न्यायको खोजीमा खर्चिएका १ सय ८० दिन, रनभुल्लमा पन्त परिवार

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक सय ८० दिन पुगेको छ । घटना भएको एक सय ८० दिन पुग्दा पनि ति बालिकाको बलात्कारपछि हत्या कसले गर्यो अत्तोपत्तो छैन । 

आम नागरिक यो निष्कर्षमा पुगेका छन् कि निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले सकेन । बालिका पन्तको हत्यारा को हो ? चौतर्फी गुन्जिने प्रश्न तर उत्तर कोहिसँग पनि छैन । भएकाहरु शक्तिमा छन्ः भन्छन् बुझ्नेहरु । 

खोई अपराधी ? खोई कारबाही ? अहिलेसम्म यसको जवाफ खोजी हुँदैछ, ले सिमीत बनाएको छ ।  

नेपालको संविधानले सबै देशको नागरीकलाई बाँच्न पाउने मौलिक हक दिएको छ । तर, निर्मला पन्तको बाँच्ने हक सरकारले रक्षा गर्न सकेन । बाँच्न पाउने हक रक्षा गर्न नसके पनि राज्यको अहिले सम्म अपराध गर्नेलाई सजाय दिलाएर निर्मला पन्तलाई  शान्ति र न्याय दिन पनि सकेको छैन । निर्मलालाई न्याय दिलाउने राज्यको संवैधानिक कर्तव्य त हो नै दायित्व पनि हो ।
…………….
निर्मलाको बलात्कार पछि हत्या

गत साउन १० गते निर्मला पढ्नको लागि साथीको घर गइन् । उनी त्यस दिन घर आइनन् । भोली पल्ट उनको शरीर मृत अवस्थामा उखु बारीमा फेला पर्यो ।

महेन्द्रनगरमा कफ्र्यु/आन्दोलन

प्रहरी अनुसन्धान निष्पक्ष नभएको र वास्तविक अपराधी पक्राउ नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्किदै गयो । प्रहरी र आन्दोलनकारीबीच भडप पनि भए ।  झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

अभियुक्त पक्राउ/सार्वजनिक

निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त भन्दै घटना भएको २५ दिनपछि ४ भदौमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरीको दावी थियो तर विष्टलाई अदालतको आदेश अनुसार रिहा गरिएको थियो ।

बम दिदिबहिनीलाई सोधपुछ/रिहा

निर्मला पन्तको साथी रोशनी बमको घरमा पढ्न गएको र त्यसपछि आफ्नो घर फर्केर नआएपछि रोशनी बम र उनको दिदि बबिता बम शंकाको घेरामा थिए । प्रहरीले उनीहरुलाई घरबाटै पक्राउ गरेको थियो  । सामान्य सोधपुछ पछि उनीहरु रोशनी बमलाई हाजिर जमानीमा छाडेको हो भने बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी थिइन् । 

सर्वसाधारणहरुले बम दिदिबहिनी नै हत्यारा हुन् भनेर अभिव्यक्ति दिइरहेको बेला उनीहरुले भने आफूलाई गलत आरोप लगाएको र चरित्रहत्या भएको दावी गर्दै आएका छन् ।

एसपी डिल्लीराज विष्टको बर्खास्त 

निर्मला बलात्कारपछि हत्या भएपछि तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण विष्ट, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, ति सबैको रिपोर्ट ‘नेगेटिभ’ आयो ।  प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न नसकेको बेला रसरकारको मौनता यथावत भएका बेला एक पछि अर्को घटनाले थप रहस्यमय बन्दै गयो । 

छानविन समिति गठन  

भदौ ७ गते सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन भयो । समितिलाई घटनाको विस्तृत छानविन तथा अनुसन्धान गरेर १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनियो तर समितिले प्रतिवेदन पेश गर्नु नसकेपछि १५ दिन थप गरियो । 
विवादै विवादमा भएपनि समितिले प्रतिवेदन पेश ग-यो । 

प्रतिवेदनको निष्र्कष आयो: अनुसन्धानमा प्रहरीको लापरवाही !

कांग्रेसको टोली 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको थियो ।

कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायर रहेको टोलीलाई कञ्चनपुर पठाएको थियो । 

उक्त टोलीले पनि कुनै नयाँ तथ्य भने फेला पार्न सकेन । सरकार गम्भीर नभएको कुरामै उनीहरुको छानविन सकियो ।  

मृत्युदण्डको माग

बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने कानूनका लागि संविधान संशोधन गर्नुपर्नेमा महिला सांसदहरुको जोड छ  । बलात्कारमा संलग्न दोषीलाई मृत्युदण्ड दिने व्यवस्था अमेरिकाको अधिकांश राज्यमा रहेको, भारतमा पनि बलात्कारका घटनाहरु बढ्न थालेपछि आन्दोलनमार्फत मृत्युदण्ड दिने व्यवस्था गर्न भारत सरकार बाध्य भएको,  नेपालमा पनि संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्छ भन्ने विषयमा संसद भित्र चर्को नाराबाजी भयो ।  

सदनमा उठेका आवाज 
संसदमा भने विपक्षी र सत्ताधारी दुवै दलका वरिष्ठ नेताहरूले समेत उक्त घटनालाई लिएर आवाज उठाए । 

संसदबाट सुनियो, “जब दोषीलाई जोगाउन स्वयं राज्य लाग्छ , तब निर्दोषले न्याय माग्न कहाँ जाने? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो । एउटा निर्दोष नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारबाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । एउटा बालिकालाई न्याय माग्दा अर्को बालक मारिनुपर्ने, यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहुन्छ प्रधानमन्त्रीजीले ?” सदनमा ताली रोकिएन । न त रोकियो बलात्कारका घटना । 

प्रधानमन्त्रीसँगको भेट 

प्रधानमन्त्री ओलीलाई भेटपछि निर्मलाकी आमा दुर्गाले घटनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिईन् । उनले न्याय पाउनेकी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेकी थिईन् ।

आँखाबाट बरर आँशु झार्दै दुर्गाले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’ अब तपाईबाट पनि न्याय नपाए घर कसरी फर्किने ?

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका थिए । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

जबरजस्तीको आरोप 

काठमाडौंमा निर्मला पन्तको बलात्कारपछि हत्याको आरोपमा दुइर्जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरी रहेका थिए । उनीहरुले आफूहरुले नै निर्मलाको बलात्कारपछि हल्या गरको कबुल गरेको भन्दै सञ्चार माध्यमहरुमा समाचार आयो । उनीहरुको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइयो । तर उनीहरुको डिएनएको रिर्पोट पनि नेगेटिभ आयो । 

धर्नापछि धर्नाका शृंखला 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका परिवारले २४ घण्टे अनिश्चितकालीन धर्ना शुरु गरे । 

‘हत्यारा जोगाउन निर्दोषलाई एकपछि अर्को गरी पक्रदै छोड्दै गरेको देख्दा सरकार नै बलात्कारी र हत्याराको संरक्षणमा छ भन्ने निष्कर्षमा पुग्न लागिएको छ, त्यसैले पनि अब हामीमा सरकारले न्याय दिन्छ भन्ने आशा धुमिल बन्दै गएको हो,’ निर्मलाका बुवा यज्ञराजले धर्नाको बेला भनेका थिए । 

तर, धर्नाको कार्यक्रमहरु भइरहेका बेला यज्ञराज पन्तको स्वास्थ्यमा समस्या आउने र उनलाई उपचारको लागि काठमाडौं ल्याइयो । 

बाबुराम भट्टराईको आश्वासन

बाबुराम भट्टराईले निर्मला सबैको छोरी भएको भन्दै आफू पनि न्यायको पक्षमा भएको र न्यायको लडाईमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका थिए । प्रहरीलाई बर्खास्त गरेर सरकार आफ्ने जिम्मेवारीबाट पछि हटेको उनको आरोप थियो । 

आमा दुर्गादेवी पन्तको गुनासो 

निर्मलाकी आमा दुर्गादेवी पन्तले पनि आफूले न्याय पाउने आशा हराउदै गएको बताएकी थिइन् । हत्याकाण्डको लामो समय बितिसक्दा पनि प्रहरीबाट घटनाबारे सत्यतथ्य बाहिर नआएकाले न्याय पाउने आशा हराउँदै गएको उनको भनाई थियो । राजनितिक पार्टीहरुले गर्छु भनेर कुनै पनि काम नगरेको उनको गुनासो दियो । 

यज्ञराजलाई ‘हाइपर थाइरोडिजम’

निर्मला पन्तका बुबा यज्ञराजमा ‘हाइपर थाइरोडिजम’ भयो जसका कारण मानसिक समस्या पनि देखापरेको थियो । 

आमा दुर्गादेवी पन्तको रोदन  

“म न्यायको लागि अब बोल्न सक्दिन, म थाकिसके”, दुर्गादेवीले हामीसँग भनिन् ।  न्यायको लागि उनीहरुले छ महिना सम्म सबैको ढोका ढक्ढकाएका छन् । तर न प्रहरीले अपराधी सार्वजनिक गर्न सक्यो न राजीनिक पार्टीहरुले गरेका प्रतिवद्धता पुरा नै भए । 

“धर्नाको कार्यक्रम ग-यौ, न्यायको लागी आवाज पनि उठायौं । हामी घरबारविहिन भइसक्यौं ।” उनले भनिन् “न्याय पाइन्छ भन्ने आशा छैन ।”    

दुर्गादेवी पन्तको रगतको नमुना

निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिइन् । 
हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् । 

निर्मलाकी आमाले आफ्नो रगतमार्फत निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाऊँ भनी निवेदन दिएपछि उनको रगतको नमुना  लिइएको थियो । 

घरझगडाको शुरुवात

सरकारले घोषणा गरेको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले आमा दुर्गादेवीलाई कुटपिट गरे । 

घरमा बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताइएकी थिइन् । आफू भान्सामा भात पकाईइरहेको बेलामा यज्ञराजले घाँटी च्यापेर उनलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गरेको दुर्गादेवीले बताएकी थिइन् । 
…………………
जब गत साउन १० गते निर्मला पढ्नको लागि साथीको घर गइन् । उनी त्यस दिन घर आइनन् । भोली पल्ट उनको शरीर मृत अवस्थामा उख्खु बारीमा फेला प–यो । 

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्य लगायतको कुनै पनि प्रमाण संकलन भएन । घटनाको तथ्य सम्म पुग्न चाहिने आवश्यक प्रमाण नै संकलन नभएपछि हत्याराको खोजी र कारर्बाही कसरी गर्ला प्रहरीले ? 

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न गनुपर्ने प्रहरीलाई थाहा थिएन कि प्रहरीले नियतवश सबै प्रमाण नष्ट ग–यो ? भेजिनल स्वाबको नमुना पनि विश्वसनीय छैन । दुई नमुना फरक प्रयोगशालामा गरिएका छन् । 

त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन, त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने पनि कसैलाई थाहा छैन । ६ ईन्च पानी जमेको ठाउँमा घोेप्टो पारेर शव फालिएको थियो ।

धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको प्रष्ट छ ।

तर, निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै सडकदेखि सदन तातिरहेपनि परिणाम अझै सतहमा देखिएको छैन । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला सदाका लागी बिदा भएको आज १ सय ८० दिन भएको छ । तर, उनको बलात्कारी र हत्याराको अझै पत्तो लागेको छैन । बरु आम नागरीकमा प्रहरी प्रशासनको कार्यशैली र अपरिपक्क अनुसन्धान शैलीका कारण यो घटना यतिकै थामथुम हुन्छ कि भन्ने शंका परेको छ । 
 

यो पनि पढ्नुहोस :

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन

निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?

न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

आलसतालस अवस्थामा निर्मलाकी आमा, के भनिन् डा. बाबुराम भट्टराईसँग (भिडियो सहित )

निर्मलाका काका ईश्वरदत्त भन्छन्, 'नेताको छोराछोरी नै घटनामा संलग्न छन्' (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?