो आएछ है ।’

‘अँ’, उनले यहि एक शब्द भन्दा बढी केही भनिनन् । 

अपरान्हको एक बज्न लागिसकेको थियो । बिहान खाएको ब्रेकफास्टले पनि साथ छोडिसकेको थियो । कतै राम्रो रेष्टुरेन्टमा लन्च गराउँन लैजान फिउलाई आग्रह गरेँ । बाटोतिरै राम्रो रेष्टुरेन्ट भेटिने भन्दै उनले फर्किने हाईवे तर्फ मोटर हुईँक्याए । आज अलि फरक खालको खाना टेष्ट गर्नुप-यो भन्ने सोचिरहेको थिएँ । 

उनै फिउको सेल फोन मागेर गुगल सर्च गरेँ । स्क्रिनमा थाईल्याण्ड आएर छुटाउनै नहुने भनेर सय वटा भन्दा बढी फुड मेनु आयो । त्यसमा अधिकांश पोर्क वा फिसको आईटम थियो । पोर्क त चल्नेवाला थिएन, अरु पनि सबै टेष्ट गर्न सम्भव पनि थिएन । के खाने भन्ने उनको र मेरो छलफल नसकिदै मिस्टर फिउले राजमार्गको एक शान्दार थाई रेष्टुरेन्टमा पु¥याए ।

थाईहरु हस्पिटालिटिमा रसिला छैनन् । भलै देशको आर्थिक आयको मुख्य स्रोत पर्यटन नै किन नहोस् । अझ इण्डियन पर्यटक प्रति त पुरै नकारात्मक । नेपालीलाई पनि इण्डियन नै भन्ठान्छन्, हरेक ठाउँमा हामी इण्डियन होइनौँ भनिरहने कुरा पनि भएन । तर, यहाँ भने उनीहरुले राम्रै ट्रिट गरेका थिए । 

हलको अन्तिमतिरको एउटा टेबल हामीले ओगट्यौँ । छेउको अर्को टेबलमा भियतनाम लेखेको टिसर्ट लगाएका एक जोडी लञ्च गरिरहेका थिए । केहिबेरमा उनीहरुको टेबलमा छाला खुईल्याएको सिँगै सर्पको रेसिपि आईपुग्यो । त्यो देखेपछि त के चाहियो र ! वाक्क्...गर्दै उनी भमिट गर्न बाथरुम दौडिहालिन् । 

फिउले अचम्म मान्दै सोध्यो, ‘मादम (उसकै लवजमा) लाई के भयो ?’

मैले मुसुक्क मुस्कुराउँदै भनेँ, ‘सि इज प्रेग्नेन्ट ।’  

क्रमश... 

भानू दाहालद्वारा लिखित  कथाको पहिलो, दोस्रो , तेस्रो, चौथो, पाँचौँ र छैटौँ  भाग छुटाउनुभएको थियो ? तलको लिंकमा क्लिक गर्नुहोस् । 

...त्यो यात्रा  

...त्यो यात्रा –२

...त्यो यात्रा –३

...त्यो यात्रा –४

...त्यो यात्रा –५ 

...त्यो यात्रा–६

...त्यो यात्रा–७ 

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको आठौँ श्रृङ्खला अर्को साता  WWW. LOKPATH.COM मा प्रकाशन हुनेछ । WWW.LOKPATH.COM लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।

दाहालद्वारा लिखित कविता : 

-तिमिलाई छोरी मन पर्दैन ?

-महाराज ! उडाइदिउँ केसीलाई

Leave a comment