निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको सय दिन पुगिसक्दा पनि प्रहरीले घटनाको कुनै पनि तथ्य सार्वजनिक गर्न सकेको छैन । 

बम दिदी बहिनीको बयान, २४ दिनपछि मुख्य आरोपी भनेर सार्वजनिक गरीएका दिलिपसिंह विष्ट निर्दोष ठहर गरी रिहा, हजारौं युवायुवतीहरु सडकमा, प्रारम्भिक अनुसन्धानमा संलग्न सबै २२ प्रहरीहरू माथि अनुसन्धान, एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण, सदस्य छानबिन समिति गठन, प्रतिवेदन, २ सयभन्दा धेरैसँग बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समितिको निरन्तरको अनुसन्धान, निर्मलाको आमाबुबालाई प्रधानमन्त्री गृहमन्त्रीको आश्वासन तर निष्कर्ष शून्य  ।

दिन लम्बिँदै छ तर प्रहरी प्रशासन भने घटनाको छेउ सम्म पनि पुगेको छैन । हुनत घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्य लगायतको कुनै पनि प्रमाण संकलन भएन । घटनाको तथ्य सम्म पुग्न चाहिने आवश्यक प्रमाण नै संकलन नभएपछि हत्याराको खोजी र कारबाही कसरी गर्ला प्रहरीले ?

निर्मला पन्तको हत्याको ठोस निष्कर्षको लागि कञ्चनपुरमा प्रहरीको आउने जाने क्रम जारी रहेको छ  । प्रहरीको टोली फेरिएसँगै घटना थप रहस्यमय बन्दै गएको छ । कुनै पनि नयाँ तथ्यहरु फेला परेका छैनन् । 

निर्मलाको बलात्कार पछिको हत्या र प्रहरीको लापर्वाहीले सबै सामान्य नागरीकहरुमा त्रास पैदा भएको छ नै तर न्याय को लागि निकै संघर्ष गर्नु पर्ने महसुस हुँदै गएको छ । न्याय पाउन कति कठिन छ भन्ने अनुभुती भएको छ सबैलाई । प्रहरीको अनुसन्धान प्रणाली र न्याय माथि यो घटनामा पर्याप्त प्रश्नहरु उब्जिएका छन् । 

निर्मलाको बलात्कार पछिको हत्याराको खोजीको लागि र निर्मलाको न्यायको लागि देशव्यापी प्रदर्शन भयो, प्रहरी प्रधान कार्यलयमा घेरीयो, न्यायको माग गर्न जाँदा एक निर्दोष युवाले ज्यान पनि गुमाउनु प-यो,  नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र गृह मन्त्रालयले फरक–फरक छानबिन समिति बनाइए यी सबै घटनाको नतिजा हो, दुई प्रहरीको बर्खास्ती र पाँचको निलम्बन ।

कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट, उनको छोरा सहितको ३ जनाको डीएनए परीक्षण भइसकेको छ । तर तीनै जनाको डीएनए नेगेटिभ आयो ।  प्रहरीले थप चार शंकास्पदको डीएनएन परीक्षणको नमुना लिइसकेको छ । 

घटनास्थलमा सक्रिय मोबाइल फोनको कनेक्सनबारे पुनः अनुसन्धान गरिरहेको छ तर नयाँ तथ्य भने भेटिएको छैन् । प्रहरीको अनुसन्धानमा कुनै पनि नयाँ वीधिहरु अपनाएको छैन् । अनुसन्धान कुन दिशामा गर्ने भन्नेमा प्रहरी आफै स्पष्ट भएको छैन । 

गम्भीर प्रकृतिका अपराधका घटनाको अनुसन्धान निष्कर्षमा प्रहरी प्रशासन किन पुग्न सकेको छैन  ? 

गत भदौ ४ गते  पूर्वराजदूत केशव झाको हत्या भएको थियो  । बबरमहलमा उनी सुतिरहेकै कोठामा उनको शव भेटिएको थियो । पूर्व नेपाली राजदूत झाको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । काठमाडौंको केन्द्रमा उच्च सुरक्षा रहेको स्थानमा घरभित्रै छिरेर झाको हत्या कसले र्गयो ? घटनाको साढे तीन महिना बितिसक्दा पनि मुख्य अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् ।

प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाललाई साउन १५ गते राति बानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको घटना सार्वजनिक भयो ।  
उच्च सुरक्षाको बिचमा हत्या हुन्छ, बिच बाटोमा गोली चलाइन्छ,  अनुसनधानमा वर्षे सम्म चल्छ । तर परिणम शून्य । 
…….. 

निर्मलाका न्यायको लागि आवाज उठाउदै आएकी साबित्री सुबेदी यतीबेला निर्मलाहरुको लागि आवाज उठाउँदै छिन् । कञ्चनपुरको किशोरी निर्मलाको निम्तीको लागी आवाज उठाउँदै गर्दा उनी धेरै ठाउँमा पुगीन् ।  हरेक क्षेत्रको हरेक गाउँमा किशाोरीहरु कुनै न कुनै किसीमको हिंसाको शिकार हुनुपरेको उनले सुनेकी छिन् । घटनाको वास्तविकता के हो ? किन यस प्रकृतिका घटनाहरु बढीरहेका छन् त ? उनी यी  पाटोहरु खोतल्न चाहन्छिन् तर स्रोतसाधनको अभावमा कुनै पनि कामहरु राम्रोसँग गर्न नसकिएको उनको भनाई छ  ।  

“हाम्रो देशमा हरेक कुराहरुलाई राजनीतिकरण गर्ने प्रवृति छ । ठोष कानून, नीति नै छैन । प्रहरीले उजुरु नै लिन मान्दैनन् । तल देखि माथी सम्म पैसा पावरको कुरा हुने गरेको छ । महिला मैत्रि वातावरण नै छैन प्रहरी कार्यलयमा ।” सुबेदीले अनुभव सुनाइन् ।   

गाउँमा गएर आमा दिदिबहिनीहरुलाई सचेत बनाउने उनको उद्देश्य हो तर राजनीतिक दबाव र धम्किका कारण आफू न्यायको निम्ती कराउँदा कराउँदै पनि पछि हट्नु परेको उनी बताउँछिन् ।  
निर्मालाको बलात्कारपछिको हत्याको अनुसन्धानमा प्रहरीले लापर्वाही गरेको भन्दै दुई प्रहरीलाई बर्खास्त गरिएको थियो । तर बर्खास्तलाई आफूले सजायको रुपमा स्वीकार गर्न नसकेको सुबेदीले बताइन् । 

“प्रहरीलाई बर्खास्त मात्र गरेर के हुन्छ । सजाय दिनु पर्दैन ? गल्ती गर्नेहरुको लागी कानून यत्ति मात्रै हो ? प्रमाण नष्ट गरेहरुको लागि त संबिधानमा सजाय उल्लेख गरिएको छ  । किन केहि सजाय भएन ?  बर्खास्त पनि कुनै किसीमको सजाय हो ?  सुबेदीले प्रश्न गरिन् । 

उनले भनिन्, “मैले धेरै अभियानहरु सोचेको छु । अन्तर्राष्ट्रिय जगतको ध्यानआर्कषण गर्ने गरि अब अभियानहरु गर्नुपर्छ । सडकमा जति कराए पनि, उफ्रे पनि, मैनबत्ति बाले पनि सरकारले सुनेकै छैन । हाम्रो कुराहरु सुन्नै खोज्दैन । धेरै निर्मलाहरु छन् । अब म सकेसम्म हरेक निर्मलाहरुको लागि आवाज उठाँउछु ।” उनले थपिन् । 

पछिल्लो समय महिला विरुद्धका हिंसा र बलात्कारका घटनाहरु बढ्नुमा सरकारको लार्पवाही भएको उनको बुझाई छ । 

निर्मलाको बलात्कार र हत्यामा ठूलै व्यक्तिको हात भएको विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य रञ्जु दर्शनाले बताइन् । 

“ठूलो शक्तिको संलनता छ । त्यो प्रष्ट हो । सरकारले गरेका हरेक गतिविधिहरु विफल हुँदै गएको छ । उत्कृट समीतिहरु पनि गठन भए । प्रहरीहरु पनि परिचालन गरिएको छ । तर ठूलै व्यक्ति पावर र पहुँच भएकाले कुनै पनि निष्कर्ष बाहिर आउन नसकेको हो ।”  दर्शनाले भनिन् । 

कुनै पनि सर्वसाधारण भएको भएको भए प्रहरीले एक दुई दिनमा नै अपराधीलाई पक्रउ गरिसक्ने उनले बताईन् । उनले भनिन्, “पोखरामा श्रेया सुनारको बलात्कारमा संलग्न भएको व्यक्तिलाई प्रहरीले दुई दिनमा पक्राउ ग–यो । निमर्लाको बलात्कारी किन पक्रिदैनन् त ? प्रश्नको सजिलो उत्तर हो राजनैतिक शक्ति ।”

“निर्मलाले न्याय पाउनु पर्छ भनेर आन्दोलन र दबाबको कार्यक्रमहरु नभएको भए अहिले जति पनि पहलहरु भइरहेका छन् त्यती पनि हुँदैन थियो होला । अपराधी लुकाउन खोजीएको छ । दवाबका कार्यक्रमहरु जारी राखेका छाँै । निष्कर्षमा पुग्नैपर्छ । अपराधीको खोज हुनै पर्छ र नेपालको संबिधानमा बलात्कारीलाई जे सजाय भनेर लेखिएको छ त्यो त हुनै प–यो । फाँसी नै नभएपनि कानून बमोजिमको सजाय हुनैपर्छ भन्ने हाम्रो माग हो । ” दर्शनाले थपिन् । 

पार्टीको हिसाबले कुनै पनि सडक आन्दोलनहरु नगरेता पनि नागरीक आन्दोलनमा पार्टीको तर्फबाट स्फूर्तीका साथ सहभागि भएको उनले बताइन् । 

“अन्य धेरै देशमा बलात्कार र हत्याको आरोपीलाई मृत्यु दण्डको सजाय छ । अनुसन्धानमा नयाँ प्रवीधि अपनाइन्छ, वर्षौसम्म खोज र अनुसन्धानहरुलाई जोड दिइन्छ । जनताको विचारहरु पनि संकलन गरिन्छन् । प्रहरीले अनि सरकारले नै संरक्षण गरेपछि घटनाको सत्य तथ्य बाहीर नआउने मैले बुझेको छु ।” 

प्रहरीको कमजोरी र लपर्बाहीमाथि शक्ति हावी भएको हो । 

“सरकारको कमजोरी प्रत्यक्ष देखिएको छ किनभने हरेक प्रदेशमा प्रदेश सरकार भएपनि प्रदेशको समस्याहरुको समाधान निकाल्नु उनीहरुको  दायित्व भएतापनि त्यस्ता कुनैपनि पहलहरु अहिले सम्म भएका छैनन् ।” उनले भनिन्, “बलात्कारहरु बढ्यो भनेर ‘पोर्न साइट’ बन्द त गरियो तर बलात्कारका कारणहरुमा गहन अध्ययन भने हुन सकेन । जब सम्म घटनाको प्रकृतीलाई हामी गहिरीएर अध्ययन गर्दैनौँ । तबसम्म बलातत्कार मात्र होइन कुनै पनि घटनाको परिणम आउन सक्दैन ।” 

काम राम्रोसँग गर्न नसक्नेलाई बर्खास्त गर्नु ठिक भएको उनको भनाई छ  । तर जनता स्पष्ट नभएको उनको अर्को धारणा हो । काम गरिरहेका छौ है भनेर देखाउन खोजेको मात्र भएको उनले बताइन् । सरकार जवाफदेहि हुन नसकेकोमा उनले आपत्ति जनाएकी छिन् । 

“आफ्नो मान्छे भएरै बचाउन खोजेको भन्ने हाम्रो आशंका हो । दवाव क्रार्यक्रमहरु छन् । अपराधी पत्ता लाग्नै पर्छ भन्नेमा हामीले जोड दिएका छौं  ।”

दशैँतिहारको बेला भएकाले कञ्चनपुरका शन्तिपुर्ण रुपमा आन्दोलन भएको कञ्चनपुरकी सामाजिक अभियान्ता लक्ष्मी मल्ले बताईन् । 

मल्ल भन्छिन्, “कार्तिकको २४ /२५ गतेबाट हामी ठूलै आन्दोलनमा जान्छौ । निर्मलाले न्याय पाउनै पर्छ । छोरीको न्यायको निम्ती निर्मलाको बुबाआमा जिल्ला प्रशासन अगाडि धर्ना दिने र आमरण अनसन बस्ने घोषणा गर्नु भएको छ ।  हामी चुप लागेर चाँहि बस्दैनौ । हामी टिकाको दिन नै भएपनि आन्दोलन गर्छौ । केहि सिप लागेन भने हामी फेरी काठमाडौं आएर सडक आन्दोलनहरु गर्छौ ।” 
…………..
बलात्कार र हत्याजस्ता गम्भीर घटनामा अनुसन्धान जेलिँदै गए पनि पीडित परिवार र न्यायको खोजीमा साथ दिनेहरूले सधैँ आवाज उठाई रहेकै छन् । सडक आन्दोलन, विरोधका कार्यक्रमहरु दिनदिनै जसो भएका छन् ।  हजारौं युवायुवतीहरुले सामाजिक सञ्जालबाट आफ्नो धारणाहरु पनि व्यक्ति गर्ने गरेका छन् । कसैको आवाज चर्को सुनिएला, कसैको मधुरो तर न्यायको आशा भने प्रत्येक दिन भइरहेको छ । घटनाको एक सय दुई दिन बित्यो तर न्याय ? ? 

यो पनि पढ्नुहोसः

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?