भानु दाहाल
सानो भोल्युममा गित सुन्दै आफ्नै धुनमा स्टेरिङ् घुमाइरहेका फिउको फोन तारन्तार बजिरहेको थियो । फोन स्क्रिनमा यसो आँखा पु-याउँथे, तर फोन रिसिभ गरिरहेका थिएनन् । तिनचार पटक नै लगालग फोन आएपछि भने उठाउँनै पर्ने बाध्यतामा परे । एकैछिन उसकै भाषामा कुरा गरेपछि पछाडी मलाई फोन दिदै भने, ‘योर्र नेपाली फ्रेण्ड ।’
अरे ! उसको फोनमा को नेपालीले कल ग¥यो ? हामी उ सँग छौँ भनेर कसरी थाहा भयो ? म चकित परेँ । कान सम्म फोन पु¥याएर ‘हेल्लो…’ भनिसक्न नपाउँदै उताबाट सोधियो, ‘घुमघाम कस्तो भईरहेको छ भाई ?’
‘गज्जब’, मैले भनेँ, ‘तर तपाईलाई चिन्न सकिन नि ?’
‘स्वरबाटै त नचिन्न सक्छौ, भेट भयो भने चाँही पक्का चिन्छौ’, दाईले हाँस्दै भने, ‘बाई द वे, म तिम्रो लस्सी दाई ।’
‘ओहो ! लस्सी दाई, कसरी यो नम्बर पत्ता लगाउँनु भयो ?’ मैले आश्चर्य मिश्रित स्वरमा सोधेँ ।
‘मैले चाहेँ भने अहिले उत्तर कोरियाको राष्ट्रपतिको नम्बर त पत्ता लगाईदिन सक्छु, तिमी त मेरो भाई’ दाईले जिस्किदै भनेँ ।
मेरो थाईल्याण्ड घुमघामको प्रबन्ध मिलाउँने थोमबाट ड्राईभरको नम्बर पत्ता लगाएका रहेछन् । लस्सी दाई बैंकक बस्छन् भन्ने त थाहा थियो तर भेट गर्न मैले कुनै प्रयत्न गरेको थिईन् । विदेश बस्ने नेपालीहरु सधै व्यस्त भएको सुनाउँछन् । जरुरी काम नै नपरी व्यस्त मान्छेलाई किन डिस्टर्व गर्नु भन्ने लाग्छ । त्यसैले पनि दाई सँग सम्पर्क गर्ने जाँगर चलेको थिएन ।
फोनमा दाई र मेरो लामै कुराकानी भयो । भेट नभएको त आधा दशक नाघिसकेको थियो होला । मेसेन्जरमा अन्तिम पटक कुराकानी भएको पनि एक बर्ष बितिसकेको थियो । दाईले बेलुका ठिक पाँच बजे बैंककको व्यस्त बजार प्रतुनाम स्थित ईन्द्र स्क्वायर (सुपर मार्केट) को गेटमा भेट्ने तय गरे । यता उनले र मैले साँझमा क्रुज डिनरको प्लान गरेका थियौँ । तर आज दाईलाई नभेटी नहुने भयो । दाईको फुर्सद एक हप्ताको लागि आजै मात्र रहेछ । फोन राख्ने वित्तिकै उनले सोधिन्, ‘को दाई हो ? कस्तो फन्नि नेम, लस्सी !’
‘दाईको नाम लस्सी होईन । हामीले बोलाउँने निक नेम’, मैले भनेँ ।
उत्सुक हुँदै मतिर हेरेर सोधिन्, ‘कसरी बस्यो त त्यस्तो नाम ?’
‘लस्सी दाईको सहोदर भाई र म एकदमै मिल्ने क्लासमेट थियौँ । चार बजे क्लास सकिने वित्तिकै घरमा झोला फालेर सिधै रुद्रमती चौरमा फुटबल खेल्न पुगिहाल्थ्यौँ । लस्सी दाईको सिनियर टिममा सधैजसो खेल्ने मौका मिल्थ्यो । नमिलेको दिनमा भने उनीहरुले आउट हानेको बल ल्याउँदैमा ठिक्क हुन्थ्यो । दाई आँफै टिमको क्याप्टेन थिए । यताउता मिलाएर हामीलाई पनि मौका दिईहाल्थे । ति दिनहरुमा प्रायः हरेक अपरान्ह त्यहि चौरमा बित्थ्यो ।
चौरको अगाडीपट्टि काभ्रेली दाईको लस्सी पसल थियो । त्यँहा मसालेदार लस्सी खानेको सधै भिड हुन्थ्यो । म्याच सकिएपछि थाकेर चौरमै बसिरहेको बेला दाईले लस्सी खान लैजान्थे । दाईको झोलामा छापा हानेर खाएको गुल्कोज र पानीले समेत मेटाउन नसकेको प्यास लस्सीले मेटाईदिन्थ्यो । भोक र तिर्खा लागेको बेलमा लस्सी खान पाउँनुमा स्वर्गिय आनन्द मिल्थ्यो । दाईले सधैजसो लस्सी खुवाए तर कहिल्यै पैसा तिरेको देखिएन । सधै साहुलाई उधारो खातामा लेख्न लगाएर हिड्थे ।
एकपटक दाई बिरामी भएर निक्कै दिन फुटबल खेल्न जान सकेनन् । हामीलाई खेलिसकेपछि लस्सी खाने बानी परिसकेको थियो । दाई नभएपछि साहुले हामीलाई उधारो दिने कुरै थिएन । अव पैसा तिरेर खानुको बिकल्प थिएन । दिउँसो खाजा नखाई पैसा जोगाएर बेलुका लस्सी खान थाल्यौ । एक हप्ता जति पछि एकदिन काभ्रेली साहुले सोध्यो, ‘तिमीहरको लस्सी दाई कता गयो आजकाल ?’ साथीले दाई बिरामी भएर घरमै सुतिरहेको बतायो । साहुजीले भनेको ‘लस्सी दाई’ निक नेम हामीलाई फन्नि लाग्यो । घर फर्किदै गर्दा सल्लाह ग-यौँ– अव देखी दाईलाई लस्सी दाई भनेर बोलाउँने है ।
दाईले हामीलाई धेरै लस्सी खुवाएका थिए । त्यहि नामले बोलाउँदा लस्सी खुवाएको याद सधै रहिरहनेछ भन्ने लाग्यो । एकपटक दाईले ‘किन यस्तो नाम राखेको ?’ भनेर सोधेका पनि थिए । हामीले कारण बताईदिएपछि केही भनेनन्, फिस्स हाँसे मात्र । अनि त झन् बल पुग्यो, हरिशंकर दाई सधैको लागि हाम्रो लस्सी दाईमा परिणत भए । अलि पछि त्यो पसल बन्द भयो । दाईले उधारो खाता चुक्ता गरे कि गरेनन् थाहा छैन । तर, त्यहि पसलले जुराईदिएको नाम भने हामी सँग रहिरह्यो ।
लस्सी दाईले त्यतिबेला ठमेलमा ट्राभल एजेन्सी चलाउँथे । बिस्तारै उनको ट्राभल निक्कै चल्न थाल्यो । त्यसपछि व्यवसायकै लागि दाई बैंकक बस्न थाले । थाईल्याण्डकै एक साथी सँग मिलेर उतै शाखा पनि खोले । उनी धेरै समय बैंकक बस्थे, कहिले काँही मात्र नेपाल आउँथे । यता हामी पनि पढाईतिर ध्यान दिन थाल्यौँ । नेतृत्व गर्ने उनी नभएपछि फुटबलको टिम पनि तितरबितर भयो । हाम्रो झण्डै दुई बर्षको फुटबलको त्यो कहानी त्यँही अवसान भयो ।
केही समयपछि लस्सी दाई नेपाल आएर धुमधाम सँगले बिहे गरे । भाउजुलाई परिवार सँग काठमाण्डौ नै राखे, दाई भने बैंकक बसे । बेलाबेला आउँथे, एकदुई पटक भाउजुलाई घुमाउन थाईल्याण्ड पनि लगे । तर, भाउजुले जति जोड गरेपनि उतै राख्न भने मानेनन् । डेढ बर्ष जति पछि छोरी जन्मिन् । त्यहि ताका दाईले बषौँ देखी उता थाई केटी बिहे गरेर बसेको कुरा पनि यता भाउजुले चाल पाईन् । अव परिवारमा महाभारत सुरु भयो ।
सासु–ससुराले बुहारी नातिनिलाई असाध्यै माया गर्थे । बरु छोरो त्याग्न तयार थिए तर बुहारीले घर नत्यागोस् भन्ने चाहन्थे । हरसम्भव प्रयास पनि गरे । आखिर लोग्ने नै आफ्नो नभएपछि सासुससुराको मुख हेरेर कुन चाँही बुहारी बस्न सक्छे र ! अन्ततः नाबालिका छोरी बोकेर भाउजुले घर त्यागिन् । डिभोर्स नगर्न, भाउजुलाई फकाउँन दाईले अनेक प्रयत्न गरे भन्ने सुनिएको थियो । तर, त्यो प्रयत्न काम लागेन । एक बर्षपछि कानूनी रुपमै डिभोर्स भयो । त्यसपछि दाई पुर्णकालिन थाईल्याण्डकै बासिन्दा भए । आधा दशक बितिसक्यो दाई अहिलेसम्म नेपाल गएका छैनन् ।’
अघि देखी ध्यान दिएर लस्सी दाईको कहानी सुनिरहेकी उनले मेरो देब्रे हत्केलामा आफ्नो औँला खेलाउँदै सोधिन्, ‘यता बिहे गरिसकेपछि फेरी नेपाल गएर अर्को बिहे किन गरेको होला है दाईले ?’
‘परिवारले नेपाली केटी नै चाहिन्छ भन्ने दवाव दिएको हुनसक्छ ।’ मैले अनुमानित जवाफ दिएँ ।
‘त्यसरी त दुवै केटीलाई धोका भयो’, मेरो आँखामा आँखा जुधाउँदै भनिन्, ‘र, त्यो भर्खरै जन्मिएकी छोरीलाई पनि…।’ यति भनिसक्दा उनको गला अबरुद्ध भयो । अनुहार मलिन पारिन् ।
‘वाट अरुण’ लेखेको ठुलो गेट अगाडी फिउले गाडी रोके । गाडीको ढोका खोलिदिदै उनले भने– यो वाट अरुण घुमिसकेपछि पछाडीको गेटबाट उता निस्किनुस् । त्यँहाबाट पानीजहाज चढेर पारीपट्टि गोल्डेन बुद्ध टेम्पल घुम्नुस् । त्यसकै अगाडी पुरानो राजदरबार छ । त्यो घुमिसकेपछि दरबारकै पार्किङमा हाम्रो भेट हुनेछ । म अर्को बाटोबाट त्यँहा पुगेर कुरिरहने छु । इन्जोय द भिजिट !
गेटमा पचास भाटको टिकट काटेर हामी भित्र छि¥यौँ । ठुलो क्षेत्रफमा फैलिएको बुद्धिष्ट मन्दिरको रुपमा सत्रौँ शताब्दीमा बनेको सेतो रङको कलात्मक भव्य मन्दिर रहेछ । जति क्षेत्रफलमा फैलिएको छ उति नै अग्लो पनि । यदि मैले ढाका टोपी लगाएको थिएँ भने त्यो मन्दिरको टुप्पो हेरिन्जेल सम्म मेरो टोपी पछाडी भुईँमा खसिसक्थ्यो होला । भनिदो रहेछ– बैंकक शहरमा झुल्किने घामको पहिलो किरण त्यहि मन्दिरको टुप्पोमा पथ्र्यो । तर, अहिले त्यो भन्दा अग्ला महलहरु सहरमा जताततै देखिन्छन् ।
आधा घण्टा घुमेर हामी पछाडीको गेटबाट बाहिर निस्क्यौँ । गार्डेनको इण्डमा पानीजहाज पोर्ट रहेछ । जहाज चड्न लाईनमा उभिएका पर्यटकको घुइँचो थियो । एकपटकमा दुईसय जति मान्छे बोक्ने साना पानीजहाजहरु ओहोरदोहोर गरिरहेका थिए । एक जनाको पाँच भाटको टिकट काटेर पारी जान हामी पनि जहाज चड्यौँ । पारीपट्टिको गोल्डेन बुद्ध पुग्न दश मिनेट मात्र लाग्ने रहेछ । जुत्ता खोलेर त्यँहि झुण्ड्याई राखेको झोलामा बोकेर भित्र जानु पर्ने नियम रहेछ । लमतन्न सुतेका बडेमानका सुनौलो बुद्धलाई एक फन्का मारेर हामी बाहिर निस्क्यौँ । लुम्बिनिको हरेक विहार नियाली सकेका हामीलाई त्यँहाको कलात्मकताले रोकिराख्न भने सकेन ।
मन्दिरको परिसरमा अन्य सयौँ बुद्धका स–साना मुर्तिहरु छन् । ध्यान गर्ने, अध्ययन गर्ने ठाउँहरु छन् । घुम्नको लागि ठुलो पार्कको व्यवस्था छ । पार्कमा फोटो खिच्ने पर्यटकको घुईँचो थियो । हामीले पनि केही फोटो खिचेर दरबारतिर जाने गेटबाट बाहिर निस्क्यौँ । झण्डै पाँच मिनेटको पैदल दुरीमा पुरानो राजदरबार रहेछ । दरबारको गेटै अगाडी आईसक्रिम, फलफुल, जुस, पानी लगायत बेच्न बसेका ह्याटवाला बिक्रेता र पर्यटक क्रेताको भिडभाड थियो ।
दुईवटा आईसक्रिम अर्डर गरेर उनले चारैतिर आँखा घुमाईन् । उनका आँखाले के खोजिरहेको हो भन्ने मैले बुझिसकेको थिएँ । चटपटे र पानीपुरी खान नपाएर उनलाई औडाहा भईसकेको थियो । हरेक मान्छेमा खाने, पिउने केहि न केहि कुराको लत भएकै हुन्छ । भलै त्यो चिया कफी कै किन नहोस् ! गुट्खा वा सुपारी टोक्ने नै होस् लत अजिव हुन्छ । अझ लागु पदार्थको लत हो भने त झन् खतरनाक हुने भईहाल्यो ।
एकपटक कलेजका हामी छ जना साथीहरु नेपाली नयाँ बर्ष मनाउँन आकस्मिक योजना बनाएर अघिल्लो दिन पोखरा पुगेका थियौँ । भोलिपल्ट खाना खाएपछि दिनभर पाइडलवाला डुंगामा फेवातालमा तैरिने भयौँ । टुवोर्ग, ड्राईफुड, फलफुल, पानी लगायत डुंगामा लोड भएपछि हाम्रो जलयात्रा सुरु भयो । बियर र अन्ताक्षिरीले रमाईलो माहोल भैरहँदा पनि एकजना साथी एकदमै उदास देखियो । उ गाँजाको डोज नपुगेर यस्तो भयो भनेर बुझ्न हामीलाई गा¥हो थिएन । बरु गा¥हो त उसको लागि गाँजाको व्यवस्था गर्नुमा थियो । साँझमा सारांगकोटको टावर नजिकै पुगेर हरियो पात डढाएर एक स्टिक खुवाएपछि बल्ल उ पुरानै लयमा फर्किएको थियो । लतमा फसिसकेको मान्छे त्यसको नसा नपुग्दा कस्तो हालतमा पुग्ने रहेछ भन्ने मैले पहिलो पटक प्रत्यक्ष त्यहि देखेको थिएँ ।
तर, गाँजाको जस्तो नसा चटपटेको पक्कै हुदैन नै । उनी त्यस्तै हालतमा पनि थिईनन् । हामी हात समातेर दरबार परिसरमा घुम्दै थियौँ । भित्र छिर्ने मेन गेट तिन बजे नै बन्द हुने रहेछ । दरबार छिर्ने रहर त्यँहि थाँती राखेर बाहिर निस्क्यौँ । पार्किङमा फिउ कुरिहेको थियो । त्यँहाबाट सिधै प्रतुनाम तर्फ लाग्यौँ । सहरको भित्री बाटोमा कतैकतै काठमाण्डौकै जस्तो जाम थियो । तर धेरैबेर कुर्नु भने नपर्ने । भाडाका मोटरसाईकल र टुकटुकको भिडभाड भने भित्री सडकमा निक्कै थियो । साढे चार बजे इन्द्र स्क्वायर अगाडी हामीलाई ड्रप गरेर फिउ आफ्नो बाटो लागे ।
हातमा घडि भएपनि मोवाईल झिकेर टाईम हेरेँ । नाडीमा घडि बाध्ने त बानी मात्र हो, समय हेर्ने चाँही मोवाईलमै हो । यस्तो बानी मेरो मात्र हो भन्ने मलाई लाग्दैन । लस्सी दाईले दिएको टाईम हुन अझै आधा घण्टा बाँकी नै थियो । त्यतिन्जेल सम्ममा एक–एक कप कफी पिउने सल्लाह गरेर गेट सँगै रहेको कफी सपमा छि-यौँ । वेयराले नजिकै आएर नेपाली भाषामै सोध्यो, ‘के लिनु हुन्छ ?’ अरे, हामी नेपाली हौं भनेर यसले कसरी थाहा पायो ?
एकछिन बाहिर उभिएर हामीले गफ गरेको उसले सुन्न भ्याइसकेको रहेछ । अव उसलाई तिमी पनि नेपाली हौ भनेर सोधिरहन आवश्यक नै थिएन । किनकी उसको बोलीको लवजबाट थाहा भईसकेको थियो उ बर्मेली हो । थाईल्याण्डमा चौध लाख भन्दा बढी बर्मिजहरु बसोबास गर्छन् । झन् त्यो इन्द्र कम्प्लेक्स त बर्मिजकै भनेपनि हुन्छ । असि प्रतिशत भन्दा बढी नेपाली भाषी बर्मेली त्यँहा काम गर्छन् । अंगे्रजी भाषामा समस्या हुने नेपालीले किनमेलको लागि सिधै त्यँहि गए हुने रहेछ । न्युरोडमा जसरी मोलमोलाई गरेर सामान किन्न सकिन्छ ।
काट्न अल्छि गरेको झुस्स दाह्री, जिङ्रिङ्ग कपाल, फुगं उडेको उदास अनुहारमा जर्बजस्ती ल्याएको मुस्कानका साथ लस्सी दाई ठ्याक्कै पाँच बजे आईपुगे । शरिरको बनावट बाहेक कँहि कतैबाट पनि पाँच बर्ष अघि देखेको उही भर्भराउँदा लस्सी दाई लाग्दैन थिए । दाई आईपुग्ने वित्तिकै मैले उठेर अंकमाल गरेँ, उनले उठेर नमस्कार गरिन् । नमस्कार फर्काइसकेपछि मतिर हेर्दै चम्किला आँखा पारेर दाईले सोधे– बुहारी ?
‘हाफ बुहारी दाई’, मैले जिस्किदै जवाफ दिएँ ।
‘कस्तो हो यो हाफ बुहारी भन्या ?’
‘त्यो भनेको जेपिटि हो दाई, हावा मान्छेले गर्ने कुरा’, उनले बीचैमा हस्तक्षेप गरिन् ।
एकछिनको हाँसीमजाक पछि दाईले अगाडि रोकिराखेको कारतिर संकेत गर्दै जाउँ भने । हामी दाईको बसोबास रहेको अर्पाटमेन्ट तर्फ लाग्यौँ । चिल्लो सडकमा एकतमास गुडिरहेको कार कहिले फ्लाईओभर माथी पुग्थ्यो त कहिले मुनी । कतैकतै तिन स्टेप सम्मको फ्लाईओभर पनि देखिन्थ्यो । ‘बुझ्यौ भाई जापानको सहयोगमा यि आधुनिक सडक बना’का हुन् थाईले । राजनीतिक मामलामा जताजता भए नि विकासको लागि भने एकजुट हुने यिनिहरुको बानी छ ।’ एकहातले स्टेरिङ घुमाउँदै एकहातले जुंगामा ताउ लाउँदै दाई बोल्दै थिए । म भने ति सडकलाई आफ्नो देशको सडकसँग तुलना गर्दै सोचिरहेको थिएँ– यस्तै सडक हाम्रो देशमा कहिले बन्ला ?
झण्डै पैतालिस मिनेटको ड्राईभपछि हामी ‘वार्म एण्ड कोजी स्विट’ लेखेको भव्य अपार्टमेन्ट भित्र छि¥यौँ । अठारौँ तल्लामा दुईवटा बेड रुम, लिभिङ रुम, किचेन र अगाडीपट्टि फराकिलो बरण्डा भएको दाईको सुबिधाजनक बसाई रहेछ । सुरुमै मेरो आँखा लिभिङ रुमको भित्तामा ठुलो फ्रेममा झुण्ड्याएको डिभोर्स भईसकेकी भाउजु र छोरीको फोटोमा प¥यो । मनमनै सोचेँ, यँहा हुने भाउजुले यो फोटामा आपत्ति नजनाएकैले दाईले राखेको होलान् । तिन ग्लास जुस लिएर दाई लिभिङ रुममा आए । जुस लिदै मैले सोधेँ, ‘भाउजु खै त दाई ?’
‘मेरो भाग्यमा एक्लै बस्न लेखेको रहेछ भाई’, दाईले भित्तामा मुस्कुराई रहेको भाउजु र छोरीको फोटो हेर्दै उदास भएर भने ।
‘यताको भाउजुसँग पनि डिभोर्स भ’को दाई ?’
‘डिभोर्स हुनलाई बिहे नै कँहा भएको थियो र !’
दाईको जवाफ सुनेर म चकित परेँ । दाईले यता थाई केटी बिहे गरेको छन् भनेर नै उता भाउजुले डिभोर्स दिएको भन्ने सुनेको थिएँ । एकपटक भाउजुसँग अचानक न्युरोडमा भेट भएको बेला सोध्दा पनि डिभोर्सको कारण त्यहि भएको बताएकी थिईन् । अहिले दाईको जवाफ सुन्दै गर्दा कतै मिसअण्र्डस्ट्याण्डिङ् त भएको होईन भन्ने आशंका मेरो मनमा उब्जिसकेको थियो । तर, जीवन नै अर्को मोडमा पु¥याईदिने त्यति ठुलो निर्णय भाउजुले नबुझि त पक्कै गरिनन् होला भन्ने पनि अर्को मनमा लागिरहेको थियो ।
‘खास भ’को के हो दाई ?’ प्रष्ट शब्दमा जवाफको अपेक्षा गर्दै सोधेँ ।
‘यो कहानी लामो छ । तिमीहरु आज यतै बस्नुपर्छ । भरे कुरा गरौँला ।’ दाईले खाली भएको जुसको ग्लास टिपेर किचेनतिर जाँदैगर्दा भने ।
मैले उनीतिर हेर्दे सोधेँ, ‘यँहि बस्ने हो त आज ?’
‘खै, मलाई के थाहा !’ सायद उनलाई पनि बस्न मन थियो । दाईको कहानी सुन्न म जति उत्सुक थिएँ त्यतिकै उनि पनि थिईन् । दाईको नेपालमा डिभोर्स भएको सम्मको कहानी उनलाई सुनाईसकेको थिएँ । त्यसपछि के–के भयो दाईकै मुखबाट सुन्नु पथ्र्यो । हामी डिनर गरेर होटल फर्किने गरि गएका थियौँ । तर दाईको जीवनको बाँकी कहानी सुन्न त्यो रात त्यँहि बस्ने निधो ग¥यौँ ।
फ्रिजबाट बियर निकाल्नु भन्दा अगाडी दाई स्न्याक्स बनाउँने तयारी गर्न लागे । उनले मतिर हेर्दै सानो स्वरमा भनिन्, ‘दाईलाई के दुःख दिनु, म पकाउँछु ।’
मैले वरैबाट कराएँ, ‘दाई, किचेनको जिम्मा हाफ बुहारीलाई छोडिदिनुस् रे ।’
हामी हाँस्यौँ । उनले मलाई आँखा तर्दे भनिन्, ‘ह्या जेपिटि !’ उनी किचेनतिर लागिन् ।
क्रमश…
…त्यो यात्रा
…त्यो यात्रा –२
...त्यो यात्रा –३
…त्यो यात्रा –४
…त्यो यात्रा –५
…त्यो यात्रा–६
…त्यो यात्रा–७
….त्यो यात्रा–८
समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको आठौँ श्रृङ्खला अर्को साता WWW. LOKPATH.COM मा प्रकाशन हुनेछ । http://WWW.LOKPATH.COM लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर http://LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।
दाहालद्वारा लिखित कविता :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया