निर्मलाका काका ईश्वरदत्त भन्छन्, ‘नेताको छोराछोरी नै घटनामा संलग्न छन्’ (भिडियो सहित)

कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय २८ दिन पुरा भएको छ  । दिन लम्बिँदै छ तर प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न सकेको छैन भने सरकारको मौनता यथावत नै छ । एक पछि अर्को घटनाले थप रहस्यमय बन्दै गएको छ ।

छोरीको निर्मलाको न्यायको निम्ती गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका थिए ।
पछिल्लो दिनयता निर्मलाका बुबा यज्ञराज पन्त मानसिक स्थिति असामान्य देखिएपछि उनको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उनी उपचाररत भएपनि उनको स्वास्थ्यमा कुनै पनि सुधार हुन सकेको छैन । 

यज्ञराज पन्तको स्वाथ्यअवस्था बिग्रँदै गर्दा निर्मलाको आमा दुर्गादेवी पन्तको चिन्ता बढ्दै गएको छ । न्यायको लागी उनी भौतारिएको चार महिना पुरा भएको छ । 

“म न्यायको लागि अब बोल्न सक्दिन, म थाकिसके”, दुर्गादेवी भनिन् । 

न्यायको लागि उनीहरुले चार महिना सम्म सबैको ढोका ढक्ढकाएका छन् । तर न प्रहरीले अपराधी सार्वजनिक गर्न सक्यो न राजीनिक पार्टीहरुले गरेका प्रतिवद्धता पुरा नै भए । दुर्गादेवीलाई न्यायको आशा त छैन तर नेताहरुले न्याय दिन्छु भनिरहँदा उनी प्रतिक्षा गर्न बाध्य भएकी छिन् ।  

“धर्नाको कार्यक्रम गर्यौ, न्यायको लागी आवाज पनि उठायौं । हामी घरबार बिहिन भइसक्यौं ।” उनले भनिन्, “न्याय पाइन्छ भन्ने आशा छैन ।”

सबैजना निर्मलाको निम्त न्यायको आवाज उठाउँदा दुर्गादेवी पनि साथ दिन चाहन्छिन् तर काठमाडौंमा आफूहरु उपचारका लागी भनेर आएकाले उनी केहि पनि बोल्न चाहन्नन् । 

“म एउटै कुरा कति बोलौं । चार महिना भयो । हामी उपचारका लागी आएका हौं । बोल्ने हिम्मत छैन म मा अब । म आफै बिरामी हुन लागि सके ।” 

कञ्चनपुरमा धर्नाका कार्यक्रमहरु जारी छन् ।  यज्ञराज पन्त र दुर्गादेवी पन्त काठमाडौं आएपछि यज्ञराज पन्तकी कान्छी श्रीमती र अन्य अधिकारकर्मीहरुले धर्नालाई निरतरता दिएका छन् । 
दुर्गादेवी आफ्नो छोरीले जस्तो अरुको छोरीहरुले दुख नपाओस् भन्ने चहन्छिन् । सरकारले र सम्बन्धित निकायहरुले केही गर्छन् भन्ने उनले विश्वास गर्न छाडिसकिन् । भन्छिन्, “प्रहरीहरुले अनुसन्धान गरिरहेका छौं भन्नु हुन्छ तर खोइ त अपराधी पत्ता लागेको ?”

कोही व्यक्ति प्रति पनि उनको शंका छैन । शंका थियो भन चार महिना सम्म चुप लागेर नबस्ने उनी बताउँछिन् । उनी बम दिदी बहिनीको घरमा जाँदा निर्मला खोई भन्ने प्रश्नको हरेक पल्ट उनीहरुबाट कडा जवाफ आएकोले शंकाको सुई त्यता सोझीएको स्विकार्छिन् । 

“उनको छिमेकीले पनि सुनेका थिए । साईकल त्यहाँ छ भने लास पनि त्यहि होला भनेर उनीहरुले भनेका हुन् । अपराध गरेको होइन  भने उनीहरुले लास त्यही होला भनेर कसरी दावी गर्न सके ? ”
बम दिदी बहिनीको बोलीका कारण मात्र उनीहरु दुई जना शंकाका पात्र बनेका हु्न् । उनीहरु उपराधि हुन् या होइन पत्ता लगाउने जिम्मा प्रहरीको भएको दुर्गादेवीको भनाई छ । तर दुर्गादेवी यी नै हुन् भनेर दावी भने गर्न सक्दिनन् । 

बम दिदी बहिनीको कडा बोलीका कारण उनी भित्र जान नसकेको उनी बताउँछिन् । जाहेरीमा पनि त्यहि लेखिएको छ । भनिन्, “मेरो छोरीको लास भेटिन्छ भन्ने मलाई पनि लागेको थिएन । भित्र मैले हेरेको भए पनि हुन्थ्यो ।”

निर्मलाको आमाले निर्मलाको शव भेटेको ठाँउ देखेकै छैन । 

“मेरो छोरी जुन अवस्थामा थिइन् मैले देखेको भए यति धेरै लम्बिने नै थिएन । मैले केही पनि गर्न पाइन । सबै प्रमाणहरु मेटाइ सकेका थिए । बोलिको आधारमा मात्र यो केस अगाडि बढिरहेको छ । अब सत्यता बाहिर आउँछ कि आउँदैन पनि हामीलाई पत्तो छैन । ”

निर्मलाको स्वभाव मिजासिलो थियो । उनको कक्षाको सबैजनालेसाथी बनाउन चाहन्थे । पढाईमा एकदम राम्रो थिइन् । कहिल्यै पनि घरमा पढ भनेर भन्नु पर्दैन थियो । घरको सबै काम सकेर उनी पढ्न बस्थिन् । 

सरकारले निर्मलाको परिवारलाई १० लाख रुपैँया दिने निर्णय पनि गरेको थियो । त्यो रकम उनीहरुको जिल्लामा पनि पुगिसकेको छ तर न्यायको आशामा दुर्गादेवीले त्यो रकम लिएका छैनन् । उनको दुई छोरी कञ्चनपुरमै छन् । उनीहरुलाई छिमेकीले सहारा दिएका छन् । 

सबै अचानक भएकाले दुर्गादेवीलाई केही पनि सोच्न सकेकी छैनन् । 

“एसपी डिल्लीराज विष्ट बर्खास्त भएर हामीले न्याय पाएका हौ ?” सरकारलाई दुर्गादेवीले प्रश्न गरिन् । 

यज्ञराज पन्तलाई काठमाडौं लिएर आउँदा बाटोमा धेरै नै दुख भएको उनी बताउँछिन् । एम्वुलेन्सको सिसाहरु पनि यज्ञराजले फुटाईदिए । सेती अञ्चल अस्पतालमा सुई लगाएर एक जना चिकित्सक सहित  उनीहरु काठमाडौं आएका हुन् । 

यतिका दिन सम्म अपराधिलाई लुकाउन खोजीएकोमा दुर्गादेवीले आपत्ति जनाईन् । प्रहरीहरुले प्रमाण लुकाउनु उनीहरुको सबै भन्दा ठूलो गल्ती भएको उनको बुझाई छ ।  

“निर्मलापछि पनि बलात्कारका घटना भएका हुन् । अरु सबैको अपराधि पत्ता लागिसके मेरो छोरीले मात्र न्याय पाईन् ।” भनिन् , “सारा देशले न्याय मागेको बेला न्याय नपाउँदा दुख लागेको छ । ”
“आखिर चाहेको सबैलाई न्याय नै हो । न्याय त पाउनै पर्छ  र सरकारले देशको छोरीहरुको सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।”, उनले थपिन्, “मान्छे बिरामी भइरहन्छ, सरकारले पनि उपाचार खर्च दिइनै रहन्छ तर न्याय चाँहि पाइएला जस्तो कतै पनि लागेको छैनन् ।” 
………..
यज्ञराज पन्तलाई छोरी निर्मलाकोे मृत्यु भएपछि धेरै जनाले एउटै प्रश्न गर्थे । छोरी कसरी यस्तो भयो ? 

उनी दिनभर जस्तो नै घोत्लिएर घटनाको बेलिबिस्तार लगाउँदै बस्थे । एउटालाई सम्झाउँथे फेरी अर्को आएर त्यही प्रश्न दोहोर्याउँथे । पहिला देखिनै घटनाको बारेमा धेरै ने बोलि रहेका थिए भने पछिल्लो समय उनी धर्नामा पनि सक्रिय रहे । धर्नाका बेला पनि उनी २४ घण्टा जस्तो बोले र उनकोे दिमागमा बढि जोड भएर यज्ञराजको मानसिक स्थिति असामान्य हुन गएको निर्मलाका काका, ईश्वरदत्त जोसीको ठम्याई छ । 

हरेक समय ईश्वरदत्त निर्मलाको बुबा सँगै हुने गरेका छन् तर यज्ञराज बोल्न खोज्दा पनि उनीहरु मौन रहने गरेका छन्  । 

प्रहरीको लागी निर्मलाको हत्यारा पत्ता लगाउनु कुनै पनि गाहे विषय नभएको उनी बताउँछन् । 

भन्छन्, “अपराधी को हो भनेर प्रहरीलाई थाहा छ, सरकारलाई पनि थाहा छ । तर उनीहरुले सार्वजनीक किन गरेनन् भन्ने शंकाको विषय हो ।”

प्रहरीको स्वयम् घटनामा संलग्नता भएको र नेताका छोरा छोरीहरु पनि रहेको ईश्वरदत्तले दावीका साथ भने । 

बम दिदिबहिनी र उनका आमा बुबा एक पटक पनि निर्मलाको आमाबुबालाई भेट्न आएका छैनन् । त्यसै कारणले पनि उनीहरुमाथि शंका गर्ने ठाँउहरु भने प्रशस्तै भएको जोसी बताउँछन् । 

“उहाँहरुले आफैलाई शंकाको घेरा भित्र राख्नु भएको छ । ती अपराधी हुन पनि सक्छन् । नहुन पनि सक्छन् तर होइन भन्ने अवस्था छैन ।” उनले भने,  “निर्मला उनीहरुको घरमा गएकी हो त्यहाँबाट आएको उनीहरुलाई कसैले पनि देखेको छैनन् । बमको घर उ उडेर गएको होइन बाटो बाटै गएकी हो ।” 
 

…………
निर्मला पन्तका बुबा यज्ञराजमा ‘हाइपर थाइरोडिजम’ (Hyperthyroidism)देखा परेको छ, जसका कारण मानसिक समस्या पनि देखापरेको उपचारमा संलग्न चिकित्सक डा. सगुन पन्तले बताएका छन् ।

चिकित्सकहरुले तत्कालिन देखा पर्ने समस्याहरुलाई मात्रै मध्यनजर गर्दे त्यसलाई रोक्न केन्द्रित भएर औषधीको प्रयोग गरिरहेका छन् ।  भन्छन्, “पछि सम्म औषधी प्रयोग गर्न पर्छ या पर्दैन भन्ने बारेका हामीले अहिले सोचेका छैनौँ ।”

थाइरोडिको औषधीले थाइरोडिज्म कम हुने भएकाले पनि यज्ञराजमा देखा परेको ‘अग्र्यानिक मोड डिसअर्डर’ पनि कम हुँदै जान सक्ने डा. पन्त बताउँछन् ।

के हो यो रोग ?

‘हाइपर थाइरोडिजम’ Hyperthyroidism (अधिक सक्रिय थाइरोइड) तब हुन्छ जब 'थाइरोइड ग्राउण्ड'ले' हार्मोन थ्रोक्सक्सिन' शरीरमा अधिक उत्पादन गर्दछ। हाइपर थाइरोडिजमले शरीको तौल घटाउने र अनियमित हृदयघात गराउँछ ।  

यो पनि पढ्नुहोस :

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन

निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?

न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

आलसतालस अवस्थामा निर्मलाकी आमा, के भनिन् डा. बाबुराम भट्टराईसँग (भिडियो सहित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?